श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत गोडर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय गएका थिए।
उनीहरूबीच दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ। छलफलमा मन्त्री कुँवरलाई राजदूत गोडरले हिजो मात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका छन्। राजदूत गोडरले यही हप्तामा अरु कोटा थपिएर आउने जानकारी मन्त्री कुँवरलाई गराएको सचिवालयले जनाएको छ ।
यसअघि सहायक कामदारको लागि नौ हजार ६९९ जनाले निवेदन दिएकोमा एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्। मन्त्री कुँवरले आगामी दिनमा पनि इजरायले नेपालका कृषि, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न पनि अनुरोध गरेका थिए ।
शिष्टाचार भेटघाटमा मन्त्री कुँवरले राजदूतलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।