मङ्सिर ४ गते भएको निर्वाचनबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा ५७ सिट जित्दै शीर्ष दल बनेको छ । गत निर्वाचनमा प्रत्यक्षमा २३ सिट मात्र जितेको यस पार्टी ती क्षेत्रहरूमा पुनः जित हासिल गर्यो वा गरेन भन्ने आम चासोको विषय हो । यस विषयलाई सम्बोधन गर्न हामीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचन र अहिले सम्पन्न भएको निर्वाचनको तथ्याङ्कलाई केलाउने प्रयास गरेका छौँ ।
तथ्याङ्क प्रशोधन गर्दा केही रोचक कुराहरू भेटिएका छन् । २०७४ सालमा नेपाली कांग्रेसले जितेका २३ निर्वाचन क्षेत्रमध्ये ११ वटामा मात्र अहिले सोही पार्टीले जित निकाल्न सफल भएको छ । बाँकी रहेका १२ निर्वाचन क्षेत्र भने अन्य दलहरूले नेपाली कांग्रेसबाट खोसेका छन् । ती ११ क्षेत्रमा पनि अघिल्लो पटक निर्वाचित भएका सांसदहरू नै पुन निर्वाचित भएका हुन् ।
कांग्रेसबाट सात वटा निर्वाचन क्षेत्र एमालेले खोसेको छ भने दुई वटा स्वतन्त्र उम्मेदवारले खोस्दा राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक क्षेत्रमा जित निकालेका छन् ।
२०७४ सालको तुलनामा अहिले मतदाता सङ्ख्या बढेको छ के नेपाली कांग्रेसले पुनः जितेका ती क्षेत्रहरूमा अघिल्लो भन्दा बढी मत पाएका छन् त ? पाठकहरूको मनमा आउन सक्ने अर्को प्रश्न हो ।
यस प्रश्नको उत्तर खोज्न हामीले २०७४ सालमा र अहिले नेपाली कांग्रेसले जितेका ११ निर्वाचन क्षेत्रमा ती उम्मेदवारले पाएको मतलाई तुलना गरेका हेरेका छौँ । यसरी हेर्दा नौ वडा क्षेत्रमा भोट घटेको छ भने बाँकी दुई वटा क्षेत्रमा बढेको देखिन्छ ।
रौतहट क्षेत्र नम्बर ४ मा देव प्रसाद तिमलसेनाले अघिल्लो निर्वाचनको तुलनामा पाँच हजार ९३३ मत बढाउँदा रसुवामा मोहन आचार्यले अघिल्लो पटकभन्दा तीन हजार ७८३ मत बढी पाए ।
कांग्रेस महामन्त्री समेत रहेका गगन कुमार थापा काठमाडौँ-४ बाट पुनः निर्वाचित हुँदा अघिल्लो पटक भन्दा कम मत पाए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी २१ हजार ५५८ मतका साथ निर्वाचित भएका थिए भने अहिले उनी २१ हजार ३०२ मत पाउँदै विजयी भएका हुन् ।
सप्तरी ४ मा पुनः निर्वाचित भएका तेजु लाल चौधरीले अघिल्लो पटकको तुलनामा ६२२ मत कम पाए त्यस्तै सुनसरी ४ बाट निर्वाचित सूचना तथा सञ्चार मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले गत निर्वाचनको तुलनामा एक हजार ८६४ मत कम पाए ।
उदयपुर-१ बाट निर्वाचित परराष्ट्रमन्त्री समेत रहेका डा. नारायण खड्कालाई अघिल्लो निर्वाचनको तुलनामा एक हजार ८७२ मतदाताले रुचाएनन् भने प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको दुई हजार ९१२ मत खोसियो ।
लगातार काठमाडौँ १ बाट निर्वाचित हुँदै आएका प्रकाशमान सिंहको पनि तीन हजार ७९३ मत घट्यो त्यस्तै काठमाडौँ १० बाट निर्वाचित राजेन्द्र कुमार के.सीलाई पनि अघिल्लो पटक मत दिएका नौ हजार ७२७ जनाले रुचाएनन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट निर्वाचित शशांक कोइराला र बर्दिया-१ बाट निर्वाचित संजय कुमार गौतम धेरै मत गुमाउने कांग्रेस नेताहरूमा पर्छन् । कोइरालाले ०७४ को तुलनामा १३ हजार ५५३ मत गुमाउँदा गौतमले १४ हजार २१८ मत गुमाउन पुगे ।
कांग्रेसका खोसिएका क्षेत्रहरू
०७४ सालको निर्वाचनमार्फत मोरङ-२ मा मिनेन्द्र प्रसाद रिजाल ३५ हजार ८१९ मतका साथ निर्वाचित भएका थिए । तर अहिले रिजालले टिकट पाएनन् र सो क्षेत्र सुजाता कोइरालालाई दिइयो । कोइरालालाई टिकट दिइएको त्यस क्षेत्रमा यस पटक एमालेका ऋषिकेश पोखरेल ३३ हजार १४८ मतका साथ निर्वाचित भए ।
सुनसरी २ बाट अघिल्लो पटक निर्वाचित कांग्रेसका सिताराम महतो यस पटक पनि उम्मेदवार थिए । ०७४ मा ४१ हजार ४९५ मतसहित महतो निर्वाचित भएका थिए तर यस पटक ३२ हजार २४ मत पाएका प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका नेकपा एमालेका भीम प्रसाद आचार्य निर्वाचित हुन पुगे । दोस्रो नम्बरमा रहेका महतोमा जम्मा २६ हजार ६८ मत पाए ।
सुनसरीबाट लगातार चुनाव जित्दै आएका विजय कुमार गच्छदारले यस पटक हार व्यहोर्नु पर्यो । गच्छदारसँग तेस्रो पटक चुनावी प्रतिस्पर्धामा रहेकी एमालेकी भगवती चौधरीले ४० हजार ७८८ मतका साथ निर्वाचित हुँदा पराजित भएका गच्छदारले ३४ हजार ६०० मत पाए । जुन उनले अघिल्लो पटक पाएको मतभन्दा चार हजार ३७२ ले कम हो ।
सिरहा १ मा पनि अघिल्लो पटक कांग्रेसले जितेकोमा यस पटक एमालेका राम शंकर यादव निर्वाचित भए । ०७४ सालमा सर्लाही ४ मा नेपाली कांग्रेसले जितेकोमा यस पटक कांग्रेसबाट नउठेर स्वतन्त्र उम्मेदवारी दिएका अमरेश कुमार सिंह निर्वाचित हुन पुगे ।
काठमाडौँ ६ का निवर्तमान सांसद भिमसेन दास प्रधानलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित हुँदा रौतहट २ मा स्वतन्त्र उम्मेदवार किरण कुमार साह निर्वाचित भए ।
बारा १ का निवर्तमान सांसद र खानेपानी मन्त्री समेत रहेका उमाकान्त चौधरी यस पटक एमालेका अच्युत प्रसाद मैनालीसँग पराजित हुन पुगे भने ०७४ सालमा रुपन्देही ४ कांग्रेसले जितेकोमा यस पटक लोसपाका सर्वेन्द्र नाथ शुक्ला विजयी भए ।
रुपन्देही ५ र कपिलवस्तु ३ पनि यस पटक कांग्रेसबाट खोसियो । रुपन्देहीमा एमालेका बासु देव घिमिरे निर्वाचित हुँदा कपिलवस्तुमा एमालेकै मंगल प्रसाद गुप्ता निर्वाचित भए ।