‘एन एप्पल इन अ डे, किप्स द् डक्टर अवे’ अङ्ग्रेजी भाषाको यो वाक्य नसुन्दै सायदै कोही होलान् । १९ औँ शताब्दीतिर स्याउको खपत बढाउनको लागि प्रयोग गरिएको यो वाक्य अहिले पनि त्यति नै चर्चित छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष ०७८/७९ मा नेपालीहरूले स्याउ किनेरै सात अर्ब भन्दा बढी रकम विदेश पुर्याएका छन् । तर उनीहरूको स्याउको लागि खर्च गरेको रकम भने त्योभन्दा बढी हुन्छ ।
माथिको तथ्याङ्क भन्सार विन्दुमा आयात गर्दाको हो । भन्सारबाट आयात गरिएको सामान विभिन्न चरणहरू पार गर्दै उपभोक्ताकोमा पुग्दा मूल्य दुई गुणा बढी हुन्छ ।
कुन आर्थिक वर्षमा कति
नेपालमा स्याउको लागि उपयुक्त जलवायु, प्रशस्त सम्भावना, पर्याप्त आन्तरिक बजार र मानव श्रम हुँदा हुँदै पनि स्याउको उत्पादन अपेक्षा अनुसार वृद्धि हुन सकेको छैन । उपभोक्ताको बढ्दो मागको तुलनामा स्वदेशी उत्पादन कम रहेकोले ठुलो मात्रामा विदेशी उत्पादनले बजार ओगटेको छ।
हामीले आर्थिक वर्ष ०७०/७१ देखि आ.व ०७८/७९ सम्म स्याउको आयात भएको तथ्याङ्क हेरेका छौँ । योभन्दा अगाडि पनि नेपालमा स्याउ आयात नहुने होइन तर भन्सार विभागले अगाडिका आ.व मा राखेका तथ्याङ्कहरू भने सम्पादन गर्न नसकिने खालका छन् ।
०७१/७२ सम्म वार्षिक झण्डै दुई अर्बमा सीमित रहेको स्याउको आयात अघिल्लो आ.व देखि सात अर्ब नाघ्न थालेको छ ।
आ.व.०७०/७१ को तथ्याङ्क अनुसार करिब एक अर्ब ९२ करोड ३६ लाख रुपैयाँका ५६ हजार ४४७ मेट्रिक टन स्याउ विदेशबाट आयात भएको थियो । बर्षेनी आयातको क्रम बढ्दै गएर आ.व. ०७४/७५ मा कूल ९३ हजार ४८२.६ मे टन स्याउ नेपाल भित्रिएको थियो जसको मूल्य ५ अर्ब ६३ करोडको रहेको थियो । आ.व. ०७५/७६ भने अघिल्लो वर्षको तुलनामा केही कम ४ अर्ब ९३ करोड बराबरको ७३ हजार २३१ मे टन स्याउ आयात भएको थियो ।
आ.व ०७७/७८ मा ७ अर्ब ५ करोड मूल्यको ८९ हजार ०७८.०७ मे टन आयात भएकोमा 0७८/७९ मा ९३ हजार ४८२.६१ मे टन आयात गर्दा सात अर्ब १५ करोड ८८ लाख रुपैयाँ विदेश पुगेको छ ।
नेपालमा सबैभन्दा बढी स्याउ चीनबाट र त्यसपछि भारत, न्यूजिल्याण्ड र अमेरिका इन्डोनेसिया लगायतका मुलुकबाट आयात हुने गर्दछ ।
तथ्याङ्क केलाउने हो भने नेपालबाट पनि थोरै परिमाणमा विदेशमा स्याउको निर्यात भएको देखिन्छ । आ.व. ०७०/७१ को तथ्याङ्क अनुसार करिब ८ लाख ३२ हजार रुपैयाँका २२.९ मे टन स्याउ विदेशमा निर्यात भएको थियो। त्यसपछिका वर्षहरूमा स्याउको निर्यात घट्दै गएर आ.व ०७५/७६ मा भने निर्यात शून्य रहेको छ।
नेपालमा स्याउको इतिहास
नेपालमा स्याउको इतिहास खोज्ने हो भने सन् १९३७ मा श्री ३ चन्द्र शम्सेरको पालामा जापान र इटालीबाट स्याउका केही बोटहरू ल्याएर छाउनी, बालाजु र गोदाबरीमा लगाइएको भेटिन्छ ।
फलफूल प्रति आम नेपालीहरूको बढ्दो चाहना तथा जनसङ्ख्या वृद्धि र क्रय शक्तिका कारण वर्षेनी स्याउको माग बढ्दो छ । यसैलाई दृष्टिगत गर्दै सरकारले नेपालमा व्यावसायिक स्याउ खेतीको लागि प्राथमिकता दिएता पनि नेपालमा उत्पादकत्व बढ्न सकेको छैन भने विदेशबाट आयात हुने स्याउको परिमाण वर्षेनी उकालो लागेको छ ।
तराईमा स्याउ : सुनसरीमा स्याउको बोट रोप्ने लहर, बोटभरि फल लागेपछि हौसिए किसान
सुनसरीमा पछिल्लो समय स्याउको व्यावसायिक खेती गर्छु भन्ने किसानको सङ्ख्या बढ्न...
बुधवार, साउन ६ २०७८राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरले २०७८ मा प्रकाशित गरेको फलफूल सम्बन्धी राष्ट्रिय तथ्याङ्कका अनुसार नेपालको बाजुरा, बझाङ, जुम्ला, कालिकोट, हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ र रुकुम पूर्वमा उपयुक्त हावापानी र पर्याप्त उत्पादन सम्भाव्यता भएकाले स्याउ खेती व्यावसायिक रूपमा भइरहेको उल्लेख गरिएको छ तर विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालमा ४५ हजार टन भन्दा बढी स्याउ उत्पादन भएको देखिँदैन । जबकि विदेशबाट नेपालमा आयात भएको स्याउको परिमाण ९० हजार टन भन्दा माथि छ ।
कालीमाटीमा कति छ मूल्य
विभागको तथ्याङ्कले आ.व. ०७८/७९ मा स्याउ प्रतिकिलो रु ८२.४८ मा आयात भएको देखिन्छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा २०७८ साउन १ देखि २०७९ असार मसान्त सम्मको स्याउको मूल्य हेर्ने हो भने आयात गरिएकोभन्दा दोब्बरमा बिक्री भएको देखिन्छ । झन् उपभोक्ताकोमा पुग्दा उक्त मूल्य झन् बढी हुन्छ ।
कालीमाटी फलफूल बजारमा राखिएका कृषि उपजमा दुई प्रकारका स्याउ छन् । फूजि स्याउको मूल्य प्रतिकेजी औसतमा २८० देखि ३०० रुपैयाँ छ । २०७८ असोज ४ मा प्रतिकिलो रु १९५ मा विक्री भएको फूजी स्याउ असोज २९ मा प्रतिकिलो रु ३३३.३३ पुगेको देखिन्छ ।
झोले स्याउको मूल्य न्यूनतम प्रतिकेजी र ११५ र अधिकतम प्रतिकेजी २४० पुगेको पाइन्छ । असोज ३१ मा ११५ रुपैयाँमा विक्री भएको उक्त स्याउ, मङ्सिर ७, २१ र चैत १६ मा प्रतिकिलो २४० रुपैयाँ पुगेको छ ।