बजेट निमार्णमा अनधिकृत ब्यक्तिलाई प्रवेश गराएको भन्दै छानविनको लागि गठित संसदीय छानविन समितिको बैठक आज पनि बस्दैछ ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत ब्यक्तिलाई बजेट निमार्णमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागे पछि संसदीय छानविन समितिले अनुसन्धान सुरु गरेको हो ।
हिजो बिहिवार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घन्टा सोधपुछ गरेको समितिले अर्थमन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो । जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिए पछि थप शंकास्पद बनेको उक्त घटनाको हार्ड डिस्क नै मगाएर समितिले छानविन गरिरहेको छ ।
निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि समय थप भएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न गरेको प्रस्ताव सदनले स्वीकार गरेको हो । यसअघि, गएको असार २२ गते गठित समितिलाई १० दिनको समय दिइएको थियो । त्यो समयसीमा हिजो सकिएको थियो । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए ।
छानविन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन्। सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन्।