गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सवारी दुर्घटनामा परी ज्यान गुमाएका सहायक मतदान अधिकृत हृदयराम ढकालको परिवारलाई रु २० लाख बीमा भुक्तानी गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत निवासी ढकाल वीरेन्द्रनगर नगरपालिकामा कार्यरत कर्मचारी थिए । उनी हरि डिलभूमि माध्यमिक विद्यालयको मतदान केन्द्रमा सहायक मतदान अधिकृतका रूपमा खटिएका थिए । निर्वाचनको सिलसिलामा ढकालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो ।
निर्वाचन आयोगले राष्ट्रिय बिमा कम्पनीसँग स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारीहरूका लागि रु २० लाखको दुर्घटना बीमा सम्झौता गरेको थियो । सोहीअनुसार प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र राष्ट्रिय बिमा कम्पनी शाखा सुर्खेतले मङ्गलबार स्व. ढकालका परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो ।