राष्ट्र हित विरुद्धको नागरिकता विधेयक पास गरी कानुन बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुष्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ ।
नागरिकता अध्ययन कार्यदल–०७९ले नागरिकता विधेयक प्रमाणीकरण अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम राष्ट्र हितको पक्षमा रहेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गरेको छ । रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यदलका सहसंयोजक नारायण शर्माले सत्ता गठबन्धनले जस्ताको तस्तै नागरिकता विधेयक राष्ट्रपतिलाई पठाएर दम्भ देखाएको बताएका छन् ।
विधेयक राष्ट्र हित विपरीत देखेर राष्ट्रपतिले प्रमाणीकरण नगरेको उनको भनाइ थियो । शर्माले राष्ट्रियताको विषयमा अडान लिँदा राष्ट्रपतिको हत्या हुनसक्ने आशङ्का समेत गरेका छन् ।
उनले भने, “मदन भण्डारीको उहाँ जीवन सङ्गिनी हुनुहुन्छ । मदन भण्डारी एउटा राष्ट्रवादी भएको नाताले उहाँको हत्या भएको हो, विदेशी शक्तिहरूको कारणले भने । उहाँकी श्रीमतीले यही राष्ट्रयताको विषयमा अडान लिँदा उहाँको पनि हत्या हुन सक्छ । यो आफ्नो हत्यासंगत हुने कुरालाई पनि उहाँले साहसका साथ खतरा मोल्नुभएको छ । यो धेरै नै ठुलो कुरा हो र नेपालको इतिहासमा स्वर्णअक्षरले लखिने एउटा ऐतिहासिक जनकदम हो ।”
विधेयक प्रमाणीकरण नगरेकोमा राष्ट्रपतिलाई विभिन्न बहानामा बदनाम गर्ने र देशलाई अशान्ति, अस्थिरता, अस्तव्यस्तता र अराजकतातिर धकेल्न खोजेको भन्दै त्यसतिर ध्यान दिन समेत आग्रह गरेका छन् । शर्माले नागरिकता विधेयकले ६ प्रकारबाट विदेशीलाई नेपालमा भित्राउँदो रहेछ, दुई प्रकारबाट अङ्गीकृत नागरिकता बनाएर, चार प्रकारबाट वंशजको नागरिकता बनाएर विदेशीहरूलाई नेपालमा भित्राउने र नेपालीहरूलाई अल्पमतमा पार्ने गठबन्धनको प्रयास विरुद्ध राष्ट्रपतिले देश हितको पक्षमा साहसिक कदम चालेकोमा प्रशंसा गरे । उनले भण्डारीलाई आगामी दिनमा पनि देश हितको पक्षमा निडर भएर काम गर्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै उनले भने, “देशमा द्वन्द्व र दङ्गा मच्चाई असफल राष्ट्र बनाएर विदेशी सेना निम्त्याउने षड्यन्त्रमा छन् भन्ने देखिन्छ । यी दुवै हरकतहरु मध्ये कुनै एउटा अघि वा पछि पारेर गर्ने अथवा दुवै एकसाथ गर्ने गरेर देश डुबाउने मै यी दलाल शासकहरू सक्रिय छन् ।”
नागरिकता विधेयक असफल भइसकेपछि देउवाले नैतिकताको आधारमा राजीनामा दिएर अन्तरिम सरकारको लागि मार्ग प्रशस्त गर्नुपर्ने माग गरेको छ ।