
केटिएम दैनिकको सम्पादक निशा ओलीलाई प्रेस काउन्सिल नेपालले क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
प्रेस काउन्सिल नेपालको ५३ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पादक निशा ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् ।
यो वर्ष क्रियाशील पत्रकारिता पुरस्कार पाउनेमा ओली एक मात्र महिला पत्रकार हुन् । पुरस्कारको राशि १५ हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ ।
२०६४ सालमा झापाको पाथीभरा एफएमबाट पत्रकारिता सुरु गरेकी ओलीले अङ्ग्रेजीमा स्नातक र आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर सम्मको अध्ययन गरेकी छन् । उनीसँग आर्थिक अभियान राष्ट्रिय दैनिक, नेपाल वातावरण पत्रकार समूह नेफेज तथा विभिन्न पत्रपत्रिका र अनलाइनमा काम गरेको अनुभव छ । ओली केटिएम दैनिकको संस्थापक सम्पादक हुन् ।

यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार हरिबहादुर थापा र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार माधव विद्रोहीलाई प्रदान गरियो । थापा इकागज डटकमका सम्पादक तथा विद्रोही राष्ट्रिय समाचार समितिका पूर्वबोर्ड सदस्य हुन् ।
त्यसैगरी यस वर्षको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ पाउनेमा ओलीसहित राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठक, पत्रकारहरु दामोदरप्रसाद दवाडी, विमल योगी, मनोज जोशी, पुस्कर बुढाथोकी, भूपराज खड्का, कृष्ण केसी, श्यामनाथ कुँवर र सुरेश धामीलाई छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी, सूचना सञ्चार तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राष्ट्रपति कार्यालयमा उक्त पुरस्कार वितरण गरेका हुन् ।
सो समारोहमा ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ टेकराज थामी र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ मायामितु न्यौपाने, ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ केशरराज क्षेत्री, दशरथ घिमिरे, प्रदीप परियार, महेश केसी, डिबी बुढा, शम्भु दंगाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, राजेन्द्र धामी, हिमाकुमारी चेम्जोङ र मकर श्रेष्ठलाई प्रदान गरिएको छ ।
त्यसैगरी प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार रमा केसी, शारदा गैरे र सरिता ज्ञवालीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार हेमबहादुर (कमल) राना, अजय गोर्खाली र प्रवीणकुमार शर्मालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार जीवनकुमार पराजुली, आनन्द श्रेष्ठ र विजयरत्न तुलाधरले पाएका छन् ।
त्यसैगरी यस वर्ष ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ काठमाडौंबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिएको छ ।