वि.सं. २००४ सालमा सिराहाको वस्तिपुरमा जन्मिएर नेपाली समाजमा समाजवादी प्रकाश छरिरहेको एउटा प्रदीप निभेको आज १३ दिन बितेको छ । जसबाट राजनीतिमा युगीन सन्नाटा छाएको महसुश भएको छ ।
समाजवादी चिन्तक प्रदीप गिरीको निधनले यस जगतलाई अपूरणीय क्षति पुगेको छ । प्रदीप गिरीलाई सम्झँदै गर्दा, सबै परिस्थितिलाई सहज रूपमा लिन सक्ने हेर्दा गह्रुँगो लाग्ने तर वास्तवमा असाध्यै सरल व्यक्ति हुनुहुन्थ्यो । उहाँ सबैका गुरु हुनुहुन्थ्यो । प्रदीप दाईलाई कुनै प्रसङ्गवश मैले सोधेको थिएँ– दाई, सबैले तपाईँलाई गुरु मान्छन् । तपाँईको आफ्नै गुरु चाहिँ को हुनुहुन्छ ? उहाँले सहजै उत्तर दिनुभएको थियो – “म ज्ञानलाई गुरु मान्दछु ।”
ज्ञान र सिद्धान्तलाई विश्लेषणात्मक ढङ्गबाट प्रस्तुत गरी सबैलाई प्रभाव पार्न सक्ने विलक्षण खुबी प्रदीप गिरिको थियो । खास गरी वाकपटु प्रदीप गिरिको विनयशीलता, दर्शनशास्त्र र प्रस्तुतीकरणको अदभुत सङ्गमको म प्रशंसक हुँ । उहाँ ज्ञानको खानी हुनुहुन्थ्यो । उहाँ राजनीतिक कम, तर आध्यात्मिक र दार्शनिक ज्यादा रहनुभयो । अहिले राजनैतिक दलहरूमा देखिएको सैद्धान्तिक विचलनको बिचमा उहाँ दूरगामी दृष्टिकोण राख्ने एक महान् समाजवादी विचारक हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसले समाजवादलाई मुख्य दर्शनको रूपमा अङ्गीकार गर्दछ । वि.पी.ले भन्नुभएको समाजवाद कम्युनिस्ट दर्शनले भन्ने गरेको समाजवाद भन्दा कसरी फरक हो भनेर उहाँले प्रस्ट पार्नुहुन्थ्यो । कम्युनिष्टहरुको मार्क्सवादमा प्रजातन्त्र थप गर्ने हो भने बल्ल त्यो समाजवाद बन्छ भन्ने वि.पी.को विचारबाट उहाँ प्रभावित हुनुन्थ्यो । समाजवाद प्रति उहाँको अटल आस्था रहेको थियो । गान्धीवाद र मार्क्सवादको मिहिन सम्मिश्रण उहाँको विचारमा स्पष्ट देखिन्छन् । मूलतः उहाँ क्रान्तिकारी चेत भएको, विलक्षण बौद्धिकताले युक्त समाजवादी दर्शनका प्रणेता हुनुहुन्थ्यो ।
सदैव विद्रोही चेत राख्न सक्ने प्रदीप गिरि युवाहरूप्रति निकै उदार विचार राख्नुहुन्थ्यो । म तपाईँको मार्गदर्शन चाहन्छु प्रदीप दाई भन्दा उहाँले भन्नुभएको सम्झन्छु – “राजनीतिमा कहिले पनि थाक्नु हुँदैन । तिम्रो स्पिड ठिक छ यसलाई कायम राख्नु ।” प्रदीप गिरि दोलखाका इतिहास पुरुष भीम बहादुर तामाङ प्रति पनि धेरै भरोसा राख्नुहुन्थ्यो । पाँच दशक अघि उहाँले युवाहरूलाई सङ्गठित गरेर वैचारिक जागरण दिन गम्भीर अपिल गर्दै हाम्रा आदर्शका पर्याय नेता भीमबहादुर तामाङलाई एउटा पत्र नै लेख्नुभएको थियो ।
प्रदीप दाइले भीम दाइलाई सम्पादक बनाएर “रहर” नामको पत्रिका निकाल्नुभयो । युवाहरूलाई सधैँ प्रोत्साह दिँदै उहाँले पार्टीलाई ठिक बाटोमा ल्याउन युवालाई अघि बढाउनुपर्ने सार्वजनिक धारण पटक पटक राख्नुभयो । उहाँका “तन्नेरी आवाज”, “अब के गर्ने”जस्ता पुस्तिकाहरूले पनि युवाहरूलाई गरेको प्रोत्साहन स्पष्ट गर्छन् ।
प्रदीप गिरीले रहर गर्दा जसले पनि सजिलै मन्त्री बनाउँथ्यो तर उहाँले पदका लागी कहिल्यै प्रयत्न नै गर्नुभएन । लोकतान्त्रिक विचार भनेको लोकतान्त्रिक व्यवहार हो भन्ने उहाँ कुनै किसिमको बन्धन स्वीकार गर्नुहुन्नथ्यो । पन्क्षी जस्तै स्वच्छन्द विचरण गरिरहनुभयो । उहाँ सिद्धान्तले मात्र समाजवादी होइन व्यवहारले नै समाजवादी हुनुभयो । अहिले “स्वराज ट्रस्ट” भनिने प्रदीप गिरीको पिताजीको नाममा खोलेको आश्रममा भान्छे स्थानीय चमार, डोम र मुस्लिमहरू हुन्थे । वर्ण व्यवस्थाले जरो गाडेको समाजमा यस किसिमको कदम समाज सुधारको हकमा एउटा क्रान्ति सरह हो ।
प्रदीप गिरीले परिकल्पना गर्नुभएको “जमदम” अवधारणा अहिले नेपाली कांग्रेसको प्रमुख समावेशी नीति “कदमजम” कर्णाली, दलित, महिला, जनजाति, मधेसीका रूपमा मात्र आएको छैन, अहिले नेपालमा संविधान प्रदत्त हकका रूपमा स्थापित समावेशी सिद्धान्तको व्याख्याता समेत उहाँ नै हुनुभयो । नेपाली कांग्रेस वि.पी कोइरालाले प्रतिपादन गरेको, प्रदीप गिरीले व्याख्या गरेको, भीम बहादुरहरूले जीवनमा उतारेको समाजवादी विचारले सिञ्चित पार्टी हो । तर अहिले कतिपय अवस्थामा हाम्रो पार्टी नेपाली कांग्रेसका नेता कार्यकर्ता समाजवादी आचरणबाट विचलित त भएका होइनन् भन्ने आशङ्का नेपाली जनतामा रहेको छ ।
त्यस आशङ्कालाई तोडी समाजवादप्रति जनताको विश्वासमा बदल्ने जिम्मा युवाहरूको काँधमा आएको छ । युवाहरूले अब निराशाको बाटो होईन आशाको बाटो पहिल्याउनु पर्नेछ । युवाहरूले नै कांग्रेसमा समाजवादी, वैचारिक जागरणको अभियानमा नेतृत्वदायी भूमिका खेल्नुपर्नेछ । जसरी वि.पी.लाई समेत असहज प्रश्न गर्ने साहस प्रदीप गिरीमा थियो त्यसै गरी अहिले देशमा र पार्टीभित्र पनि मौलाएको गलत चिन्तन र प्रवृत्तिको विरुद्ध प्रश्न गर्ने र समाधान दिने कुरामा सबै एक भएर लाग्न सके मात्र साँचो अर्थमा प्रदीप दाइको आत्माले शान्ति पाउने छ । प्रदीप गिरीको महाप्रस्थको १३ औँ पुण्यतीथिको अवसरमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् ।