
गएराति बुढानीलकण्ठ नगरपालिका–११ लसुनटार कपनमा भएको आगलागीमा मृत्यु हुने तीन जनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका २७ वर्षीय कासाङ तेन्जी शेर्पा, संखुवासभाका ३२ वर्षीय अशोक राई र काठमाडौं महानगरपालिका–२६ रानीबारीका २५ वर्षीय छेवाङ शेर्पा रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो । कपन, जिल्ला प्रहरी परिसर काठमाडौँ, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा आगो मध्यरातमा निभाएको हो । आगो निभाउन दुई सय प्रहरी, ७० नेपाली सेना र ३० सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
आगो निभाउन बौद्ध, काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र त्रिभुवन विमानस्थलको गरी नौवटा दमकल तथा १० पानी ट्याङ्करको प्रयोग गरिएको थियो ।
नोट: यसमा प्रयोग गरिएको तस्बिर केहीसमयअगाडि काठमाडौंको भृकुटीमण्डपमा लागेको आगोको तस्बिर हो ।