जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नागरिकता विधेयक पारित गरेर छाड्ने दावी गरेका छन् । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा आज आयोजित कार्यक्रममा उनले हरेक नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर निरन्तर सङ्घर्षमा रहेको बताए।
उनले सरकार र सदनबाट नभए सडक सङ्घर्ष गरेर भए पनि नागरिकता विधेयक पारित गरिने जिकीर गरे । उत्पीडित जाति समुदायको अधिकार सुनिश्चितताका लागि निरन्तर सङ्घर्ष जारी रहेको बताउँदै यादवले सदियौँदेखिको उत्पीडित जाति समुदायले समान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि नआउने बताए ।
पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले देशमा चाँडै मलखादको समस्या समाधान हुने आश्वासन दिए । यादवले पहिचान, प्रतिनिधित्व, सामावेशीता र अधिकारका लागि उत्पीडित समुदाय एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले पार्टी अध्यक्ष उपेन्द्र यादवको दूरदर्शी नेतृत्वले सप्तरीमा विकासले गति लिएको दावी गरे । जसपा जिल्ला अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सूर्यनारायण यादव, मधेस प्रदेश सांसद मनिस सुमन, विदेश्वर यादव बिक्की, नवप्रवेशी प्रभाकर यादव, प्रेस मञ्चका महासचिव अवधेशकुमार झा अवधेश झालगायतकाले शुभकामना व्यक्त गरेका थिए ।
बुधबार गृहजिल्ला चितवन पुगेमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आमाबुवा नेपाली नै भएर पनि छोराछोरीहरुले नागरिकता नपाएर अवसरबाट बञ्चित हुने स्थितीलाई अन्त्य गर्न नागरिकता विधेयक ल्याइएको उल्लेख गरेका थिए ।
उनले भनेका थिए, “आमावुबा दुबै नेपालका नागरिक भएका छोराछोरीले नागरिकता पाउने मात्रै हो, अहिलेको विधेयकको । आमाबुवा पहिले नेपाली छन् । उनका छोराछोरीले नागरिकता नपाएर झण्डै ६–७ लाख मान्छेहरु सबै अवसरबाट बञ्चित हुने स्थिति भयो । त्यो स्थितिको अन्त्य गर्ने विधेयक हो । त्यसकारणले राष्ट्रघाती भन्नु पाखण्ड बाहेक केही हुँदैन् ।”