नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री महेस बस्नेतले अबको प्रधानमन्त्रीमा केपी शर्मा ओली बाहेक अन्यको विकल्प नभएको बताएका छन् ।
भक्तपुर जिल्ला कमिटीले आज भक्तपुरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्रीको रुपमा पहिलो नम्बरमा केपी ओली, दोस्रोमा शेरबहादुर देउवा र तेस्रोमा प्रचण्डलाई प्रस्तुत गरेका छन् । उनले देउवा सरकारलाई भाउजु सरकार भन्ने गरिएको भन्दै आरजु राणाप्रति पनि कटाक्ष गरे ।
उनले भने ‘प्रधानमन्त्रीको सेमिफाइनलमा जाने भनेको पहिलो नम्बरमा केपी ओली दोस्रो नम्बरमा शेरबहादुर देउवा र तेस्रो नम्बरमा प्रचण्ड र चौथो नम्बरमा शेरबहादुर देउवाको धर्म पत्नि हुन् ।’
प्रचण्डप्रति लक्षित गर्दै बस्नेतले भने ‘त्यो १७ हजार व्यक्तिको हत्या गर्ने नेपालको राजनीतिलाई अस्थिरतातर्फ लैजाने आफ्ना मान्छेहरूलाई अर्थमन्त्री लगायतका मन्त्रीहरू बनाउने र बिचौलियाहरूसँग मिलेर बजेटको सेटिङ गर्ने व्यक्तिलाई भावि प्रधानमन्त्री बनाउन हुँदैन ।’
आरजुप्रति लक्षित गर्दै बस्नेतले भने, ‘आफ्नो श्रीमान प्रधानमन्त्री भएको फाइदा लिँदै, भष्ट्राचार र सेटिङमार्फत अकुत सम्पत्ति जोड्दै अगाडि बढेकी भाउजु अर्थात आरजु राणा देउवा यो मुलुकको भावी प्रधानमन्त्री हुनु भनेको अन्तर्राष्ट्रिय स्तरमा नेपाल सान मान र गौरव समाप्त हुने कुरा हो, त्यसैले त्यो कुरा हामी सम्भव देख्दैनौँ ।’
फाइनलमा जाने दुई व्यक्तिमध्ये एकजना ओली र अर्को देउवा भएको पनि उनले बताए । उनले भने, ‘शेरबहादुर देउवाको नागरिकताको उमेर ७८ र वास्तविक उमेर ८० वर्ष भएकाले अन्तराष्ट्रिय मञ्चमा उनी उभिन सक्दैनन् । समकक्षी प्रधानमन्त्रीहरूले ध्यान गर्दा उनी र्याल चुहाउँछन्, सिंगान चुहाउँछन् त्यही भएर शेर बहादुर देउवालाई भावी प्रधानमन्त्री बनाउनु हुँदैन ।’
उनले केपी शर्मा ओलीले अघिल्लो चालिस महिनामा विकासको आँधिबेरी सिर्जना गरेको समेत उल्लेख गरे । ओलीले भौतिक पूर्वाधारमा मुलुकलाई कायापलट गरेको समेत बस्नेतले दाबी गरे । बस्नेतले ओली सरकारले विगतमा गरेको कामको चर्चा गर्दै भावी प्रधानमन्त्रीमा ओलीको विकल्प अरू नभएको बताए ।