नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीका गतिविधिले शंका जन्माएको बताएका छन् । उनले यसप्रकारको गतिविधीले भोलि कतै अनिष्ट हुने त होइन् भन्ने प्रश्नहरु खडा भएको जिकिर गरे ।
बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रपतिको गतिविधिहरुलाई सत्तारुढ गठबन्धनले नियालीरहेको धारणा राखे । उनले पूर्व आर्मी चिफहरुलाई बोलाएर राष्ट्रपति निवासमा भोजन दिने लगाएतका गतिविधिले राष्ट्रपतिले के गर्न खोजेकी छन् भन्ने प्रश्न समेत जन्मिएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै नेपालले भने,’राष्ट्रपतिले जुन ढंगले पूर्व आर्मी चिफहरुलाई बोलाएर जसरी राष्ट्रपति निवासमा भोजन दिने कामहरु भयो । यसले शंका जन्माएको छ। के गर्न खोजेकी छन् राष्ट्रपतिले भन्ने प्रश्न खडा भएको छ । भोलि कतै अनिष्ट हुने त होइन् भन्ने प्रश्नहरु पनि खडा भएको छ । आज बिहान बालुवाटारमा त्यसको बारेमा छलफल पनि भएको छ । हामिले राष्ट्रिय राजनीतिका सबै पक्षहरुको बारेमा निगरानी गरिरहेका छौं ।”
नेपालले एकीकृत समाजवादीको एक वर्षको यात्राबाट अधिकांश मानिसहरुमा उत्साह भएको बताए । उनले पार्टीमा आफ्नो स्वार्थ पुरा नभएपछि विचलित भएकाहरु पुनः आउन पाए हुन्थ्यौं भन्दै गुनासो गरिरहेको जिकिर गरे । पार्टीमा आउनेलाई स्वागत र जानेलाई बिदा गर्न आफू सधै तयार रहेको उनको तर्क थियो ।
उनले थपे,’एक वर्षको हाम्रो यात्रालाई हेर्ने हो भने अवश्य पनि अधिकांश मानिसहरु उत्साहित भए । केही मानिसहरु आफ्नो स्वार्थ पुरा नभएपछि विचलित पनि भए । विचलित भएका मान्छेको अवस्था हामिले देखेका छौं । विचलित भएका मान्छेहरु भन्दै छन्, कमरेड फेरी आउन पाए हुन्थ्यों । हाम्रा साथीहरुको चित्त अल्लि सानो छ । यस्तै हो, आए आराम, गए हराम । जो आउँछन् ठिक, गए हराम ।’
नेपालले पार्टीलाई जनताका पीडा र बेदनासँग जोड्न नेताकार्यकतालाई निर्देशन समेत दिएका छन् । उनले जनताको समस्यालाई आन्दोलित रुपमा अगाडी बढाउने काम गर्नुपर्ने बताउँदै उक्त कामबाट हजारौं नागरिक गोलबन्दी हुने दाबी समेत गरे ।
उनले कम्यूनिष्ट पार्टीमा लाग्ने मान्छेहरु क्रान्तिकारी आर्दशबाट प्रेरित हुनुपर्नेमा जोड दिए । नेपालले जनताप्रति सेवा र समाजलाई रुपान्तरण गर्ने संकल्प नभएको मान्छे कम्यूनिष्ट हुन नसक्नेमा उनको जोड छ ।