पर्साको जगरनाथपुर गाउँपालिकामा बोक्सीको आरोपमा एक दलित महिलालाई निर्घात कुटपिट गरिएको छ। जगरनाथपुर–३ खलुचडीकी ६० वर्षीय सुदामादेवी चमईनलाई गाउँलेले घरमै गएर आइतबार कुटपिट गरेका हुन्।
गाउँलेको कुटपिटबाट घाइते भएकी चमईनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, गर्दन र शरीरको विभिन्न भागमा चोट लागेको छ।
चमईनलाई बेक्सीको आरोप लगाउँदै गाउँलेहरुले कुटपिट गरेको उनका छोरा प्रभु महराले बताए। उनकाअनुसार स्थानीय नबी आलम राउत गदी, रैफुल मास्टर राउत गदी, बासुदेव महरा चमार र सुरेश महरा चमारले मिलेर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका हुन्।
आमालाई मल मूत्र खुवाउने प्रयास गरिएकोमा गाउँका अन्य मानिसहरुले गएर रोकेको उनले बताए । उनले स्थानीय प्रहरी कार्यालयमा उजुरी समेत दर्ता गराएको बताएका छन् ।