साउन १३ गते पोखरा महानगरपालिकाको निमन्त्रणामा मुलुकका ६ वटै महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र उनीहरूको टिम पोखरा पुगेको थियो । उक्त सम्मेलनको एउटा भिडिओ टिकटकमा निकै भाइरल भयो ।
आयोजकले काठमाडौँ महानगरको मेयर बालेन्द्र शाह (बालेन) लाई ढाका टोपी लगाइदिन खोज्छन् तर उनलाई उक्त टोपी सानो हुन्छ ।
आयोजकले पुनः अर्को टोपी लगाइदिन खोज्दा पनि सानो हुन्छ । टिकटकमा भाइरल भएको उक्त भिडिओमा बालेनको अपमान गरिएको भनेर राखिएको छ । तर, कमेन्टहरू भने नजिकै उभिएकी भरतपुर महानगरकी मेयर रेणु दाहालको विरुद्धमा आएका छन् ।
उक्त भिडिओमा रेणुलाई गरिएका गालीहरू स्त्री द्वेष झल्काउने खालका छन् । उक्त पोस्टमा अपमानजनक र घृणायुक्त भनाई, लज्जित बनाउने, प्रतिष्ठामा आँच आउने, यौनिक विरुपण, क्षमताको अवमूल्यन साथै माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डको नाम लिएर गाली गरिएका छन् ।
बढ्दो प्रविधिको प्रयोगले अनलाइन हिंसाका घटनाहरू धेरै नै हुने गरेका छन् । विशेष गरी राजनीतिमा लागेका महिलाहरू, कलाकारहरू, पत्रकार तथा सामाजिक रूपमा अब्बल महिलाहरूलाई बढी नै प्रहार गर्ने गरिन्छ । स्त्री द्वेष झल्काउने र महिलाको भूमिकाका बारेमा लैङ्गिक पूर्वाग्रहहरू दर्साउने कथनहरूले सामाजिक सञ्जालका कमेन्टहरू भरिन्छन् । यस प्रकारका दुष्प्रचार तत्काल राजनीतिक लाभका लागि महिला राजनीतिज्ञहरूको छविप्रतिको सर्वसाधारणहरूको बुझाइलाई परिवर्तन गर्न र राजनीतिक क्षेत्रमा लाग्न खोज्ने महिलाहरूलाई निरुत्साहित गर्ने उद्देश्यले गरिएका हुन्छन् ।
शनिवार ‘बब्लु गुप्ता’ को समूहले राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको घर घेर्न जाने भन्दै म्यासेज आदानप्रदान गरे । त्यो म्यासेज मेरो मोबाइलमा पनि आइपुगेपछि म छक्क परे । मैले गुगल गरे, यो भन्दा अगाडि पनि ‘तँ भ्रष्ट्राचारी होस’ भन्दै घर घेराउ गर्न गएका थिए र ?
विशेष अदालतले भ्रष्टाचारी किटान गरेका अरबौँ – खरबौँ का भ्रष्टाचारी को घर घेर्न कहिले नगएको समूह एउटा संवैधानिक आयोगको अध्यक्षको घर घेर्न किन जान लागेछन् भनेर मनमा अनेकौँ प्रश्नहरू तेर्सिए र म पनि क्यामरा र प्रेस कार्ड झुन्डाएर अध्यक्षको घरतिर लागे ।
मैले कहिले नदेखेका युवाहरूको जमात देखे, उनीहरू मध्ये केही त बोल्न सक्ने आँट भए झैँ पनि लागेन । उनीहरूको कुरा सुनेपछि मैले प्रश्न गरे, ‘अदालतमा विचाराधीन रहेको मुद्दाको विषयमा यसरी बोल्न पाइन्छ? एउटा महिलाको घरमा आएर यसरी नारा जुलुस गर्ने अधिकार कसले दियो ?
हामी बाहेक अर्को व्यक्ति पनि क्यामेरा लिएर आएका थिए । उनले खिचेको भिडिओ युट्युबमा अन्टसन्ट शीर्षक हालेर अपलोड गरेछन् । त्यो भिडिओमा कमला पराजुलीको लागि आएका कमेन्ट पढ्न नसकिने खालका थिए ।
त्यो कमेन्ट आफन्त र छोराछोरीले पढ्दा कस्तो महसुस होला ? हाम्रो मानसिकता नै कसैलाई गाली गर्न पाए ठुलो मान्छे भइन्छ जस्तै भइसकेको छ । पितृसत्तात्मक सोच भएको कारणले गर्दा पनि महिलाहरूले अनेकौँ समस्याहरू झेल्दै आउनु परेको छ । अहिले त झन् यो अनलाइन हिंसाले पनि मुस्किल बनाउँदै लगेको छ ।
साउन १३ गते शुक्रवार पानोस साउथ एसियाले ललितपुरमा कार्यक्रम गर्दै ‘नेपालमा महिला राजनीतिकर्मी माथि अनलाइनमा हुने हिंसा र त्यसको पहिचान र निवारणका लागि हाते पुस्तिका’ सार्वजनिक गर्यो । उक्त कार्यक्रममा आएका वक्ताहरू सांसद डा. डिला सङ्ग्रौला, बिन्दा पाण्डे, विद्या भट्टराईले पनि आफूले भोग्नु परेका समस्याहरूको बारेमा खुलेर बोलेका थिए । उनीहरूका कुरा सुन्दा यस्तो लाग्थ्यो कि मानिसहरूको सोच अझैँ पनि छोरी बुहारी चुलो चौकामै सीमित हुनुपर्छ भन्ने छ ।
कार्यक्रममा बोल्दै सांसद सङ्ग्रौलाले आफूहरू माथि हुने अनलाइन हिंसाले मानसिक तनाव हुने बताइन् । वास्ता नै गर्दिन भन्दा भन्दै पनि मानसिक रूपमा विक्षिप्त भइने रहेछ । हामी त केही बोल्नै हुन्न, सबै हामी माथि नै खनिन्छन्, उनले भनिन् ।
‘प्रतिपक्षी दल एमालेले आज महँगी र भ्रष्ट्राचार विरोधमा, विरोध प्रदर्शन गरेछ। आफ्नो सरकार हुँदा गरेको भ्रष्ट्राचार काण्डै काण्ड नालीबेली को बारेमा पनि मुख खोल्नेकी ? जस्तो आफू उस्तै घोडाको टापु भने जस्तै: नहोस् !!’ यो हो नेतृ सङ्ग्रौलाले सोमबार गरेको पोस्ट । आज बिहीबारसम्म पनि उनलाई गाली गर्ने क्रम रोकिएको छैन । १५९ वटा कमेन्ट मध्येमा अधिकांशले उनलाई गाली नै गरेको देखिन्छ ।
एमाले नेतृ विद्या भट्टराई पनि यस्ता गालीबाट अछुतो हुन सकेकी छैनन् । उनको पनि सामाजिक सञ्जालमा अनेकन् ट्रोल र चरित्रहत्या गर्ने प्रयास गरिन्छ । अझ स्व. रबिन्द्र अधिकारीको कारणले गर्दा राजनीतिमा आएकी वा एकल महिला भनेर गरिने गालीहरू उनले स्विकार्नु परेको छ ।
नेपालमा महिलाहरूले ऐतिहासिक रूपमा असमानता, लैङ्गिक विभेद र असमावेशी राजनीति जस्ता सामाजिक राजनीतिक समस्या भोग्नु परेको छ। महिलाहरूलाई आफ्ना आवाज उठाउन सामाजिक सञ्जाल एउटा महत्त्वपूर्ण मञ्च भएता पनि महिलामाथि हिंसा, उत्पीडन र घृणास्पद अभिव्यक्ति फैलाउने जस्ता दुर्व्यवहारका घटना पनि उत्तिकै वृद्धि भइरहेको पानोस साउथ एसियाले सन् २०२१ नोभेम्बरदेखि अनलाइनमा हुने लैङ्गिक हिंसासम्बन्धी गरेको अध्ययनको निष्कर्ष रहेको छ ।
यस्तै सांसद तथा एमाले नेतृ बिन्दा पाण्डे पनि अनलाइन हिंसाबाट आफू आजित भएको बताउँछिन् । अहिले त उनले सामाजिक सञ्जाल पनि एकदमै कम चलाउँछिन् । उनले दिक्क मान्दै भनिन्, ‘अब त हारिसके, मनलाई जति नै दह्रो बनाउँछु भन्दा पनि नसकिने रहेछ ।’
महिलाहरूले अफलाइनमा भाग्ने हिंसाका घटना सामाजिक सञ्जालमा पनि प्रतिबिम्बित भएका छन्। चुनावको समयमा महिला राजनीतिज्ञ, उम्मेदवार, कार्यकर्ताहरू लक्षित घृणास्पद अभिव्यक्ति र लैङ्गिक रूपमा अ संवेदनशील टिप्पणीहरू र पोस्टहरू सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलाइन्छ। चुनावको समयमा इन्टरनेटमा महिला राजनीतिकर्मी र कार्यकर्ताहरूका बारेमा गलत सामग्री फैलाउने र दुष्प्रचार गर्ने जस्ता गतिविधिले उनीहरूमाथि थप चुनौती खडा गरेको छ।
पानोस साउथ एसियाले गरेको अध्ययनमा महिला राजनीतिकर्मीहरूलाई गरिने नकारात्मक कमेन्टहरूलाई प्राथमिकता दिइएको छ । महिला राजनीतिकर्मी तथा उच्च ओहोदामा पुगेका महिलाहरूलाई पोथी बासेको सुहाउँदैन, डायन, पागल्नी आइमाई, बौलाही, चरित्रहीन, खातेनी, नकच्चरी, नखरमाउली, वेश्या, डलरे, चुरीफुरी गर्ने, गुण्डिनी, चोथाली लगायतका शब्दहरू बढी प्रयोग गर्ने गरिएको देखिएको छ।
यस्तै घाँटी काट्छु, पहिलो ढुङ्गा मेरो खान्छस्, तेरो पनि बलात्कार गर्छन्, टाउको काँटिदिदाँ थाहा होला लगायतका शब्दहरूले पनि गाली गर्ने गरेको अध्ययनले देखाएको छ ।
चरित्रवान् हुनलाई वर्षौँ लाग्छ, टुट्नको लागि एक सेकेन्ड पनि लाग्दैन । त्यसको लागि सानो अपशब्द भए पुग्छ, ठुलै गल्ती गर्नु जरुरी हुँदैन । यस्ता लाञ्छना, सिकार प्रायःजस्तो महिला राजनीतिकर्मीमा पनि हुने गरेका छन् ।
महिलाको चरित्रलाई समाजले सधैँ तराजुमा जोखिराखेको हुन्छ । महिलाको बौद्धिकता पेसाभन्दा पनि महिलाको घरायसी भूमिका र आचरणलाई उसको पहिचान मान्दै आएको छ । कसैलाई प्रतिस्पर्धामा दबाब अनुभव हुन थाल्यो भने महिलाको क्षमता, काम र प्रमाणपत्रमा प्रश्न गर्दा प्रमाण पेस गर्नुपर्ने तर चरित्रसँग जोडिदियो भने प्रमाण पेस गर्न नपर्ने कारण हराउनको लागि अन्तिम अस्त्रको रूपमा चरित्र जोड्ने गर्छन् । जसले गर्दा महिलाहरू ठुलो पदमा पुग्न पनि डराउनु पर्ने अवस्था छ ।
कसैको चरित्रमा नभएका कुरा जोडेर धावा बोल्दा बोल्नेको इज्जत जान्नुपर्ने र आरोप लगाउनेलाई कारबाही गर्ने संयन्त्र दरिलो बनाउनु पर्छ । नेपालको कानुनमा कसैलाई होच्याउने नियतले बोली वा बचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिन्छ र गाली गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । मुलुकी अपराध संहिता, २०७४, दफा ३०५ अनुसार गाली गर्न नहुने भन्ने उल्लेख छ ।
प्रविधिमा भएको प्रगतिले महिलाहरूका लागि जोखिम बढाएको छ, चाहे त्यो ट्रोलिङ होस् वा तिनीहरूको व्यक्तिगत विवरणहरू खुलासा गर्ने, निगरानी क्यामेराहरू राख्ने जस्ता उदाहरणहरू व्याप्त छन् । तर कारबाहीमा परेका उदाहरणहरू भने एकदमै कम नै छन् ।