
नेपालमा गत आर्थिक वर्षमा ३९ हजार भन्दा बढी सवारीसाधनहरू दुर्घटनामा परेका छन् । पछिल्ला वर्षहरूमा सवारी साधन दुर्घटनाका घटनाहरू बढ्दै गइरहेको तथ्याङ्कले देखाउँछ ।
प्रहरीको तथ्याङ्क केलाउने हो भने औसत दैनिक १०७ भन्दा बढी सवारीसाधनहरू दुर्घटनामा पर्छन् । साउन २०७८ देखि असार २०७९ मा सम्म देशभर ३९ हजार ३७९ वटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
यी दुर्घटनामा परेर दुई हजार ८८३ जनाको निधन भएको छ जसमा १५५ बालक र ६७ बालिका रहेका छन् त्यस्तै सात हजार २८२ जना गम्भीर घाइते भएको र २५ हजार ७२२ जना सामान्य घाइते भएको प्रहरी मुख्यालयबाट केटिएम दैनिकले प्राप्त गरेको विवरणमा उल्लेख छ ।
दुर्घटनामा मानिस मात्र हैन चौपायाहरूको पनि मृत्यु हुने गर्दछ । यस आ.व.मा १७६ वटा चौपायाले सवारीसाधन दुर्घटनाको कारण मृत्युवरण गरेका छन् भने ५९ वटा चौपाया घाइते भएका छन् ।
दुई पाङ्ग्रे सवारीसाधन बढी दुर्घटना
सवारी साधनको किसिमअनुसार दुर्घटनाको प्रकृति हेर्दा दुई पाङ्ग्रे सवारी साधन बढी दुर्घटनामा पर्ने गरेका छन् । यस आ.व. मा १९ हजार ९७४ वटा मोटरसाइकल/ स्कुटर दुर्घटना भएका छन् । दुई जनाभन्दा बढी चढ्दा, तीव्र गतिमा र मापसे गरेर चलाउँदा सन्तुलन बिग्रिएर धेरै दुर्घटना हुने ट्राफिक प्रहरीले जनाएको छ ।

मापसे (मादक पदार्थ सेवन) गरेर चलाउने, हेलमेट नलगाउने र त्यसको क्लिप नबाँध्ने, दुई जना भन्दा बढी चढ्ने, तीव्र गतिमा हाँक्ने लगायतका नियम उल्लङ्घन गरेर मोटरसाइकल चलाउने गर्दा दुई पाङ्ग्रे सवारी साधन बढी दुर्घटनामा पर्ने गरेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्ट बताउँछन् ।

सडक र सवारी साधनको अवस्था, यान्त्रिक गडबडी, छाडा पशु चौपाया, जथाभाबी बाटो काट्ने पैदल यात्रु, सडकमा उचित सूचनाको अभाव, सडकको असुरक्षित ट्र्याक, सवारी साधनको अत्यधिक चाप, ट्राफिक सङ्केत र सूचनाहरू पर्याप्त नहुनु दुर्घटनाका अन्य कारण रहेको भट्टको भनाइ छ ।
भट्टले केटिएम दैनिकसँग भने, ‘दुई पाङ्ग्रे सवारीसाधनमा बढी दुर्घटनामा पर्ने र १७ देखि ३४ वर्ष उमेर समूहका व्यक्तिहरू बढि छन् । टिनएजरहरू बढी दुर्घटनामा पर्ने हुनाले न्यूनिकरण गर्नको लागि विद्यार्थी सुरक्षा लक्षित चेकजाँचलाई कडाईका साथ लागू गरेका छौं । बिहान ५:३० देखि ७:३० सम्म कलेज जाने समयमा काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विद्यार्थी सुरक्षा लक्षित चेकजाँच जारी छ ।’
उनले थपे, ‘पछिल्लो समय हामीले यान्त्रीक चेकजाँच पनि सुरु गरेका छौं । केहीदिन अगाडि काठमाडौं हेटौंडा चल्ने सुमोहरूको जाँच गर्दा उनीहरूले ह्यान्ड ब्रेक हटाइएको पाइयो । कम्पनीबाट आएको ह्याण्डब्रेक हटाएर केहीले यात्रुको लागि सिट बनाएका रहेछन् । उनीहरूलाई कारबाही गरिएको छ ।’
ट्राफिक प्रहरीहरूले स्कुल कलेजमा पुगेर सचेतनाका कार्यक्रमहरू पनि गर्दै गइरहेको छ । यति मात्र हैन यातायात व्यवसायीहरूको समन्वयमा सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई तालिम दिने कार्यहरूलाई पनि निरन्तरता दिएको छ ।
पाँच वर्षमा दुर्घटनामा परेर १२ हजार ९६४ ले ज्यान गुमाए
विगत पाँच आर्थिक वर्षको तथ्याङ्क नियाल्ने हो भने १२ हजार ९६४ जनाले सवारी साधन दुर्घटनामा परेर ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा पुरुषहरूको सङ्ख्या उल्लेख्य छ । यो अवधिमा नौ हजार ७९५ पुरुष, दुई हजार २६ महिला, ७५८ बालक र ३८५ बालिकाले सडक दुर्घटनामा परेर ज्यान गुमाउनु परेको छ ।

आर्थिक वर्ष ०७४/७५ मा दुई हजार ५४१ जनाले ज्यान गुमाएकोमा आ.व ०७५/७६ मा उक्त सङ्ख्या बढेर दुई हजार ७८९ पुग्यो ।
आ.व ०७६/७७ मा अघिल्लो वर्षभन्दा केही कम अर्थात् दुई हजार २५१ जनाको निधन भएकोमा आ.व ०७७/७८ मा दुई हजार ५०० जनाले ज्यान गुमाए । गत आ.व मा दुई हजार ८८३ जनाको निधन भएको छ ।
भने आठ हजार ९७५ वटा जिप/कार, दुई हजार ७८६ वटा यात्रुवाहक बस, दुई हजार ४७६ वटा ट्रक ट्याङ्कर, एक हजार ५६४ वटा शा.स चल्ने,
सवारी साधनको गति निर्धारण
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ ले कार, जिप, पिक–अप, भ्यान प्रति घण्टा ८० किलोमिटर, बस, मिनिबस, ट्रक, मिनी ट्रक पहाडमा ५०, समतलमा ७० किमी प्रतिघण्टा, मोटरसाइकल ५० किमी प्रतिघण्टा, टेम्पु, स्कुटर, पावर–टेलर, ट्याक्टर प्रतिघण्टा ४० किमी र बाक्लो बस्ती इलाकामा सबै सवारीसाधन ४० किमी प्रतिघण्टा कुदाउन पाउने व्यवस्था तोकेको छ ।

तर, विभिन्न स्थानहरूमा सवारी साधनको गति निर्धारण गरिएको हुन्छ । पछिल्लो समय तीव्र गतिका कारण सवारी साधनहरू दुर्घटनामा पर्न थालेपछि ट्राफिक प्रहरीले राडर गन मार्फत सवारी साधनको गति नाप्ने गरेका छन् ।