
बलात्कृत बालिकालाई दुर्व्यवहार गर्ने प्रहरी हवल्दार पूजा प्रसाईँको सरुवा भएको छ । हिजो झापाको इलाका प्रहरी कार्यालय अनारमनीमा बयान दिन पुगेकी अर्जुनधारा नगरपालिका-७ की १५ वर्षीया बालिकालाई मेडिकल चेकचाँज गर्न लैजाने क्रममा हवल्दार प्रसाईँले दुर्व्यवहार गरेकी थिइन् ।
उनले पीडामा रहेकी बालिकालाई “शुरुमा त नमज्जा भयो होला, तर पछि त मज्जा आयो होला नि हैन ? पैसा, कपडा दियो होला” भन्दै दुव्यवहार गरेकी हुन् । .
ती बालिका विगत ६ महिनादेखि छिमेकीबाट पटक पटक बलात्कृत भएकी थिइन् । आरोपित अर्जुनधारा-७ कै मेचे थरका अन्दाजी ५० वर्ष उमेरका व्यक्ति भएको बताइएको छ ।
बालिकाको आमा बितेको हुनाले उनी बुवासँगै बस्दै आएकी थिइन् । बुवा दिनभर काममा जाने हुनाले छिमेकीले उनलाई बलात्कार गर्दै आएको बताइएको छ । चैतदेखि नै उनको महिनावारी रोकिएपछि अहिले घटना बाहिर आएको स्थानीयबासीले बताए ।
यस विषयमा केटिएम दैनिकले निरन्तर फलोअप गरेपछि प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाई राईले बलात्कृत बालिकामाथि दुर्व्यवहार गर्नेमाथि छानविन हुने बताएका थिए ।
हवल्दार प्रसाईँलाई विभागीय कारवाही सहित ओखलढुंगा सरुवा गरिएको स्रोतले जनाएको छ ।
- प्रहरी प्रवक्ता भन्छन् : बलात्कृत बालिकामाथि दुर्व्यवहार गर्ने महिला प्रहरीमाथि छानविन हुन्छ
- बलात्कृत बालिकामाथि महिला प्रहरीले गरे दुर्व्यवहार !
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पीडित बालिकालाई सम्भव भएसम्म काठमाडौं नभए विराटनगरको सेफ हाउसमा राख्ने प्रतिबद्ता जनाएकी छन् । केटिएम दैनिकसँग कुरा गर्दै अध्यक्ष पराजुलीले भनिन्, “ती बालिका त्यहाँ असुरक्षित हुन सक्छिन । त्यसैले कि काठमाडौं नभए विराटनगरको सेफ हाउसमा उनलाई राख्ने व्यवस्था मिलाउँछु ।”