हेटौंडामा जारी नेपाल प्रेस युनियनको महाधिवेशनमा उम्मेदवारी मनोनयन साढे १४ लाख रुपैयाँ भन्दा बढी उठेको छ ।
निर्वाचित समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार १२१ पदको लागि २०७ जनाले उम्मेदवारी दिएका छन् । यीमध्ये ३२ जना निर्विरोध चयन भएका छन् भने बाँकी रहेका पदहरूमा मतदान हुनेछ ।
अध्यक्षको मनोनयन शुल्क २० हजार, पदाधिकारीको लागि १० हजार र सदस्यको लागि पाँच हजार तोकिएको थियो । अध्यक्षमा तीनजना दावेदार भएपछि उनीहरूबाट ६० हजार रुपैयाँ उठेको छ भने पदाधिकारी वरिष्ठ उपाध्यक्ष देखि कोषाध्यक्ष हुँदै लेखा समिति संयोजक गरी ३९ पदको लागि उम्मेदवारी दिएका ७५ जनाबाट सात लाख ५० हजार र ८१ सदस्य पदको लागि उम्मेदवारी दिएका १२९ जनाबाट ६ लाख ४५ हजार गरी कूल १४ लाख ५५ हजार रुपैयाँ उठेको हो ।
केन्द्रीय सदस्य (यौनिक तथा लैंगिक अल्पशंख्यक महिला) कलस्टरमा मनोनयन नै परेन भने केन्द्रीय सदस्य अन्तरगत मधेसी महिला, आदिवासी/जनजाति महिला, थारु खुल्ला, उपत्यका महिलामा दुई दुई जना निर्वाचित हुनुपर्नेमा एक/एक जनाको मनोनयन परेपछि उनीहरू स्वतः निर्विरोध भएका हुन् । ती पदहरूमा एक/एक जनाको सिट खालि नै रहने भएको छ ।
सबै पदमा मनोनयन परेको भए उक्त रकम १५ लाख नाघ्ने थियो । यसअगाडि अध्यक्षको लागि ३० हजार वरिष्ठ उपाध्यक्ष र महासचिवको लागि २५ हजार अन्य पदाधिकारीको लागि २० हजार र सदस्यको लागि १० हजार कायम गरिएकोमा मनोनयन शूल्क नै महङ्गो भएको भन्दै विरोध भएपछि निर्वाचन समितिले अन्तिम समयमा आएर शूल्क घटाएको हो ।
यो रकम निर्वाचित समितिले खर्च गर्नेछ । आज बिहान ११ बजेदेखि मतदान हुने बताइएको छ ।