कांग्रेस संसदीय दलको नेतामा विजयी भएकोमा सभापति सभापति शेरबहादुर देउवालाई महामन्त्री गगन थापाले बधाई दिएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमार्फत थापाले देउवालाई बधाई दिएका हुन् । बुधबार बिहान दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।
३१ जना सांसद गगनको पक्षमा खुलेर लागेको र ३५ मत ल्याउन सक्ने आकलन कांग्रेस नेताहरूले गरे पनि गगनले जम्मा २५ मत पाए । महामन्त्री विश्वप्रकाश शर्मा र संस्थापन समूहबाट महामन्त्री लडेका प्रदीप पौडेलले समेत साथ दिएकाले कम्तिमा पनि ४० प्रतिशत मत कट्ने शेखर समूहको विश्लेषण थियो ।
अर्कातर्फ पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा ६४ मत पर्यो । कांग्रेसका ८९ सांसद छन् । यससँगै सभापति देउवा संसदीय दलको नेताका रूपमा दोहोरिएका छन् ।