
सिन्धुपाल्चोकमा मानव वेचविखन तथा ओसारपसार मुद्दामा फरार रहेका व्यक्ति ३४ वर्षपछी पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक जिल्ला अदालतले २०४५ साल चैत २९ गते नौ वर्ष दुई महिला आठ दिन कैद सजाय सुनाएपछि फरार रहेका व्यक्ति आज (आइतबार) पक्राउ परेका हुन् ।
सिन्धुपाल्चोक प्रहरी प्रवक्ता डिएसपी शिव बुढाथोकीका अनुसार साविक दुवाचौर गा.वि.स. वडा नं.६ हाल मेलम्ची नगरपालिका-७ बस्ने वर्ष ६६ को खम्बे भन्ने जित बहादुर तामाङलाई फरार रहेको ३४ वर्ष पछि आज मेलम्ची नगरपालिका-७ बाट पक्राउ गरिएको हो ।
तामाङलाई पक्राउपछि अदालतको फैसलाअनुसार कैद सजाय भुक्तानको लागि आजै जिल्ला कारागार चौतारा चलान गरिएको डिएसपी बुढाथोकीले जनाए ।
लामो समयदेखि फरार रहेका अभियुक्तहरू पछिल्लो समय धमाधम पक्राउ पर्न थालेका छन् । २०५४ सालमा भक्तपुरकी छ वर्षीया बालिका बलात्कार गरेर फरार रहेका एक पुरुष २५ वर्षपछि शुक्रबार पोखराबाट पक्राउ परेका थिए ।