निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि समय थप भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न गरेको प्रस्ताव सदनले स्वीकार गरेको छ ।
यसअघि, गएको असार २२ गते गठित समितिलाई १० दिनको समय दिइएको थियो । त्यो समयसीमा आज सकिँदै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माले छानबिन समितिको बैठकमा उपस्थित भएर आज बयान दिएका थिए । ‘बाहिरको मान्छे पस्ने सम्भावना नै छैन’, उनले बयानमा भनेका छन्, ‘सीसीटीभी फुटेज कहिलेसम्म रहन्छ त्यो मन्त्रीलाई जानकारी हुने कुरा भएन ।’ यसअघि बुधबार अर्थ मन्त्रालयमा बाह्य व्यक्तिको प्रवेशका बारेमा समाचार लेख्ने दुई पत्रकारसँग समितिले छलफल गरेको थियो ।
छानविन समितिमा समितिमा सांसदहरु खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो, मान बहादुर विश्वकर्मा र सुरेन्द्र यादव सदस्य रहेका छन् । मानबहादुर विश्वकर्मा समितिमा पछि मिसिएका सदस्य हुन्। सांसद पुष्पा भुसाल उपसभामुख निर्वाचित भएपछि उनको ठाउँमा विश्वकर्मा गएका हुन्।