आज साउन महिनाको तेस्रो सोमबार, ब्रम्हा, विष्णु र महेश्वरएकै स्वरुप त्रिशक्तीको रूपमा पुजिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज जल चढाउने र पूजा गर्नेहरूको बिहानैदेखि घुइँचो लागेको छ।
पहेँलो वस्त्र धारण गरेका बोल बम तीर्थयात्रीहरू खालि खुट्टा पैदल गर्दै जल चढाउन आएका छन्। साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ ।
हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
सोमबारको दिन राखिने व्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्त्व हुन्छ । यस दिन चन्द्रमाको पूजा पनि गरिन्छ ।
विशेष गरी महिलाहरूले हरियो रंगका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने गर्छन् ।साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरूले रातो, हरियो र पहेँलो वस्त्र तथा चुरा-पोते लगाएर शिवको पूजा गर्दछन् ।
साउन महिनामा महादेव भगवानको अवतार हुने जनविश्वासका कारण साउन महिनामा विवाहित महिलाहरू श्रीमान्को लामो आयु र परिवारको सुखद भविष्यको लागि र अविवाहित महिलाहरू असल जीवनसाथी प्राप्तीको कामना सहित प्रत्येक सोमबार ब्रत बसि दत्तात्रयको पूजा गर्ने प्रचलन रहिआएको पाइन्छ ।
प्यागोडा शैलीमा निर्माण गरिएको यस मन्दिर राजा यक्ष मल्लले बनाउन लगाएका थिए । यसको प्रमुख विशेषता भनेको यो मन्दिर ठूलो एउटै रुखबाट बनेको जनविश्वास रहेको छ । दुइजना राजपूत पहलमानहरु यस मन्दिरको रक्षार्थ अग्रस्थानमा राखिएको पाइन्छ ।
हेरौँ तस्बिरहरू