आज भदौ २० गते वा १६ औँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस । यस वर्ष ‘तीनै तहका सरकार मानव बेचबिखन विरुद्धको सरोकार’ भन्ने राष्ट्रिय नाराका साथ देशभर विविध कार्यक्रमका साथ यो दिवस मनाइदैं छ । सन् २००२ मा काठमाडौँमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि, २००२ लाई २०६३ भदौ २० गतेका दिन तत्कालीन व्यवस्थापिका संसदबाट अनुमोदन भएपछि सोही दिनको स्मरणमा २०६४ साल देखि प्रत्येक वर्ष भदौ २० गतेका दिन यो दिवस मनाउन थालिएको हो ।
मन्त्रिपरिषद्को २०६४ जेठ ११ को बैठक बाट हरेक वर्ष भदौ २० गतेलाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गरिए बमोजिम हरेक वर्ष भदौ २० गते आजका दिन लाई मानव बेचबिखनबिरुद्घको राष्ट्रिय दिवसको रूपमा मनाउन थालिएको इतिहास छ ।
मानव बेचबिखनलाई जघन्य अपराधको रूपमा लिइन्छ र नेपाल पनि यस समस्याबाट अछुतो छैन । कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले प्रलोभनमा पारी, झुक्क्याई, डर त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरित जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई मानव बेचबिखन भनिन्छ ।
हरेक वर्ष अलग अलग नाराका साथ विविध कार्यक्रम गरी यो दिवस मनाईँरहेपनि हाम्रो देशमा मानव बेचबिखनका घटना निक्कै डर लाग्दो र भयावह बनिरहेको छ । मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या ज्युँका त्यू छ भन्दा कुनै अत्युक्ति नहोला ।
देशका हरेक जिल्लामा मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रण र रोकथामका लागि दर्जनौँ गैरसरकारी संस्था क्रियाशील छन् भने सरकारी निकाय पनि उत्तिकै सक्रिय छ । सीमा नाका र विमानस्थलमा समेत सधैँ तैनाथ छन् सरकारी तथा गैरसरकारी संस्था । तर, मानव बेचबिखन तथा ओसारपसार देशकै ठुलो समस्या भए पनि यसलाई निर्मूल गर्न सकिएको छैन । मानव बेचबिखनको स्वरूप र बाटोहरू परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने सरोकारवालाहरूले बताउँदै आएका छन् । मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको एउटा अध्ययनले देखाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहल काठमाण्डौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लकै भनाइलाई सापट लिने हो भने मानव बेचबिखनरूपी व्यापारबाट मात्र विश्वव्यापीकरण वार्षिक करिब १ सय ५० अरब अमेरिकी डलर आर्जन हुने गरेको छ । विश्वव्यापीकरण हुने मानव बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने र करिब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बच्चाहरू बेचबिखनमा पीडित हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
खास गरी मृगौला, कलेजो र रगत शारीरिक अङ्गहरू तस्करीका लागि बेचबिखन हुने तथा ३ जनामध्ये २ जना पीडित महिला हुने गरेका छन् । आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलङ्क भएको भन्न सकिन्छ ।
संसारमा फस्टाउँदो गतिमा रहेका प्रमुख तीन वटा अवैध सङ्गठित अपराधहरू हातहतियार, मानव बेचबिखन तथा लागू औषधमध्ये मानव बेचबिखन दोस्रो ठुलो अपराधको रूपमा दर्ज भएको छ । जसमा प्रतिवर्ष करिब १ सय ५० अरब अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ । यस्तो अपराध कम गर्न प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाण्डौले सन्देशमूलक सन्देश प्रवाह गर्न मुख्य: नाकामा डिस्प्ले बोर्ड राखेको छ । हुनतः मानव बेचबिखन तथा ओसारपसार जस्तो आपराधिक कार्य कसैको एक्लो प्रयासले मात्र सम्भव छैन । यसलाई रोक्न सबै एकजुट हुनुपर्छ ।
नेपालका चेलीबेटीहरू विभिन्न बहानामा भारतको खाडीमा बेचिने गरेका छन् । बढी भारतको कोठीमा केन्द्रित भई बेचिन पुगेका छन् । रोजगारीको बहानामा पनि मानव बेचबिखन हुने गरेका छन् । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरूलाई गलत कार्यहरूमा लगाइन्छ । दलालहरूको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जबरजस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौन दासी बनाउने र मनोरञ्जन उद्योगमा लगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृत्ति फेरिँदै बदलिँदै गएको अवस्था रहेको छ ।
पीडित व्यक्तिको इच्छा विपरीत धम्कीको प्रयोग, जबरजस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, वेश्यावृत्ति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरू गरिन्छ । अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाउँदै कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।
बेचबिखनमा बढी महिला पीडित हुने गरेका छन् । यसको न्यूनीकरणमा महिला नै जागरूक हुनुपर्ने देखिन्छ । अथवा मानव बेचबिखनमा मुख्य पीडित महिलाहरू नै हुने गरेकाले विशेष गरी महिलाहरू नै बढी सचेत र जागरूक हुनुपर्छ जस्तो लाग्छ । पहिले देशभित्रै दास प्रथा, कमैया प्रथाका नाममा बेचिने गरेका थिए । अब त देशबाहिर पनि मानव बेचबिखन हुने हुँदा दुवै विषय संवेदनशील भए । जबसम्म जनता सचेत हुँदैनन् तबसम्म मानव बेचबिखनका घटना न्यूनीकरण हुन् सक्दैनन् । कानुन कार्यान्वयनमा नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आजको आवश्यकता हो ।
नेपाल प्रवेश गर्ने वा बाहिरिने पूर्वको मुख्य: काँकडभिट्टा नाकामा रहेर मानव बेचबिखन तथा ओसारपसारको नियन्त्रण र रोकथाममा सक्रिय गैरसरकारी सङ्घ संस्थाका अधिकारीहरू मानव बेचबिखन तथा ओसारपसार एक बहु आयामिक, बहुक्षेत्रगत एवम् विश्वव्यापी समस्या भएको धारणा अघि सार्छन् । समाज र राष्ट्रकै डर लाग्दो कलङ्कको रूपमा देखा परेको यो समस्या अन्त्य गर्ने अठोटका साथ २०४९ सालमा माईती नेपाल गैरसरकारी संस्था स्थापना भएको छ । त्यसपछि पनि यस्तै उद्देश्यका लागि काम गर्ने भन्दै धेरै संस्थाहरू जन्मेका छन् । नेपाल प्रवेशको पूर्वी काँकडभिट्टा नाकामा मात्र हेर्ने हो भने माईती नेपाल, साना हातहरू, विश्व सेवा विस्तारलगायतका थुप्रै गैरसरकारी संस्था छन् ।
सिङ्गो महिला तथा बालबालिका कार्यालय रातदिन यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर लागि रहेको छ । चेलीबेटी बेचबिखन विरुद्ध सघर्षरत र महिला एवम् बाल–बालिकाको हकहितका लागि काम गर्दे आएका दर्जनौँ गैरसरकारी सङ्घ–संस्था भए पनि उनीहरूको मात्र एक्लो यो प्रयास सम्भव छैन ।
उप्रेती पत्रकार हुन् । उनी नेपाल भारत सीमा झापाको काँकडभिट्टामा बसेर पत्रकारिता गरिरहेका छन् ।