
कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीका अनुसार तीन जनाको शव फेला परेको छ । मैनाली केटिएम दैनिकसँग भने, ‘अहिलेसम्म तीन व्यक्तिको शव फेला परेको छ अन्य व्यक्तिहरू पनि हुनसक्ने आशंकामा खोजीकार्य तीव्र पारिएको छ ।’
आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ। सो ट्रेकिङ एजेन्सीको कार्यालय प्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको रहेको बुझिएको छ ।
आज काठमाडौं उपत्यकाका अन्य दुई स्थानमा पनि आगलागी भएको थियो । बिहान काठमाडौंको न्यूज प्लाजामा एक विद्यूत पोलमा आगलागी भएको थियो भने दिँउसो ललितपुरको एक स्थानमा आगलागी भएको हो ।