काभ्रे/ धुलिखेल नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जीवित फाउन्डेसनको आयोजना, धुलिखेल नगरपालिकाको समन्वय तथा बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा धुलिखेल नगरपालिकाको १२ वटा वडाको १३ वटा स्वास्थ्य चौकीहरूमा निःशुल्क महिला, स्त्रीरोग तथा बाझोपन सँग सम्बन्धित शिविर सञ्चालन गरिएको छ ।
शिविर बाट कुल ४ सय ४५ जना लाभान्वित भएको जीवित फाउन्डेसनका उपाध्यक्ष शिव पौडेलले जानकारी दिए । सेवा लिएकाहरू मध्ये १ सय १५ जनाको ट्याप स्नेयर टेस्ट गरिएको थियो भने ८३ जनामा सङ्क्रमण पाइएको देखिएको छ । सङ्क्रमितको उपचारको लागि अस्पतालसँग समन्वय गरिएको छ ।
साउन ४ गते बाट सुरु भई भाद्र ९ गते सम्म क्याम्प सञ्चालन भएको हो । धुलिखेल नगरका उप प्रमुख नीराजन जंगमले क्याम्पबाट नगरका महिलाहरू लाभान्वित भएको बताउँदै आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सञ्चालनमा आएको छोटो समयमा नै जीवित फाउन्डेसनले स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।