नेकपा एमाले अध्यक्ष केपी ओलीले आफूसँग उपचार गर्ने पैसासमेत नभएको बताएका छन् । नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै उनले आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न पनि नसक्ने बताए ।
उनले सांसद भएकाले अलिअलि पैसा त आउने तर त्यसले आफ्नो उपचार गर्न नपुग्ने बताए । आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति राज्यको भइसकेको उनले बताए ।
उनले भने “सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन ।”
उनले नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् । ओलीले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने ओलीको भनाई छ । सबै नेपाली मतदाताहरुले जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था गर्नुपर्नेमा ओलीले जोड दिएका हुन् । निर्वाचन आयोग र राजनीतिक दलहरुबीच सैद्धान्तिक विषयमा कुरा मिले पनि जटिलता भएको ओलीको भनाई छ । संसारको जुन ठाउँमा भए पनि मतदाताले मतदान गर्न पाउनुपर्छ भन्ने मान्यतामा सबै एकमत भएको तर व्यवहारिक रुपमा कठिन भएको ओलीले बताए ।
ओलीले भने “छिमेकी दाजुभाइ छिमेकी दिदीबहिनाहरुलाई मारेर भोट जित्न खोज्ने प्रवृत्ति भएका ठाउँमा, यहाँ त्यस्तो धाँधली हुन्छ । विभिन्न देशमा विभिन्न प्रकारका भोटिङ सिस्टम छन् । त्यसमा गम्भीर कोइसनहरु उठेको छ । हामी कोइसन नउठ्ने गरी सबै नेपाली नागरिकहरु मतदाताहरु जहाँ छन् उनीहरुले मतदान गर्न पाउने तर त्यो मतदान फेक भोटिङ नहोस् ।”
फरक प्रसंगमा ओलीले बजेट निर्माणका बेला व्यापारीले करका दर परिवर्तन गर्दा आफ्नो मन पालेको बताए । सरकारबाट जनताले केही लाभ लिन नपाएको तर नपाउनुपर्नेले फाइदा लिएको ओलीको भनाई छ । आफू प्रधानमन्त्री हुँदा राष्ट्रको ढुकुटीमा पैसाको खाँचो नभएको तर अहिलेको सरकारले जे काम गर्न पनि पैसा छैन भन्ने गरेको ओलीले बताए । सरकारमा अलच्छिन पसेको ओलीको टिप्पणी छ ।
कार्यक्रममा बोल्दै ओलीले भने “म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको सुन्नुभयो ? यता पनि पैसा छ उता पनि पैसा छ । हुलाकी राजमार्ग बन्छ पैसा छ धरहरा बन्छ पैसा छ रानीपोखरी बन्छ पैसा छ दरबार हाइस्कुल बन्छ पैसा छ आर्मीको हेडक्वार्टर बन्छ पैसा छ । आर्मीको युनिभर्सिटी बन्छ पैसा छ । ३ सय ९६ वटा हस्पिटल मैले एकै ठाउँबाट शिलान्यास गरेँ । बजेट छुट्याएँ, निर्माणकार्य सुरु भयो पैसा छ । पैसा कहाँ जान्छ, अलच्छिना कहाँबाट पस्यो ? चिन्ता त्यो हो । पैसा कहाँ गयो ? कसरी हरायो त्यत्रो पैसा ?”
आफूले पार्टीमा परिवारवादलाई निरुत्साहित गरेको भन्दै उनले आफ्ना भाइ गाउँमा खेति किसानी गरेर बसिरहेको जानकारी दिएका छन् । त्यसैगरी ओलीले अहिलेको सरकारले लिपुलेक, लिम्पियाधुरा, कालापानीलाई समस्याको रुपमा चित्रित गर्नु गलत भएको टिप्पणी गरेका छन् । आफू प्रधानमन्त्री हुँदा ति भूभाग नेपालको हो भनेर संवादका लागि भारतलाई पत्राचार गरेको तर अहिलेको सरकारले कुनै पहल नगरेको आरोप लगाए ।