सरकारले मंसिर ४ गते एकैपटक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरेको छ । अघिल्लो पटक दुई चरणमा सम्पन्न भएको संघीय निर्वाचन यसपटक भने एकैचरणमा गरिने भएको हो ।
देशभर रहेका ७७ जिल्लामा १६५ निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित भएर प्रत्यक्षतर्फबाट सङ्घीय सदनको सांसद बन्छन् । त्यस्तै समानुपातिक तर्फबाट ११० सांसद चयन भएर प्रतिनिधिसभामा कूल २७५ सांसद हुन्छन् ।
आज हामी अघिल्लो पटकको प्रतिनिधि सभा निर्वाचनमा एक हजार भन्दा कम मत ल्याएर विजयी भएकाहरूको बारेमा जानकारी दिनेछौं ।
एक हजार भन्दा कम मतान्तरले विजयी भएका सासंदहरूको सङ्ख्या १३ रहेको छ । धेरै मतान्तर कायम भएर विजयी हुनेहरूमा जस्तै कम मतान्तर कायम गरेर विजयी हुनेहरूमा पनि नेकपा एमाले नै अगाडि छ । १३ सासंदमध्ये नेकपा एमालेका ६ जना, नेपाली कांग्रेसका ४ जना, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र स्वतन्त्रबाट १/१ जना निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित डा. शेखर कोइराला, केही समयअघि विवेकशील साझा पार्टीबाट राजीनामा दिएका रविन्द्र मिश्र, स्व. नविन्द्र राज जोशी, वामदेव गौतम, रमेश लेखक केही चर्चित अनुहारहरू हुन् जो २०७४ सालको अघिल्लो प्रतिनिधि सभा निर्वाचितमा एक हजार भन्दा कम मतान्तरले पराजित भए ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र, कुन जिल्लामा कति
स्थानीय तह निर्वाचन सकिएसँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि...
शनिवार, असार १८ २०७९हुम्लाबाट स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ४७ मतको अन्तरले निर्वाचित भए । उनी निर्वाचित हुने एकमात्र स्वतन्त्र उम्मेदवार हुन् भने १०० भन्दा कम मतान्तरले निर्वाचित हुने लामामात्रै एक्ला उम्मेदवार हुन् । उनले ८,४९१ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका मङगल बहादुर शाहीले ८,४४४ भोट पाए ।
दोस्रो स्थानमा छन् कञ्चनपुर क्षेत्र नम्बर ३ का दीपक प्रकाश भट्ट । एमालेका भट्ट २५८ मतान्तरले विजयी भएका हुन् । भट्टले २६,३६४ मत पाउँदा निकटतम् प्रतिस्पर्धी कांग्रेसका रमेश लेखकले २६,१०६ मत पाएका थिए ।
मनाङमा एमालेका पोल्देन छोपाङ गुरुङले कांग्रेसका नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । पोल्देनले २,३०० मतका साथ विजय सुरक्षित गर्दा कांग्रेसका टेकबहादुर २,०२१ मतमा रोकिए । कम मतान्तरले विजयी हुनेमा उनी तेस्रो नम्बरमा पर्दछन् ।
सुनसरीको क्षेत्र नम्बरमा ३ मा नेपाली कांग्रेसका विजय कुमार गच्छदारले एमालेकी भगवती चौधरीलाई ३२१ मतान्तरले पराजित गर्दै निर्वाचित भए । गच्छदार ३८,९७२ मतका साथ विजयी हुँदा चौधरीले ३८,६५१ मत पाइन् ।
मुस्ताङमा एमालेका प्रेम प्रसाद तुलाचनले कांग्रेसका रोमी गौचन थकालीलाई ३६३ मतले पराजित गरे । तुलाचन ३,५४४ मतका साथ निर्वाचित हुँदा थकालीले ३,१८१ मत पाए । कम मतान्तरले निर्वाचित हुनेमा तुलाचन पाँचौँ नम्बरमा पर्दछन् ।
काठमाडौं क्षेत्र नम्बरमा ८ मा नेकपा एमालेबाट निर्वाचित भएका जीवन राम श्रेष्ठ नेकपा एमालेबाट छुट्टिएर बनेको दल नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरे । प्रेम आलेको पछि अहिले उनी पर्यटन नागरिक तथा उड्डयन मन्त्री समेत भएका छन् । उनी १३,३९७ मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका नविन्द्र राज जोशीले १२,९५३ मत पाए । उनीहरूबीच ४४४ मतको अन्तर थियो । मष्तिष्कघात भएर नर्भिक अस्पतालमा उपचार गराउँदै गर्दा जोशीको २०७७ साल चैत १३ गते बेलुका निधन भएको हो ।
जोशीको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली, अस्पताल कोही टेकेनन्
मष्तिष्कघात भएर अस्पतालमा उपचार गराइरहेका नेपाली काँग्रेसका नेता नवीन्द्र...
शुक्रवार, चैत १३ २०७७अहिलेका परराष्ट्रमन्त्री डा. नारायण खड्का पनि एक हजार भन्दा कम मतान्तरले विजयी हुनेमा पर्दछन् । उदयपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका खड्का ३३,१४२ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मन्जु कुमारी चौधरीले ३२,५९४ मत पाइन् । खड्का ५४८ मतान्तरले विजयी भएका हुन् ।
राष्ट्रिय जनता पार्टीबाट सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रमोद साह ५७१ मतान्तरका साथ निर्वाचित भए । उनी २२,०३६ मत का साथ विजयी हुँदा दोस्रो स्थानमा रहेका एमालेका ध्रुव प्रसाद गौतमले २१,४६५ मत ल्याउन सफल भए ।
धादिङ्गको क्षेत्र नम्बर २ मा एमालेका खेम प्रसाद लोहनीले कांग्रेसका दिलमान पाख्रिनलाई ६४० मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए भने मोरङको क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पंण्डितले कांग्रेसका डा. शेखर कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए ।
तत्कालिन नेकपा एमालेमा रहेका वामदेव गौतम बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका संजय कुमार गौतमसँग पराजित भएका थिए । अहिले वामदेवले नयाँ पार्टी गठनको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
संजय कुमार गौतम ४४,८२९ मतका साथ निर्वाचित हुँदा वामदेव गौतम ४४,०७६ मतमै रोकिएका थिए । प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका वामदेव गौतमलाई २०७७ साल असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको थियो । उक्त समयमा उनी एमालेका उपाध्यक्ष थिए । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट खाली थियो । उक्त खाली सिटमा गौतम मनोनित भएका हुन् ।
स्थानीय तह निर्वाचनपछि अनेपक्षित नतिजा नआएको भन्दै पार्टीबाट राजीनामा दिएका पूर्वसञ्चारकर्मी रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहसँग झिनो मतान्तरले पराजित भएका हुन् । सिंहले १०,९३६ मत ल्याउँदा मिश्रको मत १०,११८ थियो । सिंह ८१८ मतान्तरले विजयी भएका हुन् ।
एक हजार भन्दा कम मतान्तरले विजयी हुनेमा माओवादी केन्द्रका चक्रपाणी खनाल पनि हुन् । उनले ९४६ मतान्तरले कांग्रेसका दीप कुमार उपाध्यायलाई पराजित गरेका हुन् । निर्वाचित खनालले २९,७९९ मत पाउँदा उपाध्यायको मत २८,८५३ थियो ।