
विश्व शान्तीको कामना गर्दै इलामका एक युवाले मेची– महाकाली ह्विल चियर यात्रा आरम्भ गरेका छन् ।
इलाम नगरपालिका वडा नम्बर ८ का २५ बर्षिय सन्देश रम्तेलले आठौं संविधान दिवसको अवसर पारेर सोमबार नेपालको पूर्वी नाका काँकरभिट्ट स्थित मेची पुलबाट आफ्नो “मेची– महाकाली ह्विल चियर” यात्रा आरम्भ गरेका हुन् ।
मोटर साईकल दुर्घटनामा परी बिगत दुई बर्षदेखि शारिरीक असक्त बनेका रम्तेलले ह्विल चियरको सहायतामा मेची– महाकाली यात्रा तय गरेका हुन् । नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्तिर्ण गरेका रम्तेलले दैनिक ६० देखि ८० किलो मिटर यात्रा गर्ने गरी करिब दुई हप्तामा आफ्नो मेची– महाकाली ह्विल चियर यात्रा सम्पन्न गर्ने जानकारी दिए ।
पछिल्लो समय मानिसमा मानवता हराउदै गएको र मानव मानव बिच द्धन्द बढीरहेको बताउँदै उनले मानव शान्तीको सन्देश फैल्याउन आफुले मेची– महाकाली ह्विल चियर यात्रा गरेको बताउँछन् । नेपालको पूर्वीसीमानाका मेचीबाट आफ्नो यात्रा सुरु गरेका रम्तेल अहिले सुनसरी आइपुगेका छन् ।