मैले थुप्रै पटक लेख्दै मेट्दै गरेको एउटा जीवन कथा । यो पटक फेरि लेखेर सबै सामु ल्याउने जमर्को गरेकी छु । समाजले कोरेको लक्ष्मण रेखा पार गरेर विजय प्राप्ति गरेको मेरी हजुरआमाको (हजुर आमाकी बहिनी, उहाँलाई हामी हजुरआमा नै भन्छौँ) जीवन कथा लगायत समाजका थुप्रै सत्य कथाहरू जुन मेरो परिवेशमा घटेका र दोहोरिएका थिए । जुन यथार्थपरक तथा अत्यन्तै कहालीलाग्दा छन् ।
साहसी हजुरआमाको कथा
हजुरआमाको विवाह ६ वर्षको हुँदा भएको थियो । उहाँको बुबाले तेस्रो पटक विवाह गर्न उहाँको विवाह गरिदिनु भएको रहेछ । बुबाले विवाह गरेकी कान्छी आमा भन्दा उहाँ जेठी पनि हुनुहुन्थ्यो । भनेपछि उहाँको कान्छी आमा त्यस्तै ५ वर्षको हुनुहुन्थ्यो होला ।
हजुरआमाको बुबाका कान्छी तिरबाट पनि सन्तान भएका थिए तर हजुरआमा चाहिँ आमा बन्ने अधिकारबाट वञ्चित हुनुभयो, उहाँको विवाह भएको केही समय पछि नै हजुरबुवा बितेपछि उहाँ बाल बिधुवा हुनु भयो ।उहाँ त्यो समाजमा हुनुहुन्थ्यो जहाँ शुभ कार्यमा बिधुवा देख्दा पनि अशुभ मानिन्थ्यो ।
समय बित्दै गयो, हजुरआमा ३५ वर्षकी हुँदा साह्रै बिरामी पर्नु भएछ । घरमा धामी बोलाएर उपचार गराउने क्रममा उहाँ गर्भवती हुनु भएछ । पेट नदेखिँदा सम्म त जीवन कठिन नै भए पनि सहज चल्दै रहेछ तर गाउँलेले चाल पाएपछि भने गाउँबाट बसाई नै सर्नु परेछ । पण्डितकी छोरी नेवार समुदायको धामीबाट गर्भवती हुँदा माइतीको इज्जत गएको मानिएको थियो ।
हजुरआमाले आफ्नो बिधुवा आमा लिएर पूर्वी तराई झर्नु भयो । नयाँ ठाउँ नयाँ परिवेश, चिनेका कोही छैनन्, खाने केही छैन गर्भवती ज्यान, आमाको जीवनमा कति कठिन समय आयो होला अहिले सम्झँदा पनि कहाली नै लाग्छ ।
पछि छोरो जन्माउनु भयो । हजुरआमाको सेतो वस्त्र रङ्गियो । धामी बुबाकै नामको सिन्दूर र पोते लगाउन थाल्नु भयो । एक सेतो धर्ती हराभरा भयो तर धामी बा विवाहित र बाका बालबच्चा भएको हुनाले आमालाई घर सँगै लानु भएन । तर बच्चा चाहिँ स्विकार्नुभयो । त्यति बेला मेरो बच्चा होइन भनेर धर्म छोडिदिएको भए के लाग्थ्यो होला र तर धर्म छोड्नु भएन । महिला र पुरुष दुवैको जिम्मेवारी बहन गरेकी, कयौँ हन्डर र ठक्कर पाएकी, समाजले तिरस्कार गरेकी हजुरआमाले राज्य सुविधा लिएको भनेको मात्र वृद्ध भत्ता हो । बाँकीका सृष्टि सबै उहाँका सङ्घर्ष हुन् । अहिले हजुरआमालाई खान पुग्ने अनि दिन पुग्ने छ । छोराका बाबुका अर्को पटिका छोरा छोरीको आउजाउ छ । एक बाल बिधुवा हजुरआमालाई सन्तान सुख भयो । महिला अधिकारको आवाज बोल्न महिला अधिकारकर्मी नै हुनु पर्दैन मेरी बाल बिधुवा हजुरआमाले ५० वर्ष अगाडि एकल आमा बन्न गरेको निर्णय त्यो बेलाको समाजलाई सानो चुनौती थिएन ।
गोमाको पीडा
गोमाको एक अश्वेत सँग प्रेम भएको थियो । काठमाण्डौमा आफ्नो हैसियतले भ्याउने विवाह गर्दा म पनि भोज खान गएकी थिए । कालान्तरमा उनी गर्भवती भएपछि विदेश गएको उनको श्रीमान् फर्किएर आएन । अहिले त छोरी १३ वर्षकी भई सकिन । पढेलेखेकी उनी काठमाण्डौमा एउटा कोठा लिएर सङ्घर्ष गर्दै छिन । माइतीले विवाह पश्चात् नै त्यागेको उनलाई अब अरू पिरलो सँगै १ मात्रै ठुलो पिरलो छ छोरीको नागरिकता । प्रशासनले कुरा नबुझेर जन्म दर्ता समेत भएको छैन । नागरिकताको नेपाली कानुनले उनको छोरीको पहिचान नै गर्दैन । छोरी नेपालमा जन्मिएकी हुन । छोरीले बाबुको मायाबाट टाढा हुनु पिडा मात्र होईन बुबा नहुँदा र गरिबीको चोट सँगै समाजको प्रताडना बारम्बार भोगेकी छन् जुन कुरामा उनको कुनै गल्ती नै छैन । छोरी यस्तो सजायको दण्ड भोग्दै छिन जसमा उनको कुनै हात नै छैन ।
बलात्कृत प्रियाको कहालीलाग्दो जीवन सङ्घर्ष
वैदेशिक रोजगारीमा गएकी प्रियाले देखिराखेको, बोल्न गरेकै व्यक्तिको कारमा लिफ्ट लिँदा बलात्कार परेकी हुन । लिफ्ट पनि मागेकी थिइनन् । म गन्तव्यमा पुर्याईदिन्छु भनेर गरेको आग्रह स्विकार्दा बलात्कारमा परेकी थिइन् । बलात्कारमा परेको दिन पछि प्राय देखिरहने त्यो व्यक्तिलाई कहिल्यै देखिनन् । उनी यस्तो देशमा थिन जहाँ बलात्कृत हुनुलाई केटीको गल्ती मानिन्छ र सजायको भागिदार बनाइन्छ । सुनेकी छु उनी गएको देशमा विवाह अगाडि गर्भवती हुनु मृत्यु दण्डको भागीदार हुनु हो । गर्भवती चाहे जुनसुकै कारणले किन नहोस् । त्यसैले उनले कहीँ उजुरी गरिनन् । बलात्कारमा परेको ३.५ महिनामा ढाड दुखेर जँचाउन जाँदा मेडिकल रिपोर्टले उनी गर्भवती भएको ठहर गर्यो । हान्निएर उनी नेपाल आइन । आमाबुबाको घर झापा भए पनि उनी त्यहाँ जान सकिनन् । कलिला २ बहिनी लिएर काठमाण्डौमा डेरा लिएर बसिन । घरमा कुरा राखिन र बच्चा जन्माउने निधो गरिन । साना बहिनीहरू परिस्थिति बुझ्ने भएकै थिएनन् । दिदीको बच्चा जन्मिने कुराले फुर्किएका थिए । प्रियाले छोरो पाइन । अहिले त्यो बाबु १० बर्सका भए । जन्म दर्ता, स्कुलको भर्ना, नागरिकताको झमेला र कठिनाइ बुझेर छोरो बेला बेला भन्ने गर्छ मम्मी किन मलाई सानैमा मारिदिइनौ । यी शब्द बाणले कति घायल बनाउँदो हो यो कल्पना गर्न नसकिने यथार्थ हो ।
कानुन नबुझेर दु:ख झेलेकी आरतीको कथा
मागी विवाह गरेकी आरती भन्छिन्, ‘ विवाह गरेको १५ दिन पनि नबित्दै मेरो श्रीमानले म माथि कुटपिट गर्यो । पछि पछि त नन्द र सासू पनि थपिएका थिए । विवाह नटुटाउन मैले हर प्रयास गरे १२ बर्सको सह यात्रामा छोराको ठाउँमा छोरो थियो छोरीको ठाउँमा छोरी । सहनै नसके पछि म घरबाट निस्किए । अंश दाबी गरे तर छोरा छोरी त्यही घरमा छोडेको कारण, भविष्य नसोचेको कारण र कानुनी ज्ञान नभएको कारण मैले माना चामल भराउने तर अंश दाबी नगर्ने कागज गरे ।
माना चामलमा जीवन चल्दै थियो । न्यूनतम खर्च केही आफ्नो पनि कमाई भएकोले जीवन सामान्य थियो तर फेरि जीवनले प्रेम प्राप्तिको चाहना गर्यो कि के हो म एक युवक सँग प्रेममा परे केटाको परिवारले पहिला विवाहित २ छोराछोरीकी आमा स्विकारेन । युवकबाट १ छोरा जन्मियो र घर भित्रिए तर युवकलाई घरले दबाब दिएर छोड पत्र गर्न लगाए । आरती फेरि एक्लिइन । फेरि कानुनी झमेलामा परिन । सम्पत्ति नभएको केटाबाट केही पाइनन्, पाइन त केवल समाजको र आफन्तका तिखा बचन अनि दुर्व्यवहार । १ विवाह बिग्रँदा त महिलालाई दोषी करार गर्ने समाज उनको त झन् २ वटा बिग्रिएको थियो । समाजले उनलाई कति बिझाउँछ प्रवाह नै नगरी चरित्र हीन उत्ताउली जस्ता उपनाम भिडाई राखेको छ ।
भुन्टी दिदीको कथा
म सानो हुँदा मावलीमै हुर्के । गाउँमा एउटा बाल बिधुवा हुनुहुन्थ्यो भुन्टी दिदी । बिधुवा भएपछि माइती आएर बस्नु भएको थियो । सायद उहाँको वैवाहिक जीवन लामो रहेन छ । म ५–७ बर्स हुँदा उहाँ बित्नु भएको याद छ । म उहाँलाई सम्झन्छु कहाली लाग्छ । समाजले कोरिदिएको लक्ष्मण रेखा उहाँले कहिल्यै नाग्ने हिम्मत गर्नु भएन । हिम्मत आओस् पनि कसरी समाज अहिले त यति जटिल छ, त्यति बेला झन् कस्तो थियो होला । बाल बिधुवा हुनुभएको उहाँमा पनि त प्रकृति प्रवेश गर्याे होला नै । कहिल्यै प्रकट गर्न पाउनु भएन बिचरा । मेरो समाजले उहाँका शारीरिक, जैविक अनि प्राकृतिक चाहानाको हत्या गरिदिएको थियो । हामी हरेक अपराधी हौ । जवानी उहाँमा पनि चढ्यो होला । वर्षाको पानीले फोका उठाएजस्तो पुक्क फुल्यो होला अनि प्याट्ट फुट्यो होला । स्थिर रहन पाएन, पोखिन पाएन । सिधा अर्थमा भन्नू पर्दा प्राकृतिक यौन चाहाना कुण्ठित भयो होला । समाजमा कति भुन्टी दिदी जन्मिए होलान् कति बिते होलान् । त्यही भुन्टी दिदीको ठाउँमा एउटा पुरुष हुन्थ्यो भने उसको दोस्रो हुन्थ्यो, पारिवारिक जीवन हुन्थ्यो । जवानी र पिर बिसाउने ठाउँ हुन्थ्यो । जीवन सहज हुन्थ्यो होला । आखिर सामान्य सहज जीवनको परिभाषा यही त हो । पुरुषले सहज जीवन पायो हामीले पाएनौँ भन्ने अभिप्राय होइन तर दुवै महिला पुरुषलाई किन फरक भयो समाज ?भुन्टी दिदीको जवानी खाने समाज हो त्यो ।
ममताको कथा
आज म हजुरआमाको कथा लेख्छु भनेर सुनाएको ममताले प्रश्न गरिन मेरो लेख्नु हुन्न ?
तपाईँको कस्तो कथा छ र ? भिनाजुले कति माया गर्नु हुन्छ मैले देखेकी छु । ममता भन्छिन्, ‘पिडा श्रीमानले छोड्दा मात्र हुने हो र ? मैले र हाम्रो परिवारले बुबा बिते पछिका पिडा छैनन् होला त गितु ? अनि बिस्तार लगाउन थालिन समाजले दिएका पीडाहरू । म डेढ बर्स हुँदा बुबा बित्नु भएको भाइ त अझै गर्भे टुहुरो । आमालाई कति गारो भयो होला त्यो उहाँकै मनमा छ । कच्ची घर पानी पर्दा चुहिने थियो । कति बर्खा जाग्राम बसेर बितायौ ती गनी साध्ये छैनन् । चुहिने छानो टाल्नलाई सापटी माग्दा समेत कसैले पत्याएन तर हामी दिदी बहिनी बढेर एउटा प्रोजेक्टमा जागिर खायौ । जागिरको आय राम्रो थियो । हामीले पक्की घर बनायौ । मान्छेहरूले सहानुभूति सम्म देखाउनुको साटो चरित्र मै औला उठायो । कति सजिलै हामीलाई कमजोर बनाउने अस्त्र उठायो तर हामीले बुझिसकेका थियौ दुखमा काम नलाग्ने समाजको वास्ता गर्नु ठिक होइन । त्यसैले हामीले जित्यौ । हामी सक्षम भयौ तिनै कुरा काट्ने अहिले जिल्ल छन् ।
पितृसत्तात्मक सोचको भुङ्ग्रोमा पुरुष
मेरी दिदीको घर गएको बेला आफूले खाएको थाल आफै माझ्ने भाइले भक्कानिँदै भने आफ्नो थाल माझ्नु ठुलो कुरा होइन तर त्यो हेपाहा पुरुषवादी सोचको भुङ्ग्रोमा म पनि झोसिएको छु ।
यी माथिका कथाहरू काल्पनिक होइन नाम परिवर्तित चाहिँ छन् र यी पात्रहरू मेरो सम्पर्कमै रहेको जानकारी गराउँदै यो कथालाई काल्पनिक नबुझिदिनु हुन मेरो सादर अनुरोध छ ।