
मङ्सिर १९ गते सोमबार बिहान ११ बजे । पूर्व मिस नेपाल तथा व्यवसायी उषा खड्गीको मोबाइलमा आफ्नी छोरीको फोन आयो । उषाले फोन उठाइन्, उताबाट हतास भएको स्वरमा छोरीले भनिन्, ‘मामु, आज ड्याडीको विवाह रे, त्यहीँ घरमा भित्र्याउने रे ! हजुर त्यहाँ नबस्नुस्, तुरुन्त निस्कनुस् ।‘
उनी अत्तालिइन्, के गरौँ र कसो गरौँ भइन् ।
छोरी मानसिक रूपमा विक्षिप्त बनेको थाहा पाएपछि उषा हतार हतार गरेर निस्किन लागेकी थिइन् । उस्तै, सारी लगाएका केही महिलाहरूको चहलपहल देखिन् । उनले गाडी निकाल्दै गर्दा बेहुली लिन जान ठिक्क परेका गणेशप्रसाद तिमलसेना (जी.पी.) सँग उनको भेट भयो ।
उनी गाडी लिएर त्यहाँबाट निस्किइन् । विद्यालयमा पढिरहेका छोरालाई लिएर माइत पुगिन् । छोरीलाई पनि त्यहीँ बोलाइन् । उनी दुई दिनसम्म माइत नै बसिन् । छोराछोरीको मानसिकतामा कस्तो असर पर्ला ? एउटै घरमा हामी कसरी बस्नु ? भनेर उनको मनमा सयौँ प्रश्नहरूले डेरा जमायो ।

दुई दिन माइत बसेपछि उनलाई त्यहाँ बस्न मन लागेन बुधवार उनी घर फर्किइन् । घर फर्कँदा सिढींमा बुबा र छोरीको भेट भयो । छोरीलाई बुबासँग रिस उठेको थियो । उनले हामी यहीँ घरमा भएकै बेला हजुरले अर्को श्रीमती भित्र्याएर गलत गर्नुभयो भनेर आफ्नो दुखेसो पोखिन् र सरासर माथि गइन् ।
कानुनी रूपमा उक्त घरको अंश छुट्टिइसकेको छ । जेठ २६ गते भक्तपुर जिल्ला अदालतले उनीहरूको सम्बन्धबिच्छेद तथा अंश मुद्दामा फैसला गरिदिएको थियो। तर पनि उनीहरू एउटै घरमा बस्ने गरेका छन्। चार तला रहेको उक्त घरको दोस्रो तलामा बस्छन्, उषा र उनका छोराछोरी।
सो घरको माथिको दुई तलामा जिपी बस्छन्। पहिलो तला भने भाडामा लगाइएको छ। भाडाबाट आउने रकम समेत तिमलसेना नै लिने गरेका छन्।
‘यो दाजुभाइको झगडा होइन, दाजुभाइको झगडामा तल्लो तला र माथिल्लो तलामा बस्न सहज होला ! तर, सम्बन्धबिच्छेद गरिसकेर पनि एउटै घरमा बस्न असहज हुन्छ। हामी दुईमध्ये एक जनाले घर छाड्नु पर्ने हुन्छ । हामीले सम्बन्धबिच्छेद गरिसकेको छौँ । एउटै घरमा बस्न सम्भव नै छैन,’ उनले केटिएम दैनिकलाई सुनाइन्।
उषाले केटिएम दैनिकसँग गरेको कुराकानी उनकै शब्दमा
यो घर उहाँले र मैले मिलेर बनाएको हो । मेरो पनि रगत र पसिना बगेको छ यो घरमा । नेपालको कानुनअनुसार पनि सम्बन्धबिच्छेद गरेपछि श्रीमतीले अंशपाउने प्रावधान छ । तर, मैले आफ्नो अंश पाइनँ । म एउटा कामकाजी महिला, आफ्नो लडाइँ आफैँ लड्न सक्ने मान्छेले त अंश लिन यति धेरै गाह्रो भएको छ भने अरूको हालत के होला ?
मेरो छोरी र छोरालाई लिएर केही व्यवस्था गर्नको लागि तयारीमा लागेकी थिएँ । एउटै घरमा बस्न सम्भव छैन भनेर सल्लाह गर्न खोज्दा पनि उहाँ आउन चाहनु भएन । सम्पर्क नभएपछि सल्लाह गर्न नपाएर हामी एउटै घरमा बस्न बाध्य भयौँ ।
विवाह गर्न पाउने उहाँको नैतिक अधिकार हो । तर मेरो बच्चाको अगाडि यहीँ घरमा नभित्र्याएको भए हुन्थ्यो भन्ने लाग्छ । सम्बन्ध विच्छेद गरेर अलग भइसकेपछि छोराछोरीकै अगाडि मेरै टाउकोमाथि (माथिल्लो तला) मा श्रीमती ल्याएर नराखेको भए हुन्थ्यो भन्ने मेरो भित्री मनको चाहना हो ।
हामी सम्बन्धमा भएको १९ वर्ष हुँदासम्म घरमा भएका कुराहरू कोहीसँग पनि गरिनँ । श्रीमान-श्रीमतीबीच हुने मनमुटाबलाई सामान्य रूपमा लिएँ । हाम्रो समाजमा श्रीमती दबिएर बस्नुपर्छ भन्ने जुन मान्यता छ त्यसलाई पनि मैले केही हदसम्म आत्मसात् गरेर बसेकी थिए ।
बाहिर महिला सशक्तीकरण कुरा गर्दै धेरै महिलाहरूलाई अगाडि बढ्न प्रेरित पनि गरेँ, साथसाथै दुई वटा छोराछोरी हुर्काउँदै मैले पनि काम गरेँ । हामीले सम्बन्ध विच्छेद गर्ने हल्ला एक्कासि फैलियो । धेरैले मलाई उषाले गलत निर्णय लिई भनेर गाली पनि गर्नुभयो । बसिरहेको घर नबिगार्न धेरैले सुझाव पनि दिनुभयो । तर पनि म अलग हुने निर्णयमा अडिग रहेँ ।
त्यो १९ वर्षको अवधिमा मैले भोगेका दुःख, पीडा, हाँसो, खुशी, रोदन सबै सँगालेर अगाडि बढ्ने निर्णय लिँदा छोराछोरीको भविष्यको लागि एउटा असल आमा बन्ने मात्र मेरो उद्देश्य थियो र छ पनि ।
सम्बन्धबिच्छेद धेरैको भएको छ, सम्बन्धबिच्छेद गर्ने म मात्र एक महिला होइन । मैले मुद्दा हालेपछि पनि मैले धेरै हिंसा सहेर बसेँ । उषा खड्गी जस्तो मान्छेले पनि अन्याय सहेर बसेको भनेर धेरैले प्रश्नचिन्ह्र खडा गर्नुभयो । तर पनि मैले आफ्ना सबै दुःख लुकाएर हाँसेर हिडेँ ।
हामीले विवाह गरेर सँगै सङ्घर्ष गर्यौँ । हरेक दुःख सुखमा म साथमा नै थिएँ । मासिक २२ सय तिर्ने डेराबाट अहिले करोडौँ मूल्यको सम्पत्ति पनि दुवै जनाको पसिनाको प्रतिफल हो । त्यही भएर उहाँलाई पनि यो घर छाडेर जान मन नलागेको होला ।
दुखमा वित्यो तीन वर्ष
सम्बन्ध विच्छेद गर्ने निर्णय गरेपछि छोरी मान्छेलाई सबैभन्दा पहिला चरित्रमा आक्रमण गरिँदो रहेछ । यो तीन वर्षमा मैले धेरै नै दुःख झेले । जिन्दगीले राम्रो गर्दागर्दै बिचमा ल्याएर दुःख दिएको भान भयो । एउटै घरमा बसेर कानुनी लडाई लड्न एकदमै गाह्रो हुँदो रहेछ ।
मेरो घरमा नबस निस्केर गइहाल भनेर मैले पटक पटक कुटाई र गाली खाएँ । घरेलु हिंसाको मुद्दा लिएर प्रहरीमा जाँदा प्रमाणविना हामी उजुरी लिन सक्दैनौ भनेर फर्काइयो । धेरै पटक घरमा प्रहरी पनि बोलाउनुपर्ने अवस्था आयो । कानुनी लडाई लड्नु एकदमै गाह्रो रहेछ । तर मैले दह्रो मानसिकता बनाएर लडाई लडेँ ।
म जत्तिकै आत्मनिर्भर महिलाले घरेलु हिंसा खपेर बस्न बाध्य हुनुपर्छ भने नेपालको दूर दराजमा रहेका महिलाहरूको अवस्था के होला ?
दिनहुँ समाचारमा आएका महिलाहरूको अवस्था देखेर विरक्त लाग्छ । कोही आफैँ आगोमा जल्न बाध्य छन् भने कोही विष पिएर, झुण्डिएर मर्न बाध्य भएका छन् । परिवारको खुशीको लागि आफ्नो दुःख लुकाएर बाँचिरहेका छन् ।
को हुन् उषा खड्गी ?
वीरगन्जमा उत्तम बहादुर खड्गी र उर्मीला खड्गीको जेठो सन्तानको रूपमा वि.स. २०३९ सालमा उषा खड्गीको जन्म भएको हो ।
सन् २००० मा सातौँ मिस नेपालको टाइटल जितेकी उषा सन् १९९९ मा मिस पोखराको उपविजेता थिइन् । तीन दिदी-बहिनी र एक भाइहरूमध्ये जेठी उषाले प्रवेशिका परीक्षा वीरगञ्ज कन्या माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी थिइन्।

हरिखेतान महिला बहुमुखी क्याम्पस, वीरगन्जबाट आई.ए. उत्तीर्ण भएकी उषा मिस नेपाल हुँदा सोही क्याम्पसमा बी.ए. (प्रथम वर्ष) मा अध्ययनरत थिइन्।
एनटिभी प्लस कार्यक्रममा उषा र जिपीको भेट भएको थियो । उक्त कार्यक्रममा सहकार्य गर्दा उनीहरू प्रेममा परेका थिए । भ्यालेन्टाइन डेकै दिनमा जिपीले उषालाई औपचारिक प्रेम प्रस्ताव राखेका थिए । पछि उनीहरूको प्रेम विवाहमा परिणत भयो।
श्रीमानको कुटाई खाएँ
उषा खड्कीले भक्तपुर जिल्ला अदालतमा २०७६ साल असार ११ गते हालेको सम्बन्ध विच्छेदको मुद्दामा श्रीमान् जीपी तिमलसेनाले सधैँ रक्सी खाएर आएर कुटपिट गरी गाली गलौज गरी मानसिक तनाव दिएको उल्लेख छ । तर अदालतमा दिइएको प्रतिउत्तरमा तिमलसेनाले उक्त कुरालाई इन्कार गरेका छन् ।
०७५ सालदेखि सुरु भयो मनमुटाब
नेपाली सञ्चार क्षेत्रमा आइडल जोडी मानिएका उषा र जीपीले २०५९ साल वैशाख २६ गते धार्मिक परम्परा अनुसार मागी विवाह गरेका हुन् । यो दम्पतीको १७ वर्षकी छोरी र आठ वर्षको छोरा गरी दुई सन्तान छन् ।
१६ वर्षसम्म राम्रो रहेको उनीहरूको सम्बन्धमा २०७५ मङ्सिर देखी मनमुटाब सुरु भएको हो । चर्चित सेलिब्रेटी जोडीको मनमुटाब भएको खबर मिडियामार्फत बाहिरिएको थियो तर उनीहरूले उक्त कुराको खण्डन गर्दै आइरहेका थिए ।

उषाले अदालतमा दिएको निवेदनमा एक छोरा र एक छोरीको साथमा पारिवारिक जीवन सौहार्दमय र सुखपूर्वक बित्दै आएकोमा २०७५ साल मङ्सिर महिना देखि श्रीमान् गणेश प्रसाद तिमिलसेना राति १०/१२ बजे सधैँ रक्सी खाएर आउने, छोरा छोरी र परिवारको कुनै वास्ता मतलब नगर्ने, मुखमा आएको सबै कुरा गरी घरबाटै निक्लिजा भनेकाले पति सँग सम्बन्ध विच्छेद गरिपाऊँ भनेकी छन् ।
झन्झटिलो कानुनी प्रक्रिया
२०७६ सालको असार ११ गते अंशवण्डासहित सम्बन्ध विच्छेद गरीपाँउ भनेर मुद्दा हाले पनि त्यसको अन्तिम फैसला आउन लगभग तीन वर्ष लाग्यो । मुलुकी देवानी संहिता २०७४ को दफा ९६ अनुसार सम्बन्ध विच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ । खड्गीले सोही दफाअनुसार जिल्ला अदालत भक्तपुरमा निवेदन दिएकी हुन् ।
सोही संहिताको दफा ९७ मा सम्बन्ध विच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउनु पर्ने उल्लेख छ । जिल्ला अदालतले भदौ १५ गते दुवै पक्षलाई मेलमिलापको लागि पठाएको देखिन्छ ।
तर सम्झाउँदा बुझाउँदा पनि पति पत्नी बीच मेलमिलाप नभएर विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखिएमा अदालतले निवेदन परेको मितिले एक वर्षभित्रमा सम्वन्ध विच्छेद गर्नुपर्ने सोही ऐनको दफा ९८ मा उल्लेख छ । भक्तपुर जिल्ला अदालतले यो मुद्दाको फैसला गर्न तीन वर्ष समय लगाएको देखिन्छ ।
के छ अदालतको आदेशमा
२०७९ साल जेठ २६ गते जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीले दिएको आदेशमा गणेश प्रसाद तिमलसेनाको नाममा रहेको भक्तपुरको लोकन्थलीमा रहेको घर र सो घरले चर्चेको जग्गासहितको मूल्य एक करोड कायम गर्दै त्यसलाई छोरा, छोरी, उषा खड्गी र तिमलसेनाको एक एक भाग हुने गरी चार भाग लगाउनु भनेको छ ।
अदालतले दुवैले आफ्नो व्यवसाय सञ्चालन गर्दै आइरहेकाले सो व्यवसाय सञ्चालन गर्नको लागि बैंकबाट लिएको ऋणको भार पनि आ-आफूले लिनुपर्ने बताएको छ । जिपीले प्रमोटर्स नेपाल नामक एड एजेन्सी सञ्चालन गरिरहेका छन् भने उषाले कुपन्डोलमा उषाज स्टाइलिस कलेक्सन नाम गरेको बुटिक पसल सञ्चालन गरिरहेकी छन् । साथै उनीहरूले प्रयोग गर्दै आइरहेका सवारीसाधनको दायित्व पनि स्वयंले नै बेहोर्नुपर्ने उल्लेख छ ।
तर उनीहरूको सम्बन्ध राम्रो भएको समयमा लिइएको ऋण भने दुई भाग गरेर एक भाग उषाले तिर्नुपर्ने अदालतको आदेशमा उल्लेख छ । जेठ २६ गतेसम्म उक्त ऋण साढे ३५ लाख छ ।
अदालतको आदेशको पूर्णपाठ
फैसला चित्त नबुझेको भन्दै उच्च अदालत गए जिपी
जिल्ला अदालत भक्तपुरले जेठ २६ गते गरेको फैसलामा चित्त नबुझेपछि जिपी तिमलसेना उच्च अदालत पुगेका छन् । उनले फैसला उपर उच्च अदालतमा पुनरावेदन गरेका हुन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन् ।
जिपी भन्छन्, "यस विषयमा म बोल्दिनँ"
सञ्चारकर्मी गणेश प्रसाद तिमलसेना (जीपी)ले भने यस विषयमा कुनै प्रतिक्रिया नदिने बताए । केटिएम दैनिकसँगको टेलिफोन सम्पर्कमा तिमलसेनाले भने, ‘यो मेरो निजी जिन्दगी हो । यस विषयमा म अगाडि पनि बोलेको थिइन पछि पनि बोल्दिन । हामी दुवै बालिग हौँ । यस विषयमा नबोल्दै राम्रो होला ।'
स्रोत भन्छ: कान्छी श्रीमती नौ वर्षदेखिकी प्रेमिका
जिपीले यस विषयमा आफूले प्रतिक्रिया नदिने बताएपछि उनीसँग थप बुझ्न सकिएन । तर स्रोतले भने दोस्रो श्रीमती भएर घरमा भित्रिएकी सविना अधिकारीसँग उनी विगत नौ वर्षदेखि प्रेममा रहेको दाबी गर्छ । स्रोतका अनुसार अधिकारीनिकट केही महिलाहरूले उनीहरूको सम्बन्धको बारेमा उषालाई बुटिकमा आएर सुनाउने गरेका थिए । दोस्रो सन्तानको जन्म दिने तयारीमा रहेकी उषालाई ती महिलाहरूको कुरामा विश्वास लागेन ।
स्रोत भन्छ अंश नदिनकै लागि जिपीले दोस्रो विवाह गरेका हुन् । एकैघरमा दुई जना बस्न सक्दैनन् भन्ने बुझेर जिपीले कान्छी श्रीमतीलाई छोराछोरीको अगाडि त्यही घरमा भित्र्याएको स्रोतको दाबी छ । उषालाई नैतिक दबाब दिनकै लागी जिपीले कुटिल चाल चलेको स्रोत बताउँछ । दोस्रो श्रीमती भएर भित्रिएकी अधिकारीको पनि यो दोस्रो विवाह हो । एक दशक अगाडि उनको श्रीमानको निधन भएको बताइएको छ ।
उषा भन्छिन् छोराछोरी मानसिक तनावमा छन्
घरमा नयाँ दुलही भित्र्यिएपछी उनीहरूका छोराछोरी अलमलमा परेका छन् । एउटै सिँढीबाट ओहोरदोहोर गर्नुपर्ने भएकाले उनीहरूको जम्काभेट भइरहन्छ । छोरीको उमेर बुझ्ने भएता पनि छोरा सानै उमेरको भएकाले उक्त कुरा स्विकार्न सकिरहेका छैनन् ।

विद्यालयमा साथीहरूसँग घरमा मेरो मामु र स्टेपमम हुनुहुन्छ भनेर सुनाएपछि साथीहरूको प्रतिक्रियाले उनी झन् विक्षिप्त बनेका छन् ।
छोराछोरीको मानसिक स्वास्थ्यलाई हेरेर पनि उषा अलग बस्न चाहन्छिन् । मनोविद् गोपाल ढकाल भन्छन्, सम्वन्ध विच्छेदले सबैभन्दा बढी छोराछोरीको मानसिक स्वास्थ्यमा असर गरेको हुन्छ । अलग भएका श्रीमान् वा श्रीमतीले पुन:विवाह गरेपछि उनीहरूलाई जन्म दिने आमाबाबुको माया ममताबाट छोराछोरी टाढा हुन्छन् ।
अन्याय सहेर नबस्न उषाको आग्रह
उषाले अन्याय सहेर नबस्न छोरी चेलीहरूलाई आग्रह गरेकी छन् । हुनत उनी आफै ठाउँ ठाउँमा गएर महिला उद्यमशीलता तथा आत्मनिर्भरका तालिमहरू दिने गरेकी छन् । महिलाहरूलाई हिंसामुक्त बनाउन विभिन्न कार्यक्रमहरू पनि गर्दै आएकी छन् । यति हुँदाहुँदै पनि आफ्नै घरमा हिंसा सहन बाध्य भएर बसेकी उषा जस्तोसुकै परिस्थिति आए पनि नअतालिन आग्रह गर्छिन् ।
उनी भन्छिन्, ‘म जस्तो कामकाजी महिलालाई त अंश लिन यति गाह्रो भएको छ भने अन्य महिलाहरूको अवस्था के होला ? म कुनै पनि हालतमा पछि हट्दिन । जस्तोसुकै परिस्थितिसँग लड्दै भए पनि अगाडि बढेरै छाड्छु । मेरा कुरा यसरी सञ्चारमाध्यममा ल्याउने चाहना हैन । किनभने घरका कुरा बाहिर ल्याउनुहुँदैन भन्ने हाम्रो मान्यता छ ।'
म यही लेखमार्फत अन्य महिलाहरूको हिम्मत बन्न चाहन्छु । कानुनले दिएको र आफूले पाउनुपर्ने अधिकारको लागि अन्तिमसम्म लडौँ । छोराछोरीको भविष्यको लागि लडौँ ।
Disclaimer : यो सामग्री पूर्व मिस नेपाल उषा खड्गी, सञ्चारकर्मी गणेश प्रसाद तिमलसेना (जीपि), उनीहरू निकट स्रोत र लामो समयदेखि सिने पत्रकारिता गरिरहेका पत्रकार, कानुन व्यवसायी र मनोविद्सँग गरिएको कुराकानीमा आधारित हो । साथै भक्तपुर जिल्ला अदालतले गरेको फैसलाको अध्ययन गर्दै त्यहाँ उल्लेखित कुराहरू समेत समावेश गरिएको छ ।