सप्तकोसी नदीको नेपाली भू-भागमा गर्नुपर्ने काममा भारतीय अधिकारीहरूले बेवास्ता गर्दा सयौं परिवार विस्थापित हुने गरेका छन्।
स्थानीयको माग अनुसार परियोजनाका भारतीय अधिकारीहरूले मर्मत र सम्भारको काम नगर्दा सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका सयौं घरपरिवार विस्थापित भएका हुन्।
स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन्।
सप्तकोसी नदीले धार बदल्दै पश्चिमतर्फ कटान सुरू गर्दा उदयपुर बेलका नगरपालिकाका २० हजार जनता जोखिममा परेका छन्। वेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार मंगलबार राति सप्तकोसी नदीले पश्चिमतर्फ कटान सुरू गरेको हो।
उनका अनुसार वेलका नगरपालिका-१,२,३,८ र ९ नम्बर वडामा सप्तकोसीको भंगालो छ। ‘पहिले सप्तकोसी पूर्वतर्फ बगेको थियो, पश्चिमतर्फ डिपोजिट रहेको बालुवा, माटो कटान गर्दै नदी बस्तीमा पसेको हो,’ कार्कीले भने, ‘वेलकामा अहिले निकै ठूलो संकट आइपरेको छ।’
यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका-९ र ६ नम्बर वडामा पनि सप्तकोसी बगिरहेको छ। ‘पूरै नदी अहिले बस्तीमा छ,’ कार्कीले भने, ‘यहाँ २६ सय घरधुरी छन्, २० हजार मानिसलाई तुरुन्तै सार्नुपरेको छ।’
सुरक्षाकर्मीले अहिले प्लाष्टिकका बोटहरूको सहायतामा मानिसहरूको उद्धार थालेका छन्। ‘बस्तीका केही मानिसलाई सुरक्षित स्थानमा सारियो, आज दिनभरिमा सबै जनालाई उद्धार गर्ने योजना हाम्रो छ,’ उनले भने।
कटान तथा डुबान क्षेत्रमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री केदार कार्की पुगेका छन्। उनले राहत तथा उद्धारमा जुट्न जनशक्ति परिचालन गरिसकिएको बताएका छन्।
सप्तकोसीको भंगालो पश्चिमतर्फ सोझिएको छ, जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सार्ने काम हुँदैछ। केही सर्न मान्नुभएको छैन,’ कार्कीले भने, ‘सुरक्षा निकायहरू प्रमुखदेखि लिएर सबै जनप्रतिनिधि यहाँ खटिएका छौं। डुंगा प्रयोग गरेर मानिसहरूलाई सारिरहेका छौं।’
बुधबार बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
यस्तै सुनसरीको श्रीलंका टापुमा फसेका ५०० परिवारलाई उद्धार गर्ने तयारी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले गरिरहेको छ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अधिकारीका अनुसार श्रीलंका टापुका सबै स्थानीय सुरक्षित रहेका छन्।
यस्तै सुनसरीको बराह नगरपालिका ९ र ६ वडाका बासिन्दा पनि विस्थापित भएका छन्। स्थापितलाई उद्धार गरि स्कुलमा राखिएको उनले बताए ।