
काठमाडौं महानगरपालिका-३१ कात्यानीचोक डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका-५ घर भएकी ईन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत १० जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
एक वर्षमा २१ करोडको तास नेपाल भित्रियो
गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्यको तास आयात गरेको हो ।
सो अवधिमा २१ करोड ५४ लाख ४५ हजार रुपैयाँको तास नेपाल भित्रिएको विभागले जनाएको छ । उक्त मूल्यमा १ करोड ९ लाख ६० हजार ५४७ बुक तास नेपाल भित्रिएको छ ।
चीन, फ्रान्स, जर्मनी, हंगेरी, भारत र अमेरिकाबाट नेपालमा तास आउने गरेको विभागले जनाएको छ ।