
झापाको अर्जुनधारा नगरपालिका-७ मा लामो समयदेखि बलात्कृत भएकी १५ वर्षीया बालिकालाई सुरक्षित आवास गृह (सेफ हाउस) मा लगिएको छ ।
उनलाई प्रदेश १ सामाजिक विकास मन्त्रालयको मातहतमा रहेको दीर्घकालीन पुन:स्थापना गृह विराटनगर लगिएको हो ।
राष्ट्रिय महिला आयोग, जिल्ला प्रशासन कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी का साथै स्थानीय युवा अभियन्ताहरूको पहलमा पीडित बालिकाको सुरक्षालाई मध्यनजर गर्दै पुन:स्थापना गृहमा लगिएको हो ।

अर्जुनधारा नगरपालिका-७ का वडाध्यक्ष गोविन्द प्रसाद खतिवडाले पीडित बालिकाको आर्थिक अवस्था कमजोर रहेको र गर्भपतन समेत गराउनुपर्ने भएकाले सुरक्षित आवास गृहमा राख्नको लागि सिफारिस गरेका हुन् ।

पीडित बालिका २३ हप्ताको गर्भवती भएको खुलेको छ । मेची अस्पताल भद्रपुर झापामा असार ३१ गते गरिएको स्वास्थ्य परीक्षणमा उनी २२ हप्ता पाँच दिनको गर्भवती भएको रिपोर्ट डा. टंक प्रसाद बारकोटीले दिएका छन् ।
विगत ६ महिनादेखि गाउँकै छिमेकीबाट बलात्कृत भएकी बालिकालाई असार ३० गते बयान दिन इलाका कार्यालय अनारमनी ल्याइएको थियो भने सोही दिन भद्रपुर लगेर स्वास्थ्य परीक्षण गरिएको थियो ।
सम्भवतः भोलि गर्भपतन गराइने
असार ३१ गते २२ हप्ता पाँच दिनको गर्भ रहेकी बालिकाको सम्भवतः भोलि गर्भपतन गराइने भएको छ । सामान्यतया १२ हप्ताको गर्भपतन र हाडनाता वा बलात्कारको मामिलामा भने १८ हप्तासम्मको गर्भपतन गर्न मिल्छ । मुलुकी अपराध संहिताको दफा १८९ को (ख) र (घ) मा भने कति हप्तासम्मको गर्भपतन गर्न मिल्ने भनेर समय उल्लेख गरिएको छैन । उपदफा (ख) मा लेखिएको छ ।
गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्ती महिलाको मन्जुरीले गर्भपतन गराइने व्यवस्था कानुनमा छ ।
केटिएम दैनिकले प्राप्त गरेको बालिकाको मेडिकल रिपोर्टमा चिकित्सकले गर्भपतन गर्न सुझाव दिएका थिए । उनले कोसी अस्पताल रेफर गरेका हुन् ।
उपचार सम्भव नभए काठमाडौँ ल्याउँछौं :कमला पराजुली

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले यस विषयलाई गम्भीरतापूर्वक लिएकी छिन् । उनकै पहलमा बालिकाको उद्धार गरिएको हो । केटिएम दैनिकसँगको कुराकानीमा पराजुलीले भनिन् “बालिकाको स्वास्थ्य अवस्था हेरेर त्यहाँ उपचार सम्भव नहुने भए काठमाडौँको थापाथली अस्पतालमा रेफर गर्नको लागि कोसी अस्पताललाई आग्रह गरेको छु ।”
के हो दीर्घकालीन पुन:स्थापना गृह ?
घरेलु तथा लैङ्गिक हिंसाबाट पीडित भएका महिला तथा बालिकाहरूले भय, डर, त्रास तथा असुरक्षा महसुस गरी आफ्नो घर परिवार र समाजमा बस्न नसक्ने भएमा उनीहरूलाई सुरक्षित आवास गृहमा राखिन्छ ।
घरेलु हिंसा सम्बन्धी नियमावली, २०७६ को नियम १९ ले दिएको अधिकार प्रयोग गरी प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले विराटनगरमा दीर्घकालीन पुन:स्थापना गृह सञ्चालन गरिरहेको छ ।
त्यहाँ रहेकाहरूलाई सरकारले सुरक्षित परिसर सहितको सुविधा सम्पन्न आवास गृह उपलब्ध गराएको छ भने उनीहरूलाई लत्ताकपडा, दैनिक खाना र खाजाको सुविधा साथै स्वास्थ्य उपचार सम्बन्धी व्यवस्था हुन्छ ।
दीर्घकालीन पुन:स्थापना गृह (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७७ का अनुसार पुन:स्थापना गृहमा रहेका पीडितहरूलाई मनोसामाजिक मनोविमर्श, कानुनी परामर्श सेवा पनि उपलब्ध हुन्छ ।
विद्यालय शिक्षा अध्ययन गरिरहेका पीडित बालबालिकाहरूको हकमा भने उनीहरूको शिक्षादीक्षाको यथोचित प्रबन्ध पुन:स्थापना गृहबाटै हुन्छ । पीडित बालिका कक्षा ८ मा अध्ययनरत छिन् ।
सम्वन्धित समाचारहरू