नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तीन पत्रकारलाई पुरस्कृत गरेको छ ।
बुधबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ‘शारदा–ढुण्डीराज भट्टराई नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ खेमराज श्रेष्ठ, ‘सिविफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार’ विजय पराजुली र अनुप आचार्यलाई प्रदान गरे ।
शारदा–ढुण्डीराज पुरस्कारको राशि रु एक लाख तथा सिविफिन–नाफिज बैंकिङ पुरस्कारको राशि रु ५० हजार रहेको छ । सो अवसरमा डेपुटी गभर्नर मिश्रले पत्रकारले आर्थिक परिसूचकलाई सबै जनताले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने बताए ।
बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्ति हुनुपर्नेमा जोड दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकिङ प्रणाली थप सहज गराउनुपर्ने बताए ।
निक्षेप राख्दा अनावश्यक जानकारी पेस गर्नुपर्ने व्यवस्थाले अर्थतन्त्रलाई नै घाटा पुगेको उनको भनाइ थियो । कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर मिश्रले नाफिजको वार्षिक जर्नल ‘अर्थचित्र’को विमोचन गरेका थिए ।