वर्तमान नेपालको राजनीतिक अवस्थाले केही गम्भीर प्रश्नहरू खडा गरेको छ । ती केही महत्त्वपूर्ण प्रश्न हरूलाई निम्नानुसार चर्चा गर्न सकिन्छ ।
राजनीतिक अवस्था
राजनीति भनेको कुनै पनि सार्वभौम मुलुकको मूल नीतिका रूपमा लिइन्छ । यो नीति नै राज्यको मूल नीति हो भनेर भनिन्छ । नेपालको सन्दर्भका यस माथि विमर्श गर्ने हो भने केही महत्त्वपूर्ण प्रश्नहरू जन्मिएका छन् ।
अहिलेको अवस्थामा राजनीतिक दलहरू जनताबाट टाढा हुँदै गइरहेको अवस्था छ, दलहरू विचार, विधि, पद्धतिलाई, पाखा लगाउँदै व्यक्तिगत स्वार्थमा रुमलिएका छन्, गुट, टुट र फुट को अन्तर्घाती नियम लिएर एकले अर्कालाई सिद्धाउने खेलमा छन् ।
यस्ता खालका प्रवृत्ति नेपाली राजनीतिको मूख्य केन्द्रमा रहेका कारण अब मुलुक मा के हुन्छ ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हुनसक्छ । अत्यन्तै महँगो चुनावी प्रणाली, समानुपातिक निर्वाचनमा र राज्य शक्तिमा नातावाद कृपावादले गाँजेको नेपाली राजनीतिलाई सही ठाउँमा लैजान के गर्ने ?
यस्ता प्रश्नहरूले राजनीतिमा रुची राख्ने व्यक्तिहरूलाई झक्झकाइरहन्छ। त्यसैले उनीहरूले विकल्प खोज्ने प्रयास गरिरहेको पनि यदाकदा देखिन्छ, सुनिन्छ ।
आर्थिक अवस्था ?
कुनै पनि मुलुकलाई समृद्धि को पथमा लम्काउने शक्ति नै अर्थतन्त्र हो । वर्तमान नेपाली अर्थतन्त्रको अवस्था कस्तो छ भन्यो कुरा भनी राख्नु पर्ला जस्तो छैन सबै कुरा प्रस्टै छ । १८ खर्व वैदेशिक ऋण छ, आयात दोब्बर हुदैछ, देशको स्रोत साधना बेवारिसे छन्, बेरोजगार बढ्दै गएको छ ।
केहीले भने नेपाल श्रीलङ्काको अवस्थामा पुग्न लागेको अभिव्यक्ति समेत दिइरहेका छन् । तर अर्थविद्हरू भने त्यसमा सहमत छैनन् । आर्थिक वर्षमा ०७८/०७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष १३ खर्ब ९८ अर्ब ७१ करोडले व्यापार घाटा भएको थियो ।
यसरी व्यापार घाटा दिनानुदिन बढ्दै गइरहेको अवस्था छ ।भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने विश्वका १६४ देशबाट नेपालले विभिन्न वस्तु तथा सामाग्री आयात गरेको देखिन्छ । निर्यातमा कमजोर र आयातमा पुरै परनिर्भर अर्थतन्त्र भएको देश कदापि विकासमा अगाडि लम्कन सक्दैन भनेर अर्थविदहरुले भनिरहेकै छन् ।
भू-राजनीतिक अवस्था ?
दुई शक्ति उन्मुख राष्ट्रको बिचमा नेपाल ले आफ्नो अस्तित्व खोज्नु भाग्य र दुर्भाग्य दुवै हुन सक्छ । नेपालको वर्तमान अवस्थाको भू-राजनीतिक अवस्था पनि निकै संवेदनशील अवस्थामा छ भन्न सकिन्छ ।
चीन र भारत लाई मित्रराष्ट्र मान्ने नेपाल पछिल्लो समय अमेरिकासँग नजिक हुँदै जानुले पक्कै पनि कूटनीतिक रूपमा प्रश्नहरू जन्मिएका छन् । एम.सी.सी, एस.पी.पी हुँदै नागरिकता विधेयक सम्म आउँदा र बिदेशी कूटनीतिज्ञहरूको दौडधुप देख्दा पक्कै पनि केही खिचडीको जोहो हुँदै छ भन्ने अनुमान लगाउन गाह्रो छैन ।
पछिल्लो समय देखिएका चम्चा प्रवृत्तिले नेपाली कूटनीतिलाई सही ठाउँमा लिन सक्दैन भन्ने अभिव्यक्तिहरू पनि आइरहेका छन् । यस कारण हामीले प्रस्ट रूपमा संविधानमा उल्लेखित पञ्चशीलमा आधारित परराष्ट्रनीति लाई अपनाउनु नै उत्तम हुन्छ ।
निष्कर्ष
समग्ररूपमा मुलुकको प्रणाली माथि नै प्रश्नहरू जन्मेका छन् । ती प्रश्नहरूको सही उत्तर जनताले खोजीरहेका छन् । एक दुई ठाउँमा केही स्वतन्त्र व्यक्ति ले चुनाव जित्दैमा मुलुकका यी तमाम समस्या समाधान हुन नसक्ने अवस्था छ । यसैले मुलुकका यी तमाम समस्याको समाधान गर्ने मुख्य माध्यम सही राजनीतिक नेतृत्व हो र सही राजनीतिक नेतृत्वका लागि सही राजनीतिक प्रणाली चाहिन्छ ।