बानेश्वर घर भएकी रिताले (परिवर्तित नाम) १६ वर्षको उमेरमा विवाह गरिन् । ११ कक्षाको पढाई सुरु गर्ने बित्तिकै विवाह गरेकी उनले विवाह पछि नै स्नातकसम्मको अध्ययन गरिन् । पहिले पढाई र क्यारियरमा ध्यान दिने भन्दै उनीहरूले बच्चाको बारेमा सोचेनन् । पढाई सकेपछि उनले जागिर गर्न थालिन् । विवाहको आठ वर्षपछि उनीहरूले बच्चा जन्माउने योजना बनाए । दुई वर्षसम्म कोसिस गर्दा पनि उनीहरूको बच्चा भएन ।
घर परिवारको सल्लाह अनुसार उनीहरूले चिकित्सकसँग परीक्षण गराए, नेपालमा उपचार सम्भव नभएपछि उनीहरूले भारतमा गएर समेत उपचार गराए । त्यहाँ पनि उपचार सम्भव नभएपछि उनीहरूले धामी तथा माताकोमा समेत सल्लाह गर्न पुगे । विभिन्न भाकल तथा पूजापाठ गर्दा पनि बच्चा नभएपछि उनीहरूले भाइको छोरा (देवर) लाई आफ्नो सन्तान मानेर अगाडि बढे । उनीहरूको जीवन राम्रोसँग चलिरहेको थियो । शिक्षित र बुझ्ने परिवार भएकोले यो विषयमा कसैले केही भन्दैन थिए । रिता पनि बिहान बेलुका घरको काम गर्ने, दिउँसो अफिस जाने गर्थिन् । श्रीमान् श्रीमतीबिच पनि राम्रो सम्बन्ध थियो ।
तर २०७५ सालमा रिताको जीवनमा अन्धकार छायो । विवाह गरेको २७ वर्षपछि श्रीमानले आफूलाई सन्तानको चाहाना भएको बताए । रिताको उमेर पनि ४३ वर्ष पुगिसकेको थियो र मेडिकलले पनि उनी आमा बन्न नसक्ने प्रमाणित गरिसकेको थियो । उनले सरोगेसी मार्फत सन्तान जन्माउनको लागि श्रीमानलाई भनिन् । तर, श्रीमानको मनमा दया पलाएन । उनले आफूलाई सन्तान चाहिएको र त्यसको लागि अर्को विवाह गर्न लागेको भनेर बताएपछि रिता छाँगाबाट खसिन् । उनले रुँदै यो कुरा घरपरिवारलाई सुनाइन् । तर घरपरिवारले पनि, ‘हामीसँग नै सल्लाह गरेर उसले यस्तो कदम चालेको हो, उ पनि मानिस हो । उसलाई पनि सन्तानको चाहाना हुन्छ । कतिन्जेल तँ जस्ती बाँझी आइमालाई सम्हालेर बसोस््’ भनेपछि उनमा निराशा छायो ।
श्रीमानले अर्को विवाह गर्ने निर्णय गरेदेखि नै घरपरिवारमा किचलो सुरु भयो । हिजोसम्म माया गर्ने परिवार आज उनकै विरुद्धमा खनियो । सबै परिवारसँग नै बसे पनि उनले एक्लो महसुस गर्नु थालिन् । सधैँ समयमै घर आउने श्रीमान् पनि राती अबेर मात्र घर आउन थाले जसले गर्दा उनलाई मानसिक समस्याले गाँज्न थाल्यो । उनको साथी नै रक्सी र तास भयो । उनले काम छाडेर दिनभर साथीहरू रक्सी र तासमा रमाउन थालिन् । उनी पनि राती अबेर मात्र घर आउन थालिन् ।
श्रीमान् आफूसँग नबोल्ने, राती अबेर घर आउने, घरका सबै परिवार मिलेर गाली गलौच तथा हिंसा गर्न थालेपछि उनले आफ्नो माइतमा गएर दुखेसो पोखिन् । यता उनको श्रीमानले भने अर्को विवाह गरेर कोठा खोजेर कान्छी श्रीमती राखिसकेका थिए । कान्छी श्रीमतीबाट पहिलो सन्तानको रूपमा छोरा जन्मिएको कुरा रिताले थाहा पाइन् । उनले बहुविवाहको मुद्दा पनि दायर गर्न सकिनन् । अन्तिममा उनलाई केही पैसा दिएर सम्बन्ध विच्छेद गर्न बाध्य पारियो ।
उनी मात्र होइन, अन्जेस (नाम परिवर्तित) ले पनि अन्जना (नाम परिवर्तित) सँग सामाजिक परम्पराअनुसार मागी विवाह गरे । मागी विवाह भए पनि उनीहरूको जीवन राम्रोसँगै चलेको थियो । बुढा बुढी मिलेर दुःख सु:ख गरेर जीविकोपार्जन गरिरहेका थिए । एक छोरी भएसँगै परिवारमा आर्थिक अवस्थाको कारणले गर्दा उनीहरूले सल्लाह नै गरेर श्रीमान् वैदेशिक रोजगारीका लागि विदेश गए । विदेश गएको केही वर्ष श्रीमतीसँग राम्रै सम्बन्ध थियो । बिचमा विदेश आउने–जाने पनि गरे । समय बित्दै गयो ।
बिस्तारै श्रीमती श्रीमानसँग टाढा हुन थालिन् । दिनमा दुई पटक श्रीमानसँग बोल्ने श्रीमती एकाएक टाढा हुन थालेपछि विदेशमा रहेका श्रीमानको मनमा अनेक प्रश्नहरूले डेरा जमाउन थाल्यो ।
बिस्तारै दुबैबिच कुराकानी हुन छोड्यो । ०७७ सालमा विदेशबाट आएपछि छोरीसहित श्रीमती नभएपछि सम्पर्क गर्न थाले । माइतीमा रहेको जानकारी पाए लगत्तै लिन गए । तर, आउन मानिनन् । उनी आउन नमानेपछि उनले बुझ्दै जाँदा श्रीमतीको विवाहोत्तर सम्बन्ध रहेको पाए । त्यसपछि अन्जेसले अर्को विवाह गर्ने निश्चित गरेर विवाह गरे । पछि श्रीमतीको प्रेमीले धोका दिएपछि उनी घर न घाटको भएकी छिन् । श्रीमानले आफूसँग सम्बन्ध विच्छेद नगरी अर्को विवाह गरेको भनेर बहुविवाहको उजुरी हालेकी छिन् भने उनीहरूको मुद्दा अदालतमा चलिरहेको छ ।
यी दुई व्यक्ति त उदाहरण पात्र मात्र हुन् । विभिन्न मुद्दाहरू बाहिर आइरहँदा समाज कै विकासको अवरोधको रूपमा रहेको बहुविवाहको समस्या र कारण चाहेर पनि बाहिर आउन नसक्दा बहुविवाहले विकृतिको रूप लिएको छ ।नेपाल प्रहरीको डाटा हेर्दा पनि बहुविवाहको मुद्दा बढिरहेको छ ।वैदेशिक रोजगारमा पुरुषहरू खाडी मुलुक गएपछि महिलाहरू स्वतन्त्र हुन खोज्नु, गरिबी तथा अशिक्षाको कारण सानैमा छोरीको विवाह गरिनु, पतिपत्नीले एक अर्कालाई बुझ्न नसक्नु बहुविवाहको सङ्ख्या बढिरहेको छ । बहुविवाह कानुनी अपराध हो भन्ने चेतनाको कमी, वैदेशिक रोजगारी तथा घरेलु हिंसाको कारण यस्ता घटनाहरू समाजमा घट्ने गरेको पाइन्छ ।
बागलुङको जैमिनी नगरपालिका वडा नम्बर–९ का अध्यक्ष सन्दीप थापा (इन्द्र)ले घरमा पत्नी, छोराछोरी हुँदाहुँदै बहुविवाह गरेको खबर केही दिन अगाडि मात्र बाहिरिएको थियो । उनको चार वटा पत्नीमध्ये दुईले छाडेका थिए ।
बहुविवाह भनेको के हो ?
नेपालको कानुनले पहिलो पत्नीले अंशबन्डा गरी भिन्न नभएको अवस्था वा औपचारिक रूपमा सम्बन्ध विच्छेद भई नसकेको अवस्थामा पतिले अर्को विवाह गरेमा त्यो बहुविवाह हुन्छ । त्यस्तो विवाह स्वतः बदर हुन्छ । अर्थात् कानुनले बहुविवाहको कल्पना गरेको छैन ।
अपराध संहिताले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न नहुने, विवाहित पुरुष हो भन्ने जानीजानी महिलाले पनि त्यस्तो पुरुषसँग विवाह गर्न नहुने, यसरी विवाह गर्ने पुरुष वा महिलालाई एकदेखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँसम्म जरिवाना हुने र त्यस्तो विवाह स्वतः बदर हुने कानुनी व्यवस्था गरेको छ। तर, पति वा पत्नीले अंशबन्डा गरी भिन्न भएमा त्यस्तो पति वा पत्नीले पुनः विवाह गर्न पाउने छुट दिएको छ।
पाँच वर्षमा बहुविवाहका चार हजार उजुरी
बितेको पाँच आर्थिक वर्षमा झन्डै चार हजार बहुविवाहका मुद्दा प्रहरीमा आइपुगेका छन् । नेपाल प्रहरी मुख्यालयबाट केटिएम दैनिकले प्राप्त तथ्याङ्कमा आ.व ०७४/७४ देखि आ.व ०७८/७९ सम्ममा तीन हजार ९९८ वटा मुद्दा दर्ता भएको पाइएको छ ।
यो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने आ.व ०७५/७६ मा सर्वाधिक सङ्ख्यामा बहुविवाहका मुद्दा दर्ता भएको देखिन्छ । उक्त आवमा एक हजार एक वटा मुद्दा दर्ता भएका थिए । त्यसअगाडिको आवमा ६०२ वटा मुद्दा दर्ता भएको देखिन्छ ।
आ.व ०७६/७७ मा घटेर ७३४ पुगेकोमा आ.व २०७७/७८ पुन:बढेर ८५२ मुद्दा दर्ता भएका छन् भने आ.व ०७८/७९ पुन:घटेर ८०९ वटा मुद्दा दर्ता भएको देखिन्छ ।
प्रदेश १ अगाडि, गण्डकी प्रदेश पुच्छरमा
बहुविवाहका उजुरी पर्नेमा प्रदेश-१ सबैभन्दा अगाडि रहेको छ । यो अवधिमा उक्त प्रदेशमा ७६७ मुद्दा दर्ता भएका छन् भने लुम्बिनी प्रदेशमा ६४५ मुद्दा दर्ता भएका छन् ।
मधेस प्रदेश तेस्रो स्थानमा रहेको छ । उक्त प्रदेशमा ४८८ वटा मुद्दा दर्ता हुँदा काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक बागमती प्रदेशमा ४८१, उपत्यकाका तीन जिल्लामा ४५७ वटा उजुरी परेका छन् । त्यस्तै गरी कर्णाली प्रदेशमा ४०७, सुदूरपश्चिम प्रदेशमा ३७७ वटा र गण्डकी प्रदेशमा ३७६ वटा उजुरी परेका हुन् ।
कानुन बनाएर मात्र भएन त्यसलाई बुझाउन सक्नुपर्यो: रिता साह, लेखक तथा महिला अधिकारकर्मी
पहिलो कुरा बहुविवाह कानुनी रूपमा वर्जित छ भन्ने कुरा धेरैलाई थाहा छैन । म अध्ययनको क्रममा धेरै जिल्ला तथा गाउँहरू घुमे तर धेरैलाई यो बारेमा जानकारी नै नभएको पाए । २०७४ सालमा एक जना उपमेयरको उम्मेदवारले समेत बहुविवाहको बारेमा कानुन लाग्छ र भनेर सोध्नुभयो । उहाँ मात्र हैन, धेरै राजनीतिकर्मीहरूलाई समेत यो बारेमा थाहा छैन । हामीसँग थुप्रै कानुनहरू छ तर कानुनको बारेमा जानकारी धेरैलाई नै छैन । नेपालमा त महिलामैत्री कानुन छ तर महिलाहरूलाई नै यो बारेमा थाहा छैन । कानुन आफैँ घरघरमा पुग्दैन, आफैँ बोल्दैन । तसर्थ हामीले त्यसलाई बुझाउनु पर्छ ।
मधेस प्रदेशको कुरा गर्ने हो भने त्यहाँका ७० प्रतिशत व्यक्तिहरूले नेपाली बोल्न जान्दैनन्, बुझ्दैनन् । कति जना अशिक्षित हुन्छन् । पत्रपत्रिकासमेत पढ्न सक्दैनन् । तसर्थ हामीले मैथिली, भोजपुरीलगायत अन्य भाषामा सडक नाटकहरू गरेर, एफएममा विभिन्न भाषाहरूमा जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने हुन्छ । विभिन्न पोस्टरहरू बनाएर टाँस्न पनि सकिन्छ । तर त्यतातर्फ हाम्रो ध्यान जान सकेको छैन ।
बहुविवाहको मुद्दा दर्ता गर्न महिला नै जानुपर्ने हुन्छ । पीडित महिला आर्थिक रूपमा कति सक्षम छ ? उसले बहुविवाहको मुद्दा हाल्न कतिको सक्षम छ ? उसलाई माइतीले कति सपोर्ट गरेको छ ? उ आफ्नो घरमा बसेर उजुरी दिन सक्ने अवस्थामा पनि हुन्न । माइतीको समर्थन नपाउँदा उनीहरूले उजुरी नै गर्न सक्दैनन् । फेरि अहिले त अधिकांश घटनाहरू गाउँमा नै मिलाउने गरिन्छ । पञ्चायत तथा न्यायिक प्रणाली मार्फत नै यस्ता मुद्दाहरू मिलाइन्छ । त्यस कारणले पनि उजुरी पर्दैन । तसर्थ कानुन मात्र बनाएर हुँदैन त्यसलाई सबैलाई बुझाउनु पर्छ । नेपालको न्याय प्रणाली पनि एकदमै खर्चिलो छ । त्यहीँ भएर प्रहरी प्रशासन भन्दा पनि गाउँ घरमा नै मिलाएको पाइन्छ ।
वैदेशिक रोजगारीको कारण महिला पुरुष दुवै हिंसामा पर्ने गरेका छन् । वैदेशिक रोजगारीको कारणले पनि बहुविवाह मौलाएको छ । विवाह गरेर ५ वर्षसम्म श्रीमान् नआएपछि महिलाहरूले बहुविवाह गरेका केही उदाहरणहरू छन् । वैदेशिक रोजगारीले समाजमा पारेको असरको बारेमा समाज शास्त्रीय दृष्टिकोणले हेरेर अध्ययन अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
छिटै धनी हुने सपनाले बहुविवाह बढ्दो: गोपाल ढकाल, मनोविद्
बहुविवाहको मुद्दाहरू समाजमा धेरै नै छन् तर प्रहरी तथा अदालतसम्म एकदमै कम पुग्छ । यस्ता कुराहरू बाहिर ल्याउनु हुँदैन भन्ने हाम्रो सामाजिक मान्यता छ । मर्द हो ल्याइहाल्छ नि भन्ने कुराहरू पनि समाजमा भएका पाइन्छन् ।
यौनमा असन्तुष्टि, भावनात्मक सम्बन्ध, घरायसी झगडा ले गर्दा पनि बहुविवाह बढिरहेको छ । पुरूषप्रधान समाज भन्ने सोचाइ अझै पनि हाम्रो समाजमा छ । बाहिरी रूपमा लोभिएका कारण पनि श्रीमानले श्रीमतीलाई छाडेर हिँडेका उदाहरणहरू धेरै छन् । सम्बन्धमा आत्मीयता, विश्वास, यौन सन्तुष्टि, बफादारीता, इमानदारिता भयो भने श्रीमान्/श्रीमतीले दोस्रो विवाहको बारेमा सोच्न सक्दैनन् ।
बच्चा नजन्मेका कारण, छोरा नै चाहिन्छ भन्ने मानसिकता, भावनात्मक सम्बन्ध राम्रो भएन, पार्टनरसँगको असन्तुष्टि जस्ता सामाजिक कारणले पनि विवाहोत्तर सम्बन्धले ठाउँ पाएको पाइन्छ । विवाहजस्तो पवित्र सम्बन्धलाई पैसासँग जोड्ने गरेको परिपाटी पनि मौलाएको छ । धनी केटा देखे भने केटी पनि दोस्रो विवाह गर्न राजी हुने र केटीको धन देखेर पनि केटाले दोस्रो विवाह गरेका उदाहरणहरू समाजमा धेरै छन् ।