२०५४ सालमा छ वर्षीया बालिका बलात्कार गरेर फरार भएका व्यक्ति अहिले पक्राउ परेका छन् ।
भक्तपुरको भक्तपुरको नगरपालिका-११ क्वाछे बस्ने दिपक तुल्सीब्याखोले २०५४ साल मंसिर ८ गते बालिकालाई जबरजस्ती करणी गरेका थिए ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेका अनुसार “उनलाई जिल्ला र पुनरावेदन अदालतले सफाई दिएको भएतापनि सर्वोच्च अदालतको २०६३ माघ ८ गतेको फैसलाले तुल्सीब्याखोलाई आठ वर्ष कैद र उनको अंशको आधा भाग पीडितलाई भराई दिने फैसला गरेको थियो ।”
सर्वोच्चको फैसलापछि तुल्सीब्याखो फरार रहेका थिए । उनी पोखरामा बसेर व्यवसाय सञ्चालन गर्दै आइरहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
डिएसपी पाण्डेका अनुसार जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई हिजो (बिहीबार) पोखराबाट नियन्त्रणमा लिएको हो । आज तुल्सीब्याखोलाई फैसला कार्यान्वयनका लागी भक्तपुर जिल्ला अदालतमा पेश गरिएको छ ।
पाण्डेले केटिएम दैनिकसँग भने “अपराध गरेर फरार रहेको व्यक्ति बाँचुञ्जेलसम्म कुनै न कुनै दिन पक्राउ पर्छन् । अपराध गरेपछि अदालतले तोकेको सजाय काट्नैपर्छ ।”
पीडित बालिका जो अहिले ३१ वर्षीया महिला भएकी छन् उनको बारेमा भने प्रहरीले अनुसन्धान गरेको छैन । पीडितको बारेमा सोध्दा पाण्डेले भने, “उहाँ अहिले विवाह गरेर घरजम गरेको पनि हुनसक्छ ।” हामीले अदालतको फैसला कार्याव्नयन गराउने हो । त्यसैले पीडितको बारेमा सोधिखोजी गरेका छैनौं ।
उनले थपे “यो अहिलेको घटना हैन् । घटना घटेको समयमा पीडकको उमेर पनि १५ देखि १७ वर्षको थियो । अहिलेको कानुन भएको भए पीडक पनि बालक हुन्थे ।” तुल्सीब्याखोको उमेर अहिले ४० वर्ष पुगेको जिल्ला प्रहरी परिसर भक्तपुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।