‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल गोमा सापकोटा सम्मानित भएकी छिन् ।
उनलाई शनिबार भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका-९ मा सम्मानित गरिएको छ । सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा २४९ पटक भुइमा नखसाई हानेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल भएकी थिइन् ।
उनलाई नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले एक कार्यक्रमका बीच सम्मान गरेकी हुन् । सापकोटाको जन्म पनौतीमा भएको भएतापनि उनी अहिले स्थाई रुपमा सूर्यविनायक नगरपालिका-९ मा बस्दै आएकी छिन् । यसैगरी, वडा नं. ८ बाट एसइई परीक्षामा उत्तीर्ण हुने ८९ जना विद्यार्थीहरुलाई पनि आजै सम्मान गरिएको वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।
यसैगरी आइतबार काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-१ वडा कार्यालयले सापकोटालाई सम्मान गरेको हो । सापकोटाको जन्म सोही वडाको र्याले भन्ने स्थानमा भएको थियो ।
उनले टेवुल टेनीस बलमा विश्व रेकर्ड कायम गरी गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल भएकी हुन् । आफ्नो वडाको वासिन्दाले गिनिज बुकमा नाम लेखाउन सफल भएकोमा उक्त वडाको गौरव स्वरुप उनलाई सम्मान गरिएको वडाअध्यक्ष जयकुमार तामाङले बताए ।