सत्ता गठबन्धनका युवा संघ-संगठन राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्ध सडकमा उत्रिने भएका छन् । राष्ट्रपति भण्डारीले तोकिएको समयसीमा १५ दिनसम्म नागरिकता विधेयक प्रमाणीकरण नगरेर निस्क्रिय पारिदिएपछि गठबन्धनको बैठकले ‘राष्ट्रपतिले संविधानको उल्लंघन गरेको’ निस्कर्ष निकालेको थियो ।
हिजो राष्ट्रिय जनमोर्चा बाहेक बसेको सत्ता गठबन्धनमा आवद्ध चार दलले एक विज्ञप्ती जारी गर्दै ‘राष्ट्रपतिको यो कदमबाट एकातिर नागरिकता प्राप्त गरिसकेका नेपाली आमा-बाबुका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित भएका को उल्लेख गरेको थियो ।
साथै बैठकले संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आधारभुत मुल्य मान्यतामा गम्भीर प्रहार भएको निष्कर्ष निकालेको थियो ।
लगत्तै गठबन्धनमा आवद्ध दलका युवा संगठनहरू विरोधमा उत्रिएका हुन् । संयुक्त युवा संगठनको बुधबारको बैठकले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले गैरसंवैधानिक कदम चालेको ठहर गरेको छ ।
राष्ट्रपतिको कदमविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध र्याली गर्ने भएको छ ।