चुनाव आउँदैछ । चुनावमा थरिथरिका प्रचारसामग्रीहरु त आउने नै भए । फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालका भित्ताहरुमा त्यस्ता प्रचार सामग्रीहरु देखापर्न थालिसकेका छन् । मेरो मित्रहरुको घेरामा माओवादी–पूर्व माओवादी साथीहरुको बाहुल्यता रहेका छन् । त्यसैले स्वभाविक रुपमा माओवादी पक्षधर प्रचारसामग्रीहरु मेरा सामाजिक सञ्जालका भित्ताहरु बढी झुल्किने गर्छन् । ती प्रचारसामग्रीहरु देख्दा मलाई २०६४ सालतिर आफूले माओवादीका लागि प्रचार सामग्री तयार पार्दाका केही रमाइला प्रसङ्गहरु याद आइरहेको छ ।
२०६४ को कालखण्ड । नेपालको इतिहासमै पहिलो पटक सम्पन्न हुन आँटेको संविधान सभाको चुनाव । १० वर्षे जनयुद्धको साउव्याज बोकेर शान्तिपूर्ण राजनीतिको कार्यदिशासहित माओवादी पार्टी खुला संसदीय राजनीतिक प्रतिस्पर्धामा उत्रिएको थियो । त्यसबेला जनमानसमा माओवादीप्रति जनतामा जनयुद्धका धङधङीका कारण केही भयमिश्रित अनि केही चाहिँ परम्परागत संसदीय राजनीतिक पार्टीहरुको चर्तिकलाबाट वाक्क दिक्क भएका कारण विकल्पको खोजीमा केही आकर्षक, कौतुकता पनि थियो । त्यसबेलामा नेपालको राजनीतिक भविष्यको दिशा कोर्नका लागि संविधानसभाको चुनाव हुन लागेको थियो ।
त्यसताका मेरो सम्बन्ध राम्रो रहेका तथा निकटतम मित्रका हैसियतमा रहेका ओम शर्मालाई माओवादी पार्टीले गोरखापत्रको कार्यकारी अध्यक्षको जिम्मा सुम्पिएको थियो । मेरो प्रारम्भिक अनिच्छा–अरुचिका बाबजूद शर्माकै जोडबलमा उनले कार्यकाल सम्हालेको केही समयपछि म पनि गोरखापत्र संस्थानमा प्राविधिक सल्लाहकारको रुपमा जोडिन पुगेको थिएँ । त्यसबेला मैले पाउने मासिक तलब जम्माजम्मी रु. १०,०००।– थियो । ओम शर्माको नेतृत्वमा राजनीतिक नियुक्तिका आधारमा गोरखापत्रमा कार्यरत हामीहरुले त्यसबेला मासिक पारिश्रमिकबाहेक कुनै पनि भत्ता–अतिरिक्त रकमहरु नलिने–नबुझ्ने सहमति गरेका थियौं र सो कुरामा हामी कठोरतम रुपमा प्रतिबद्ध पनि थियौं ।
मैले यहाँ उल्लेख गर्न लागेको प्रसङ्ग त्यही गोरखापत्रमा काम गर्दाताकाको हो ।
संविधानसभाको चुनावलाई लिएर परम्परागत संसदीय पार्टीहरु नेपाली कांग्रेस, एमालेहरु चर्को प्रचारप्रसारमा उत्रिएका थिए । त्यसबेला प्रकाशित हुने सबै प्रमुख अखबारहरुमा तिनका चर्को प्रचारसामग्रीहरु छापिइरहेका थिए । अनौठो र उदेकलाग्दो कुरा चाहिँ माओवादी त्यस सवालमा चुपचाप थिए । उनीहरुको यो उदासिनता मलाई खट्किइरहेको थियो ।
एक दिन हामी कार्यकारी अध्यक्षको कक्षमा बसेर अनौपचारिक छलफल गरिरहेका थियौं । केही साथीहरु अखबारहरु हेरिरहेका थिए । सदाझैं माओवादी इतरपार्टीका प्रचारसामग्रीहरु थुप्रै अखबारका प्रथम पृष्ठमै छापिएका थिए । अचानक मेरो मनमा त्यो विषयले ‘स्ट्राइक’ गर्यो । मैले शर्माजीलाई भने– ‘सबै राजनीतिक पार्टीहरु आक्रामक प्रचारमा उत्रिएका छन् । माओवादी चाहिँ चुपचाप छन् । यो प्रत्युत्पादक हुन सक्छ है !’
माओवादी सुप्रिमो प्रचण्डसँग सोझै सम्पर्कमा रहेका ओम शर्मालाई मैले यसबारेमा प्रचण्डसँग कुरा गर्न र अरु पार्टीहरुको प्रचारलाई चिर्ने गरी आक्रामक प्रचारप्रसारमा जानुपर्ने कुरामा ‘कन्भिन्स’ गर्न सुझाव दिएँ । आफ्नो स्वभावजन्य प्रकृतिअनुसार शुरुमा शर्माले ‘मान्दैन’ भनेर पन्छिए तर मैले बारम्बार जोड गरेपछि उनले तत्कालै प्रचण्डलाई फोन गरे र माओवादी पार्टी पनि अखबारी प्रचारप्रसारमा जानुपर्ने औचित्य बताए । फोनमा प्रचण्डले पार्टीसँग प्रचारप्रसारको लागि आवश्यक फण्डको अभाव रहेको बताएपछि शर्माले उधारोमै भए पनि अखबारी प्रचारको जिम्मा आफूले लिने तर पछि पार्टीले त्यो रकम तिनुपर्ने जिकिर गरे । शर्माको जिकिरमा प्रचण्ड सहमत भए ।
माओवादीप्रतिको सदभावले त्यसबेला अखबारी प्रचारमा पर्ने आवश्यकताका लागि त ‘उल्काइयो’ तर आफ्नो लागि भने त्यो थप काम बढाइ पनि भयो । अखबारहरुमा छाप्नका लागि मैले प्रचार सामग्रीका केही डिजाइन बनाइदिनुपर्ने र भोलिपल्ट बिहान ६ बजेतिरै सो डिजाइन प्रचण्डलाई देखाउन उनको तत्कालीन मुकाम नयाँबजारमा जाने सल्लाह भयो ।
डिजाइन के बनाउने, कुनै पूर्व सोच–तयारी थिएन । तथापि जिम्मानै लिइसकेपछि घर फर्केर त्यस विषयमा माथापच्ची शुरु भयो । धेरै सोचविचार, मननपछि दिमागमा डिजाइनका केही खाकाहरु कोरिए । त्यसपछि कम्प्युटर खोलेर डिजाइन बनाउन जोतिएँ ।
२०६२–६३ को जनआन्दोलनताका स्रष्टाहरुले भोटाहिटीमा विरोध प्रदर्शन गरेका थिए । त्यसबेला स्रष्टाहरुले विभिन्न थरिका व्यानरहरु बोकेका थिए । ती व्यानरहरुमध्ये एउटा व्यानरमा कवि धरणीधर कोइरालाको एउटा कवितांश पनि थियो । त्यतिखेर आफूले फोटो खिचेको हुनाले त्यो कविता मलाई अलिअलि याद थियो । सो कवितांशमा भनिएको थियो–
नयपाल स्वतन्त्र गराउनको
रणभेरि सुनेर जुरुक्क उठ्यो
गणतन्त्र गराउन गर्जी उठ्यो
छरितो र छिटो नयपाली ठिटो !’
त्यो कवितांश पोष्टरमा राख्न पाए गज्जब हुने थियो, माओवादीको मर्मलाई प्रतिबिम्बन गर्छ भन्ने लाग्यो । फलतः आफूले त्यसबेला खिचेका फोटोहरुको आर्काइभ खोतल्न थालें । संयोगवश सो फोटो फेला पर्यो । त्यसबाट कविता सारें । अब कवितांशको मर्मलाई बोक्ने प्रचण्डको फोटोको खाँचो थियो । आफूले खिचेको प्रचण्डका थरिथरिका फोटाहरु कोट्याउन थालें । एउटा हात उठाएको फूर्तिलो फोटोले ध्यान तान्यो । त्यो फोटो प्रचार सामग्रीको लागि छानें र डिजाइन तयार गर्न थालें । केही समय खर्चेपछि एउटा डिजाइन तयार भयो ।
आफूले केही प्रचार सामग्री बनाउने बाचा गरिएको छ । बल्लतल्ल एउटा सामग्री तयार भयो । अब वैकल्पिक के बनाउने ? सोच्दै जाँदा दिमागमा अर्को एउटा डिजाइन फुर्यो । त्यसबेला नेपाली कांग्रेसलगायत वामपन्थी इतर शक्तिहरुले ‘कम्युनिष्टहरुले बुढाबुढीलाई मार्छ, उनीहरुलाई बाँच्न दिँदैन’ भन्ने खालका प्रचारप्रसार व्यापक रुपमा गरिरहेका थिए । मलाई लाग्यो– एउटा डिजाइन त्यसलाई चिर्ने खालको बन्नुपर्छ ।
फेरि खोतल्न थालें फोटो । आफूले खिचेका फोटोहरुमा चित्त बुझ्दो फोटो फेला पर्नै सकेन । माओवादी फोटोग्राफर दिनेश श्रेष्ठले खिचेको एउटा फोटोले ध्यान तान्यो । राजधानीको खुलामञ्चको विशाल आमसभामा खिचिएको सो फोटोमा एउटा बृद्धाले ‘गोलाकारभित्रको हँसिया हथौडा’ अंकीत माओवादी झण्डा बोकेकी थिइन् । मलाई लाग्यो– त्यो एउटै फोटो काफी छ– कम्युनिष्टहरु बुढाबुढीहरु विरोधी हुन्छन् भन्ने दुस्प्रचार चिर्नका लागि । त्यसका लागि जनकवि गोकुल जोशीको कविताका पंक्ति छानें–
रोक्ने को हो दुरदर्शी विचारका धारा
को हो नयाँ नेपालको बोक्ने अभिभारा ?
यो कविता पंक्ति र मित्र दिनेश श्रेष्ठेले खिचेको सो फोटो प्रयोग गरेर अर्को डिजाइन बनाएँ ।
यी दुई अर्थपूर्ण प्रचार सामग्रीको सिर्जना गर्न पाउँदा आफूलाई चित्त बुझ्यो, ढुक्क पनि लाग्यो । यी दुई डिजाइन बनाउँदा बनाउँदै रातको दुई बजिसकेको थियो । भोलिपल्ट बिहान ६ बजे माओवादी अध्यक्ष प्रचण्डलाई डिजाइन देखाउन जाने बाचा गरिएको छ । फलतः एउटा डिजाइन चाहिँ खासै सोचविचार नगरिकनै बनाइयो । सो डिजाइन अलि नारावादी खालको थियो । डिजाइनमा आफूलाई चित्त नबुझे पनि विकल्पमा देखाउन हुन्छ भनेर बनाइएको थियो । त्यसमा लेखिएको नारा यस्तो थियो–
‘त्यस्ता राष्ट्रघाती जनविरोधीहरुलाई घृणा र तिरस्कार गरौं !
पुराना कुरा बिर्सेर नयाँ नेपाल, नयाँ विचार र नयाँ नेतृत्वलाई विजयी गराऔं !
त्यसबेला माओवादी पार्टीले एउटा आकर्षक नारा ल्याएको थियो– सबैलाई हेर्यौं पटक पटक, माओवादीलाई हेरौं एक पटक । प्रचार सामग्रीका तीनवटै डिजाइनमा सो नारालाई समेटियो ।
पूर्व निर्धारित समयमा अध्यक्ष प्रचण्डकोमा पुगियो । डिजाइनको मैले श्यामश्वेत प्रिन्ट गरेर लगेको थिएँ । अहिलेको जस्तो हातेफोनमा देखाउन सकिने सुविधा थिएन । प्रिन्ट हेर्नेबित्तिकै अघिल्ला दुई डिजाइनहरु अध्यक्ष प्रचण्डले मन पराए । उनले ती डिजाइनहरु ‘पास’ गरे । तेस्रो डिजाइन हेरेर उनी फिस्स हाँसे र भने, ‘अलि नारा उग्र भयो कि ? यो डिजाइन चाहिँ प्रयोग नगरौं होला ।’
त्यसमा विमति जमाउने कुरा थिएन । केही गफगाफ, भलाकुसारी पछि हामी फर्कियौं ।
गोरखापत्र संस्थानका तत्कालीन अध्यक्ष ओम शर्माको पहल र जिम्मामा ती दुई प्रचार सामग्रीहरु तत्कालीन मूलधारका विभिन्न पत्रपत्रिकाहरु लगालग छापिए ।
निर्धारित समयमा संविधानसभाको चुनाव भयो । सो चुनावमा माओवादी पार्टीले प्रचण्ड बहुमतका साथ विजय हासिल गर्यो ।
माओवादी विजयका कारणहरुबारे अखबार टेलिभिजनहरुमा व्यापक विचार–विश्लेषणहरु आउन थाले । विजयका कारकपक्षहरुमा धेरैले धेरै जोडकोणबाट अर्थ्याउन थाले । त्यसैक्रममा कान्तिपुर टेलिभिजनमा एकजना विश्लेषक (दुर्भाग्यवश यतिखेर नाम थर सम्झन सकिनँ, अगाडिको नाम कृष्ण थियो जस्तो लाग्छ)ले माओवादी विजयका कारक पक्षहरु केलाउँदै जाँदा उसको प्रचार सामग्रीलाई पनि जस दिँदा मेरा कान ठाडा भए । उनको विचारमा माओवादी पार्टीले अखबारहरुमा छापेको चुनाव प्रचार सामग्री अरुभन्दा भिन्न, अर्थपूर्ण, आकर्षक र आम मानिसको ध्यान तान्ने खालको रह्यो । उनको भनाइमा माओवादीले युवालाई लक्षित गरेर एकथरि सामग्री प्रचार गरे भने बुडाबुढीहरुलाई कम्युनिष्टहरुले मार्छ भन्ने कुप्रचारलाई चिर्दै उसले अर्कोथरि सामग्री प्रचार गर्यो । त्यसले माओवादीप्रति एकखालको आकर्षण बढाउन र भ्रम चिर्न मद्दत गर्यो ।
वास्तवमा, त्यतिखेर माओवादी पार्टीप्रतिको सद्भावका रुपमा आफूले सो प्रचार सामग्रीहरु डिजाइन गरिदिएको थिएँ, त्यसमा मैले कुनै प्रशंसा, आभार वा पारितोषकको अपेक्षा पनि गरेको थिइनँ । त्यसमाथि थप, आफूले जानेको सीपको प्रयोग गरी बनाइदिएको सो प्रचारसामग्रीलाई कसैले गहन रुपमा लेलान्, हेर्लान् भन्ने बारे पनि सोचकै थिइनँ । तर त्यतिखेर लाइमलाइटमा रहेका एउटा मुर्धन्य विश्लेषकले आफूले सिर्जना गरिदिएको प्रचार सामग्रीको त्यति गहिरो व्याख्या गरिदिँदा आफूलाई अपार सन्तोषको अनुभूति भयो ।
यतिखेर बागमतीमा धेरै पानी बगिसकेको छ । तर अहिले पनि मलाई प्रष्टै सम्झना छ, मैले ती प्रचार सामग्री बनाउँदा वास्तवमै धेरै माथापच्ची गरेर त्यसलाई अर्थपूर्ण बनाउने कोशिस गरेको थिएँ, जसलाई ती विश्लेषकले सही ढंगले बुझे र त्यहीअनुसार व्याख्या गरिदिए ।
प्रसंगवश, एउटा कुरा भनिहालौं– म आबद्धताको हिसाबले कहिल्यै पनि माओवादी पार्टीको सदस्य बनिनँ तर मार्क्सवाद–लेनिनवाद र माओविचारधाराप्रतिको आफ्नो आस्थाविश्वासले नेपालमा पहिलोपटक सशस्त्र जनयुद्धको थालनी गरेका माओवादी पार्टीप्रति सदैव मेरो समर्थन रह्यो । त्यसैले कुनै पनि बेला राज्यको वक्रदृष्टि पर्न सक्ने खतरालाई मोल्दै त्यो बेला माओवादीका थुप्रै पर्चा पोष्टरहरुको डिजाइन गरिदिएको थिएँ । त्यसो त पुलिस रेकर्डको हिसाबले चाहिँ म २०४७–४८ सालदेखि नै माओवादीका रुपमा दर्ज थिएँ, जुनबेला नेपालमा औपचारिक रुपमा माओवादी पार्टी नै बनिसकेको थिएन । मेरो त्यही पुलिस रेकर्डका कारण बाल्यकालदेखि नै नेपाली सेनामा जागिर खाने मेरा दाइको सपना झन्डै भङ्ग भएको थियो । सङ्कटकालको बेला मलाई खोज्दै दर्जनौं पटक तत्कालीन शाही सेना इलामस्थित मेरो जन्मघरमा पुग्दा परिवारजनमा आतङ्क नै छाउने गरेको थियो । उताबाट रुवावासीसहित त्यसबारे खबर अनि सतर्क भएर बस्न सद्भावपूर्ण उपदेशहरु आउने गर्थे । खैर त्यो चाहिँ बेग्लै प्रसङ्गको कुरा भयो ।