प्रेस काउन्सिल नेपालले असान्दर्भिक विषयवस्तु प्रकाशन गर्नुको कारण पेस गर्न सेतोपाटी डट कमलाई आइतबार २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
झापा १ का उम्मेदवार अग्नी खरेलको छोराको विषयमा लेखिएको उक्त समाचार तत्काल हटाउन र कानुन बमोजिम कारबाही समेत गर्नका लागि शनिवार निर्वाचन आयोगले समेत उक्त अनलाइनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
तर, आयोगलाई मिडियाको कन्टेन्ट हटाउने र पत्र काट्ने अधिकार नभएको भन्दै उक्त निर्णय विवादमा परेपछि प्रेस काउन्सिलले पत्र काटेको बुझिएको छ । तर, काउन्सिल भने चुनावको स्वअनुगमनमै उक्त समाचार परेको र थप कारबाहीका लागि भन्दै पहिले त्यस्तो समाचार प्रकाशन गर्नुको कारण मागेको जनाएको छ ।
निर्वाचनमा भाग लिएका कुनै राजनीतिक दलका उम्मेदवारलाई निर्वाचनको सम्मुखमा नकारात्मक प्रभाव पार्ने किसिमको सामाग्री के कसरी सम्प्रेषण हुन गएको हो ?, काउन्सिलले पठाएको पत्रमा उल्लेख छ ।
सेतोपाटीले केही दिन अघि खरेलको छोरा अमेरिकी आर्मीमा जागिर रहेको र त्यहीँको नागरिकता रहेको सन्दर्भ राख्दै समाचार प्रकाशन गरेको थियो ।
नातेदार वा नजिकका आफन्तको नाम असान्दर्भिक रूपमा जोडेर समाचार लेख्न नहुने भन्ने आचारसंहिताको प्रावधान उल्लेख गर्दै काउन्सिलले स्पष्टीकरण सोधेको जनाएको छ ।
काउन्सिलले गर्नुपर्ने काम आयोग स्वयंले गरेको भन्दै पत्रकार महासंघ र मिडिया जगतबाट व्यापक विरोध भएपछि आयोग पछि हटिसकेको छ । यसअघि काउन्सिलले विभिन्न पत्रपत्रिका, अनलाइनसहितका सञ्चारमाध्यमलाई पत्र लेख्ने काम गरिसकेको छ ।
सुरुमा सेना, पुलिससहितको संरचना बनाएर मिडियाको अनुगमन आफै गर्न थालेपछि काउन्सिल र पत्रकार महासंघले व्यापक विरोध गरेका थिए । उक्त विरोधपछि आयोग आफैले मिडियाको अनुगमन गर्ने, कारबाही गर्ने काम काउन्सिलको हुने उल्लेख गर्दै एक महिना अघि पत्राचार समेत गरेको थियो ।
त्यस विपरित आफै मिडियाको कन्टेन्ट हेर्ने प्रयास गरेपछि विवाद बढेको हो ।
निर्वाचन आयोगले अनावश्यक काममा हात हालेर मिडिया जगतलाई चिढ्याउने काम मात्र गर्यो । आयोगभित्र मिडिया बुझ्ने धेरै विज्ञहरू रहेछन्, जसले विवादास्पद काम मात्र गरे । निर्वाचनका बेला मिडिया जगतलाई चलाउने र वातावरण खलबल्याउने काम मात्र गरे, प्रेस काउन्सिलका एक सदस्यले व्यङ्ग्य गर्दै भने ।