संसारको हरेक बिहान बिस्तारै गएर एउटा साँझमा रूपान्तरित हुन्छ।बिहान उदाएको सूर्य साँझ पर्दा अस्ताउने रित छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ। त्यस्तै गुरु पूर्णिमा मा गुरुको सम्झना गरियो,आमाको मुख हेर्ने दिन आमाको सम्झना गरियो भने आज कुशे औँसीका दिन बुबाको सम्मान सम्झना अनि विशेष समर्पण गर्ने गरिन्छ।
धेरैले आमालाई धर्तीसँग तुलना गरे । आमाको त्यागको व्याख्या गरे । आमाको ममताका बारेमा लेखे । तर, बुवाभित्र पनि मायाको विशाल खानी हुन्छ भन्ने कुरा कमैले मात्र महसुस गरेका छन् । आमालाई धर्ती भन्दै गर्दा बुवाभित्रको आकाशजस्तै विशाल छाती किन नियाल्न सकेनन् होलान् कवि, कथाकारले ? यो कुराले पनि मलाई बेला बेला बुवा प्रतिको समान झन्झन् बढ्दै गएको आभास हुन्छ।
हरेक सन्तानलाई झैँ मेरो मनमा रहेको बुवाप्रतिको सम्मान भावले आज उहाँकै निम्ति केही भावनारूपी शब्दहरू कोर्ने जमर्को गर्दै छु । हुन त बुवालाई सम्मान गर्न वर्षको एक दिन नै पर्खनुपर्ने त होइन तथापि आजको दिनको पनि खास महत्त्व भएकाले मेरा केही शब्दहरू उहाँकै नाममा समर्पित गरेर यो दिनलाई थप महत्त्वपूर्ण बनाउन चाहे ।
मेरा लागि मेरो बुवा एक आदर्श पुरुष र प्रेरणाको स्रोत हुनुहुन्छ जसको उपस्थितिले मात्रै पनि मभित्र जोस, जाँगर र आँटको बाढी नै ल्याइदिन्छ। जीवनको हरेक परिस्थितिमा एक सच्चा सल्लाहकारका रूपमा रही एकदमै सहज वातावरण निर्माण गरिदिने मेरा बुवा भगवान् भन्दा पनि उच्च आसनमा हुनुहुन्छ।
पितृदेवो भव: अर्थात् पिता भनेका भगवान् हुन् । जसरी यो संसार देखाउनलाई आमाको भूमिका हुन्छ, त्यसै गरी पिताले पनि आफ्ना सन्तानलाई यस संसारमा ल्याउन र उनको उज्ज्वल भविष्य बनाउन सधैँ प्रयास गरिरहेका हुन्छन् । कहिले अभिभावक बनेर, कहिले असल शिक्षक बनेर, कहिले साथी बनेर र कहिले प्रेरणाको स्रोत बनेर हरेक पिताले आफ्ना छोराछोरीको भविष्यलाई सफल बनाउन लागिपरेका हुन्छन् ।
वास्तवमा बुवाको मन पनि स्नेहले भरिपूर्ण र विशाल हुन्छ त्यसैले त आफ्नो सन्तानको सुख र सुनौलो भविष्य सुनिश्चित गर्न आफूलाई नै दाउमा राखेर दिनरात, आँधिबेरी, सुखदुख नभनी निरन्तर खटिइरहेका हुन्छन् । बुवाहरू ओखर जस्तै हुन बाहिरबाट कडा भित्रबाट एकदमै नरम ।
बुवा-आमाको स्वार्थ भनेकै आफ्नो सन्तानको खुसी हेर्नुमै हुन्छ तैपनि हामी आफ्नै खुसीको कामना गर्दै बस्ने अभिभावकलाई आफ्नो खुसीमा सामेलसम्म गर्न सक्दैनौँ । कस्तो विडम्बना । जे होस् आजको दिनले ती सबै कु सन्तानहरूलाई सुबुद्धि प्रदान गरोस् यही कामना गरौँ ।
बुवा तपाईँकै प्रेमिल छत्रछायामा फुल्दै र फैलिँदै जहाँसम्म पुगे पनि मेरो मूल जड हजुर नै हो भन्ने कुराको राम्रो हेक्का छ मलाई । हामीलाई सधैँ सत मार्गमा रही असल व्यक्ति बन्न प्रेरित गरिरहनुभयो । हामीलाई खुसी राख्ने चाहमा दुःखका काँडा पन्छाउँदै खुसीका गुच्छाहरू समेटेर सधैँ हाम्रो पोल्टामा हालिदिने हजुर, हाम्रो खुसीका लागि आफ्ना कैयन् खुसीहरूको तिलाञ्जलि दिँदै हाम्रा रहर पूरा गर्ने सिलसिलामा आफ्ना रहरहरू नै मारेर हाम्रा लागि मरिमेट्नु भयो ।
आफू भिजेर हामीलाई ओत दिने हजुरको आँखा कहिल्यै भिज्न नदिन सकूँ, हजुरले दिएको सुख र खुसीको सामु हजुरलाई पनि सधैँ खुसी दिन सकूँ, हजुरका अनुहारमा दुःखका वक्र रेखा होइन सन्तोषको चमक ल्याउन सकौँ, यस्तै यस्तै चाहनाको कामना गरिरहेको छु । जीवनमा यस्तो कर्म गर्न सकूँ ताकि गर्वले हजुरको छाती चौडा होस् न कि लज्जा बोधले शिर निहुरियोस् ।
सन्तानको भविष्य उज्यालो होस् भनेर बुवा हजुर दुनियाँसँग कति झुक्नु भयो होला है ?कति जनासँग अपहेलित हुनु भयो होला है? तर आज हजुरकै सन्तानले दिनरात, सुखदुख, घामपानी नभनी हरेक दिनरात मेहेनत गरी सुन्दर भविष्यको कल्पना गर्दै यो ठुलो अनि अपरिचित सहरमा सङ्घर्ष गर्दै छ।अझै केही दिन पर्खनुहोस् बुवा हजुरको छोराले हजुरको सिर उच्च बनाउने छ। हजुरको छोराको प्रगति देखेर दुनियाँले हजुरको जयजयकार गर्ने छन् बुवा। हजुरको छोराले अहिले सम्म प्रगति गरेन भनेर निराश नहुनु होला है?केही राम्रो काम हुनलाई केही समय लाग्छ त्यसैले केही दिन निराश नभएर धैर्य गरिदिनु होला ।
आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आफ्नो काँध नै दाउमा राख्ने बुवाको इतिहास कसैले पढ्दैन, किन ? हरेक बुबाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएको ठाउँमा पाइला नटेकुन् । बुबाले बारम्बार झकझकाउने पनि गर्नु भएको छ, आफ्नो जीवनमा आइपरेको काँडा आफै निकाल्न कहिल्यै बुवा आमाको आसमा नबस्नु , जति नै हुने खाने भए नि माइतीको धाक नलगाउनु । बुबा आमाको अनुपस्थितिमा पनि आफ्नो जीवनलाई उत्तिकै सार्थक बनाउन सक्नु । जसले तिम्रो हृदयलाई प्रेम गर्छ , उसलाई हृदयदेखि सम्मान गर्नु।
बढ्दो आधुनिकतासँगै सहरी जीवन अपनाउने चाहनाले सन्तानहरू बुवा आमालाई वृद्धाश्रममा राख्ने चलन बढ्दै गइरहेको छ । पितालाई भगवान् भन्दा पनि अहिले बोझका रूपमा लिने कु-सन्तान पनि धेरै देखिन्छ । न त जीवित हुँदा बाबाआमाको राम्रो स्याहार गर्छन्, न त दिवङ्गत भएपछि उनको उद्धारमा पितृ कर्म नै गर्छन् । आज आफ्नो अभिभावकलाई दुःख र पीडा दिने बाबाआमाबाट भोलि उनको सन्तानले के सिक्छन् ? यसमा पनि ध्यान दिने हो की ?
सिर्फ यो शिरमाथि सधैँ बुवा आमा हजुरको आशीर्वादरूपी हात भइरहोस्।भगवान् छन् वा छैनन् थाहा छैन, तर मेरा लागी साक्षात् भगवान् नै हजुर हो, जसको आराधना मेरो जीवनको नित्यकर्म बनेर रहेको छ बुवा । हजुरले ताते गर्दै समाएको मेरो हात हजुरको बुढेसकालको सहारा बनिरहोस् अनि हाम्रो सुन्दर भविष्यका लागि अनवरत खटिएर खियाउनुभएको घुँडामा सन्तान सुखको मलहमले सदैव आराम दिलाउन पाइरहूँ । चरण स्पर्शसहित पिता सम्मान दिवसको हजुरलाई धेरै-धेरै शुभकामना ! साथै सन्तानलाई संसार चिनाउने तमाम बुवाहरूमा समेत सम्मान भाव अनि शुभकामना ।
अन्ततः बास्तवमा बुवालाई माया गर्न, सम्मान गर्न र सेवा गर्न कुनै विशेष दिन चाहिँदैन । आफ्नो सिङ्गो जीवन आफ्ना सन्तानकै भलाइको लागि अर्पेका बुवा जीवित छँदा सधैँ आदर, सम्मान, माया र सेवा गरौँ, आफ्ना बुवाको चित्त दुख्ने, मन नपर्ने व्यवहार कोही सन्तानले नगरौँ, दिवङ्गत बुवालाई आफ्नो धार्मिक संस्कार र विधि अनुसार श्राद्ध, तर्पण गरौँ, शास्त्रमा लेखिएको छ ‘देवता भन्दा पितृ ठुला’ भनेर, पितृको आर्सीवादले नै जीवनमा उन्नति,प्रगति, सुख, शान्ति र समृद्धि सम्भव छ भन्ने शास्त्रीय मत रहेको छ, शास्त्रको यो मतको सम्मान गरौँ, आजको यो विशेष दिनमा सम्पूर्ण पिताहरूलाई कोटी कोटी नमन ।