
गत फाल्गुनको दोस्रो साता मोरङको लेटाङ नगरपालिका-८ कि १२ वर्षीया बालिकालाई यौन प्रस्ताव राख्दा नमानेपछि उनको बलात्कारपछि हत्या भयो । हत्या गर्ने युवक थिए सोही वडाका ६४ वर्षीय दीपक गिरी । बलात्कारपछि पोल खुल्ने डरले बालिकाको हत्या गरेको बयान उनले प्रहरीसामु दिएका छन् ।
*****
फाल्गुन २७ गते सोही जिल्लामा १८ महिने नाबालिकाको बलात्कारपछि हत्या भयो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकालाई करणीपछि हत्या प्रयास गरिएकोमा अस्पतालमा ती बालिकाले ज्यान गुमाएकी थिइन् । सोही स्थानका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीले गाँजा सेवन गरी बालिकाको बलात्कार गरेका थिए । नातामा दुवै जना दाजुभाइ पर्छन् । बलात्कार गरेपछि उनीहरूले सिसाको बोतल र ढुङ्गा प्रहार गरी नाबालिकाको हत्या प्रयास गरेका थिए । त्यसपछि अर्ध चेत अवस्थामा रहेकी उनलाई झाडीमा फालेर फरार भएका थिए ।
यस घटनाले देशैभर ठुलो रूप लियो । काठमाडौँको माइतीघरमा यस विरुद्ध प्रदर्शन पनि भयो । बालिकाका अभिभावकको आर्थिक अभाव न्यून भएपछि श्रीमती सङ्गठन नाम गरेको सङ्गठनले उनीहरूलाई आर्थिक सहयोग समेत गर्यो ।
आमाबाबु बालिकाको काजक्रिया गरिरहेकै बेला सोही नगरको भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री शेर बहादुर देउवा त्यहाँ पुगेका थिए । पीडित बाबुआमालाई सान्त्वना दिन प्रधानमन्त्री उनीहरूको घर पुग्न सक्थे तर प्रमले यसबारे चासो देखाएनन् । केटिएम दैनिकले प्रधानमन्त्रीको निजी सचिवालयलाई भ्रमण तालिकामा पीडित अभिभावको घरसम्म पुग्ने तालिका पनि समावेश गर्न अनुरोध पनि गरेको थियो ।
******
गत असोज १३ गते महोत्तरीमा झन्डा मेला हेर्न गएकी भंगहा नगरपालिका-२ बखरी टोलकी ३५ वर्षीया अमृता सदाको हत्या भयो । प्रहरीको अनुसन्धानपछि उनको बलात्कारपछि हत्या भएको पुष्टि भयो । बलात्कारको आरोपमा सोही नगरको वडा नम्बर-५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेको खुल्यो र उनीहरू अहिले पुर्पक्षको लागि थुनामा रहेका छन् ।
****
जेठको अन्तिम साता दार्चुलामा देवरले भाउजूको बलात्कारपछि हत्या गरेर शवलाई उखुबारीमा जलाइदिए । दार्चुलाको शैल्यशिखर नगरपालिका १ बारिलका ४२ वर्षीय भोजराज खडायतले नातामा भाउजू पर्ने ४५ वर्षीय अनिभा खडायतको बलात्कारपछि हत्या गर्दै शव जलाएका हुन् । घटनापछि फरार भएका भोजराजलाई प्रहरी पक्राउ गर्दा उनको साथमा मृतकको कान र नाकमा लगाएको सुनको बाली र नथिया फेला पारेको थियो ।
माथि उल्लेखित घटनाहरू आर्थिक वर्ष २०७८/७९ मा बलात्कारपछि हत्या गरिएका प्रतिनिधिमूलक घटनाहरू हुन् ।
पाँच वर्षमा ११ हजार बलात्कृत
विगत पाँच वर्षको तथ्याङ्कले नेपालमा ११ हजार ७३ जना महिला तथा बालिकाहरू बलात्कृत भएको देखिन्छ । नेपाल प्रहरीको मुख्यालयबाट केटिएम दैनिकले प्राप्त गरेको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी बलात्कार घटना प्रदेश नम्बर १ मा भएको देखिन्छ ।
माथिको तथ्याङ्कमा जबरजस्ती करणी, अपहरण गरेर करणी, बालविवाह गरेर करणी, मानवबेचविखन अन्तरगत जबरजस्ती करणीको सङ्ख्या जोडिएको हो । यसमा बलात्कार प्रयास गर्नेहरूको सङ्ख्या भने जोडिएको छैन । उक्त विषयमा हामीले अर्को रिपोर्ट प्रकाशन गर्नेछौँ ।
आ.व/प्रदेश | ०७४/७५ | ०७५/७६ | ०७६/७७ | ०७७/७८ | ०७८/७९ | जम्मा |
---|---|---|---|---|---|---|
प्रदेश १ | ३८७ | ५५२ | ४९३ | ६०७ | ५२५ | २,५६४ |
मधेश | १८८ | ३२९ | ३०३ | ४०९ | ३३९ | १५६८ |
बागमती | १९५ | २३५ | २५६ | ३०७ | २६८ | १,२६१ |
गण्डकी | १२० | २९९ | १६१ | २०९ | २१४ | १,००३ |
लुम्बिनी | २७२ | १८१ | ३५५ | ४४९ | ४०६ | १,६६३ |
कर्णाली | ६१ | ३८१ | १३९ | १५९ | १५८ | ८९८ |
सुदूरपश्चिम | १०० | १४२ | २०३ | २३८ | २४२ | ९२५ |
उपत्यका | १९१ | १७६ | २६९ | २३१ | ३२४ | १,१९१ |
जम्मा | १,५१४ | २,२९५ | २,१७९ | २,६०९ | २,४७६ | ११,०७३ |
आर्थिक वर्ष ०७४/०७५ देखि आ.व. ०७८/७९ सम्मको तथ्याङ्क हेर्दा करणीको ग्राफ बढेको देखिन्छ । आ.व. ०७४/०७५ मा एक हजार ५१४ वटा घटना प्रहरीकोमा पुगेकोमा ०७५/७६ मा उक्त सङ्ख्या बढेर दुई हजार २९५ पुगेको छ ।
०७६/७७ मा अघिल्लो वर्षको तुलनामा अलिक कम अर्थात् दुई हजार १७९ घटना दर्ता भएको देखिन्छ । हामीले विश्लेषण गरेको यस पाँच वर्षमध्ये आ.व. ०७७/७८ मा सर्वाधिक घटना घटेको देखिन्छ । उक्त आर्थिक वर्षमा दुई हजार ६०९ वटा घटना प्रहरीकोमा दर्ता भएका छन् ।
अघिल्लो आर्थिक वर्षमा दुई हजार ४७६ वटा जबरजस्ती करणको घटना घटेको प्रहरीले हामीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश १ अगाडि
१४ जिल्ला रहेको प्रदेश १ बलात्कारका घटना हुनेमा शीर्ष स्थानमा पर्दछ । उक्त प्रदेशमा यो पाँच वर्षको अवधिमा दुई हजार ५६४ घटना दर्ता भएको छ । लुम्बिनी प्रदेशमा सोही अवधिमा एक हजार ६६३ घटना दर्ता भएको देखिन्छ ।
त्यस्तै गरी मधेस प्रदेशमा एक हजार ५६८, बागमती प्रदेश (काठमाडौँ उपत्यकाका तीन जिल्ला बाहेक) मा एक हजार २६१, काठमाडौँ उपत्यकाका तीन जिल्लामा एक हजार १९१, गण्डकी प्रदेशमा एक हजार तीन, सुदूरपश्चिम प्रदेशमा ९२५ र कर्णाली प्रदेशमा ८९८ घटना घटेका छन् ।
२६ जनाले ज्यान गुमाए ।
यो पाँच वर्षको अवधिमा बलात्कारपछि २६ जना महिला (बालिकासमेत) को हत्या गरिएको छ । केहीको हत्या प्रयास गरिएकोमा उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
आ.व/प्रदेश | ०७४/७५ | ०७५/७६ | ०७६/७७ | ०७७/७८ | ०७८/७९ | जम्मा |
---|---|---|---|---|---|---|
प्रदेश १ | – | ४ | – | १ | २ | ७ |
मधेश | – | ३ | – | १ | २ | ६ |
बागमती | – | – | – | – | – | – |
गण्डकी | – | २ | – | – | १ | ३ |
लुम्बिनी | – | – | – | – | – | – |
कर्णाली | – | – | – | – | ३ | ३ |
सुदूरपश्चिम | – | १ | १ | २ | १ | ५ |
उपत्यका | – | १ | १ | – | – | २ |
जम्मा | – | ११ | २ | ४ | ९ | २६ |
प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेश (काठमाडौं उपत्यकाका तीन जिल्ला बाहेक) र लुम्बिनी प्रदेशमा कुनै पनि महिलाले बलात्कारपछि ज्यान गुमाउनु परेको छैन । अन्य प्रदेश र काठमाडौं उपत्यकाका तीन जिल्लामा भने यो पाँच वर्षको अवधिमा महिला (बालबालिकासमेत) बलात्कारपछि हत्या गरिएका छन् ।
आ.व. ०७४/७५ मा बलात्कार पछि हत्या गरिएको घटना प्रहरीकोमा पुगेको छैन । ०७५/७६ मा भने ११ जनाको बलात्कारपछि हत्या गरिएको छ । उक्त आर्थिक वर्षमा प्रदेश १ मा चार जना, मधेस प्रदेशमा तीन जना, गण्डकीमा दुई जना, सुदूरपश्चिम प्रदेश र काठमाडौँ उपत्यकामा समान एक/एक जनाको हत्या गरिएको हो ।
आ.व. ०७६/७७ मा भने त्यस्ता घटनाहरू कम भएका छन् । सो आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश र काठमाडौँ उपत्यकामा समान एक/एक जना गरी कूल दुई जनाको हत्या भएको तथ्याङ्कमा उल्लेख छ ।
यो पाँच वर्षमा सर्वाधिक बलात्कारका घटना भएको आर्थिक वर्ष ०७७/७८ मा चार जनाले ज्यान गुमाए । सुदूरपश्चिम प्रदेशमा दुई जना, प्रदेश १ र मधेस प्रदेशमा एक/एक जनाको बलात्कारपछि हत्या भएको देखिन्छ ।
बलात्कारका घटनामा प्रहरी संवेदनशील छ : प्र.ना.म.नि. टेक प्रसाद राई

बलात्कार जस्तो जघन्य अपराध रोक्न नेपाल प्रहरी एकदमै संवेदनशील भएको प्रहरी नायव महानिरिक्षक टेक प्रसाद राई बताउँछन् । केटिएम दैनिकसँगको कुराकानीमा राईले भने ‘हामीले ७७ जिल्लाको जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरी सेल राखेका छौं । कानुनी कारवाही मात्र पर्याप्त हैन, हामीले हाम्रा छोरीचेलीहरूलाई बचाउनकै लागि विभिन्न कार्यक्रमहरू गरिरहेकै हुन्छौं । कुन एरियामा कस्ता किसिमका घटना धेरै भएको छन् भनेर त्यहीँ अनुसारको कार्यक्रमहरू गर्दै आएका छौं ।’
पहिले प्रहरीहरूलाई समाजमा डर/त्रासको रुपमा लिइन्थ्यो । केटाकेटीहरूले चकचक गरे या फकाउनको लागि प्रहरीलाई बोलाइदिन्छु भनेर डर देखाइने गरिन्थ्यो जस्ले गर्दा मानिसहरू प्रहरीको सम्पर्कमा आउँन डराउँथे । तर अहिले मानिसहरूमा चेतनाको स्तर बढेको छ । अहिले प्रहरी प्रतिको हाउगुजी गलत रहेछ, अब त हामीले न्याय पाउनको लागि प्रहरीकोमा जानुपर्छ भनेर मानिसहरू पनि सचेत भएको देखिन्छ । ७७ वटै जिल्लामा महिला प्रहरीहरूले नै यस्ता घटनाहरू हेर्ने हुदाँ अहिले उजुरी गर्नेको सङ्ख्या बढेको छ ।
नेपाल प्रहरीले विभिन्न संघ संस्था तथा स्थानीय तहहरूसँग मिलेर जनचेतनामुलक कार्यक्रमहरू गर्दै आइरहेको छ । विद्यालयमा पनि विभिन्न प्रकारका कार्यक्रहरू गरिरहेकै हुन्छौं । सडक नाटक, रेडियो टेलिभिजन मार्फत जनचेतना जगाउने काम भइरहेको छ ।
राजनीतिक ब्यक्त्ति सामेल भएको घटनामा प्रहरीले सफलता हात पार्न सक्दैन, उजुरी लिदैँन भन्ने जनगुनासो सुनिएको छ नि भन्ने हाम्रो प्रश्नमा राईले भने, ‘हामी यो विषयमा एकदमै संवेदनशील छौं । कानुन सबैलाई बराबर नै लाग्छ, कानुनले कसैलाई सानो या ठूलो भन्दैन । ठूला अहोदामा रहेका या राजनीतिक व्यक्तित्व सामेल भएका घटनाहरूमा पनि हामीले सफलता पाएका छौं । अनुसन्धान गरेर सम्माननीय अदालतसम्म पुर्याएका छौं । यदाकदा यस्ता प्रश्नहरू सुनिने गरेका छन् । तर हामी यो विषयलाई संवेदनशील भएर हेर्छौं ।’
बलात्कारको अपराधमा हुने सजाय
जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी हने कैद सजाय :
(क) १० वर्षभन्दा कम उमेरकी बालिका भए १६ वर्षदेखि २० वर्षसम्म ।
(ख) १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म ।
(ग) १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म ।
(घ) १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म ।
(ङ) १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि १० वर्षसम्म ।
(च) वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा
(१) पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा ५ वर्षसम्म ।
(२) सामूहिक रूपमा जबर्जस्ती करणी गरेमा वा ६ महीनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रूपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जबर्जस्ती करणी गरेमा बलात्कारको सजायमा थप ५ वर्षसम्म ।
(३) बालयौन दुरूपयोग गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना ।
(छ) हाडनाता करणीमा फरक–फरक सजाय हुनेः
(१) जन्माउने आमा–छोराको वा बाबु–छोरीको करणीमा जन्मकैद ।
(२) सौतेनी आमा–छोरा वा बाबु–छोरी, सहोदर दिदी–भाइ वा दाजु–बहिनी, एकै हाँगाको ससुरा–बुहारी, एकै हाँगाको बाजे–नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइबुहारी वा देवर–भाउजूको करणी भएमा चार वर्षदेखि १० वर्षसम्म कैद र ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना ।
(३) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठुलो बाबु वा काका–भतिजी, एकै हाँगाको भतिजो–ठुली आमा वा काकी, एकै हाँगाको ससुरा–भतिजीबुहारी, साक्खै मामा–भाञ्जी वा भानिज–माइजू, आमातर्फका ठुली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमतीतर्फकी सासू र ज्वाइँको करणी भएमा ३ वर्षदेखि ६ वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि ६० हजार रुपैयाँसम्म जरिवाना ।
(४) यी तीन अवस्थाबाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगा, नाता र पुस्तासमेत विचार गरी १ वर्षदेखि ३ वर्षसम्म कैद र १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना ।
(२०७५ साल १ भदौदेखि लागू भएको मुलुकी अपराधसंहिताको परिच्छेद १८ मा भएको व्यवस्था)
यस्ता घटनाहरू किन हुन्छन् ? यसका पछाडिको मनोवैज्ञानिक कारणहरू के के हुन सक्छन्

जबरजस्ती करणीका घटनाहरूमा किन घट्छन् यसका पछाडिका मनौवैज्ञानिक कारणहरू के के छन् भने हामीले मनोविद् गोपाल ढकाललाई सोधेका थियौं । ढकालले बलात्कार जस्तो जघन्य अपराध गर्ने व्यक्तिहरूको मनोवैज्ञानिक कारणहरू यसरी प्रस्तुत गरेका छन् ।
असामाजिक व्यक्तित्व : जसलाई साईकोपाथ भनेर पनि भनिन्छ । यस्तो ब्यक्तित्बसगँ सम्बन्धित मानसिक रोग लागेका व्यक्तिहरूले आफ्नो घरपरिवार र समाजमा जो सुकैलाई पनि दुख दिने , सानो सानो कुरामा पनि ठुलो बदला लिन खोज्ने, हत्या बलात्कार गर्न समेत पछि नपर्ने आदि जस्ता कानुनले वर्जित गरेका जघन्य अपराध गर्न पछि पर्दैनन् ।
यौनको लत: यौनको लत लागेका व्यक्तिहरू यौन प्रति अति नै आशक्त हुन्छन् । कति गर्दा पनि उनीहरूमा यौनको प्यास मेटिँदैन । यस्तो यौन समस्या भएका व्यक्तिहरूले यौनको तिर्खा मेट्न आफन्त पनि नभन्न सक्छन् ।
अप्राकृतिक यौन व्यवहार: जसले यौनलाई सम्भोगको रूपमा भन्दा स्खलनको माध्यम बनाउँछ , यस्ता व्यक्तिले अरूको भावना बुझ्न सक्दैनन् र स्बभाबिक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता व्यक्तिले बलात्कार गर्ने पनि सम्भावना हुन्छ ।
नैतिक पतन: नैतिक रूपमा पतन भएका व्यक्तिले पशु भन्दा तल्लो व्यवहार गर्न सक्छन् । यस्ता नैतिक रूपमा पतन भएका व्यक्तिबाट आफन्त पनि बलात्कारको सिकार हुन सक्छन् ।
यौन कुण्ठा: अभिभावक, श्रीमतीबाट यौन सन्तुष्टि लिन नसक्ने यौन कुण्ठाले भरिएको व्यक्तिले पनि बलात्कार गर्न सक्छ ।
लागू पदार्थको सेवन: यसको सेवन गर्दा व्यक्तिले विवेक र चेतना गुमाउन सक्छ र बलात्कार गर्न पुग्छ ।
मानसिक रोग : मेनिया जस्तो कडा मानसिक रोग लागेको व्यक्ति सधैँ उत्तेजित हुन्छ ।उसको व्यवहार र बिचार पनि अव्यवहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा उ रोगी जस्तो नि देखिँदैन ।उसको शरीरमा शक्ति पनि बढेर आउँछ । यौनको आवेग पनि तीव्र हुन्छ । जसलाई उ नियन्त्रण गर्न सक्दैन र बलात्कार पनि गर्न सक्छ ।
शरिरिक कारण : शरीरमा सेक्स हर्मन बढ्दा यौन चाहना बढ्न गई , आफूलाई यौन अनुशासनमा राख्न नसक्दा पनि बलात्कारका घटना हुन पुग्छ ।
अति विश्वास गर्नु : घर परिवारका सदस्य बिच चाहिने भन्दा बढी घनिष्ठता , अति विश्वास र नाता अनुसारको व्यवहार र अनुशासनमा बस्न नसक्दा पनि आफन्त बिच नै करणीका घटना हुन सक्छन् ।
मनोवैज्ञानिक असर : सानोमा यौन दुर्व्यवहारमा परेको व्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।
यौन अनुशासन नहुनु : सानैबाट यौन अनुशासन नभएको , पतित , विखण्डित , अनुशासनहीन , चरित्रहीन घर परिबार र समाजमा हुर्केको बच्चा पनि पछि गएर यौनमा बिचलिन हुन सक्छ ।
यी र यस्ता अन्य धेरै यौन समस्या (विचलन), मानसिक एवं मनोवैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबरजस्ती करणी गर्न सक्छ । यस्ता व्यक्तिलाई मानसिक रूपमा स्वस्थ व्यक्ति मान्न सकिँदैन । किन कि मानसिक रूपमा स्वस्थ व्यक्तिले समाजले स्विकारेको मात्र काम गर्छ । काम गर्नु अगाडि परिणामको बारेमा सोच्छ । के ठिक के बेठिक छुट्टाउन सक्छ । आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्छ । सामाजिक मूल्य मान्यताको सम्मान गर्छ । यी र यस्ता गुण नभएको व्यक्ति मानसिक स्वास्थ्यका हिसाबले रोगी मानिन्छ ।