प्रहरी विभिन्न स्थानबाट अवैध लागूऔषधसहित दश जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका– ३ नारायणगोपाल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । नियन्त्रित लागूऔषध ४७ एम्पुल नुर्फिन, ४७ एम्पुल डाइजेपाम, ४७ एम्पुल फेनारगन सहित काठमाडौं सुकेधारा बस्ने नवलपरासी तम्सारीया नगरपालिका–४ घर भएका २४ वर्षीय आशिक कुमालसहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ लु ४० प ४१५० नम्बरको मोटसाइकलमा भाग्ने क्रममा आफैं लडेपछि जाँच गर्दा उनीहरुलाई उक्त परिमाणको लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले कास्कीको पोखरा महानगरपालिका– १३ बाट नियन्त्रित लागूऔषधसहित ४० वर्षीय विकास गुरूङलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई २५ एम्पुल नुर्फिन, २५ एम्पुल डाईजेपाम, २५ एम्पुल फेनारगन सहित पक्राउ गरेको हो ।
लु ८७ प ७६४६ नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार विकासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका– ७ मनेहराबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित २२ वर्षीय नरेश थापा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सिरहाको लहान नगरपालिका– २० गोल्छारीबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल व्युप्रिनोर्फिन, ४७ एम्पुल फेनारगन, ४७ एम्पुल डाईडिल्याव र ६० ट्याब्लेट नाइट्रोभेट सहित ३४ वर्षीय अर्जुन कुमार महतो पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, सिरहाकै लहान नगरपालिका– ३ अस्पताल चोकबाट नियन्त्रित लागूऔषध ९ सय ९१ एम्पुल फेनारगन, ९ सय ९१ एम्पुल डाईजेपाम, ९ सय ९१ एम्पुल व्युप्रिनोर्फिनसहित ३० वर्षीय दिलिप साहसहित २ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पिरमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका ६ पोखरेखोलाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजासहित १८ वर्षीय किशोरसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, मकवानपुरको हेटौडा उपमहानगरपलिका– १६का ३९ वर्षीय सुभाष लामिछाने ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।