
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी सुरु गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको छ ।
चुनाव केन्द्रीत अभियानको लागि प्रत्येक जिल्लामा कांग्रेसका केन्द्रिय सदस्यहरु पठाउने तयारी गरेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए ।
२८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले साउन ३० र ३१ गते स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको काठमाडौंमा बृहत भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने बताए । पार्टीले यो दुई दिनमा जनप्रतिनिधिहरुलाई स्थानीय सरकार सञ्चालन गर्नेे बिषयमा तालिम दिनेछ ।
उनले भने “हामिले ३० र ३१ गते श्रावणमा देशभरका स्थानीय तहका साथिहरुलाई यहाँ बोलाउने छौं र भाद्र २ गतेदेखि २४ गतेसम्म नेपाली कांग्रेसका सबै केन्द्रीय साथिहरुलाई हामि जिल्लाजिल्ला पठाउँदैछौं ।”
गत स्थानीय निर्वाचनमा काँग्रेसले ३२९ प्रमुख र ३ सय उपप्रमुख पदमा जित हासिल गरेको थियो ।
कांग्रेसले आगामी निर्वाचनका लागि गठबन्धनभित्र सीटको बाँडफाँट कसरी गर्ने भन्नेबारेमा आन्तरिक छलफल पनि थालेको छ । कांग्रेस सभापति देउवाले सोमबार बिहान पूर्वपदाधिकारी तथा पधिकारीहरू सहितको बैठक बोलाएर छलफललाई अगाडी बढाएका छन् ।
बैठकमा आगामी निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँटको लागि गठित कार्यदलमा पार्टीको तर्फबाट सहभागी सदस्यहरुलाई विभिन्न सुझाव दिईएको थियो ।
कांग्रेसका शीर्ष नेताले कार्यदलमा रहेका सदस्यहरुलाई २०७४ को स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभामा दलहरूलाई प्राप्त मत र गत स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई आधार बनाउनुपर्ने सुझाव दिएका थिए ।
सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थिए, जसमा कांग्रेसबाट महामन्त्री गगन थापा, नेताहरू कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।