नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार मध्यान्ह सोलुखुम्बु पुगेका छन् । प्रचण्डले सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन, ५० शैयाको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको उद्घाटन गरेका छन् ।
सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले सोलुखुम्बु जिल्लाले विकासमा फड्को मारेको बताए । उनले सगरमाथाको काखमा रहेको सोलुखुम्बुको विकासका मोडेलहरु संसारभरबाट देखिने जिकिर गरे ।
उनले भने, ‘सगरमाथाको काखमा रहेको तपाईँको जिल्लामा नेपाली जनताको निम्ति, सोलुखुम्बु बाँसी दिदिबहिनी दाजुभाईहरुको निम्ति शिक्षा, स्वास्थ्य रोजगारी, बाटोघाटो, रोजगार, विद्युतिकरण विकास निर्माण के–कस्तो मोडेल बनाउँछ । संसार भर देखिन्छ । अरु जिल्लाको भन्दा तपाईहरुको काम कारबाही संसारले हेर्छ । नेपालमा कस्तो विकासको मोडेल नमुना हुँदैछ भन्ने कुरा तपाईहरुको काम कारबाहीबाट पहिले देखिन्छ । मलाई विश्वास छ, सोलुखुम्बु जिल्लाले विकास निर्माणमा फड्को हान्दै छ ।’
अध्यक्ष प्रचण्डले सोलुखुम्बुले समाजवाद निर्माण गर्न एउटा जर्मको गरेको दाबी गरे । यसले देशभर नै समाजवादको सन्देश जाने उनको भनाई छ ।