व्यस्तताका कारण होला सायद जापानका मान्छेहरू धेरै लामो समय गफ गरेर बसेको देखिँदैन । चोक चोकमा क्यारेम्बोर्ड खेलेर वा घुम्ती पसलहरूमा चिया गफ गर्दै देश तथा विदेशको गनथन गरेको पाइँदैन । बरु कामकै सिलसिलामा परिचित भएका मान्छेहरू कामको ब्रेक टाइममा भने आत्मीयताका साथ केही बेर गफ गर्ने गर्छन् । यस्तैमा मैले काम गर्ने ठाउँका जापानी साथी र म हिजोको ब्रेकमा सङ्गै परियो । जापानमा हिजो मात्र चुनाव भएकोले मलाइ पनि चुनाव सङ सम्बन्धित गफ गर्न मन लागेर मैले उसलाई सोधे अनि हिजो त भोट हाल्न गइनस् ?
मलाइ यो भोट हाल्ने कुरामा खासै मतलब लाग्दैन अनि फेरि हिजो मेरो काम पनि थियो काम छोडेर का भोट हाल्न जानु, भनेर जवाफ दियो । मलाइ अचम्म लाग्यो र मैले भने तिमिहरूको देशको चुनाव त नरमाइलो हुँदो रहेछ कति बेला चुनाव आयो कति बेला चुनाव सकियो हामीलाई त परै जाओस् तिमिहरूलाई पनि थाहा नै नहुने अनि मतलब नै नलाग्ने हुँदो रहेछ । मैले त्यति भन्नासाथ तिमिहरूको देशको चुनाव चैँ कस्तो हुन्छ नि भनेर सोधिहाल्यो ।
हाम्रो देशको चुनाव त यस्तो हुँदैन । हाम्रो देशमा चुनाव आउँदा लगभग दुई महिना अघिबाट चहलपहल सुरु हुन्छ । चुनाव आउनु अघि उम्मेदवार को को उठ्ने भनेर एक पटक हल्लीखल्ली हुन्छ । उम्मेदवार हुनेको तँछाडमछाड पनि हुन्छ, जब उम्मेदवार कन्फर्म हुन्छ र उम्मेदवारीको टिकट पाउँछ अनि गाउँ टोल सहर बजार सबै तिर एक एक घर गर्दै भोट माग्न हिँड्छन् ।
लाखौँको झण्डा छापिन्छ जसमा उम्मेदवारले पाएको चुनाव चिन्न भएको हुन्छ त्यस्तै गरी फोटो सहितको ब्यानर र पर्चा पनि लाखौँको छपाइन्छ अनि गल्ली गल्लीमा ती ब्यानर लगाउँदै पर्चा फाल्दै हिँडिन्छ । जुलुस लगाइन्छ हरेक दिन । चुनावको दसैँ नेतालाई जति लाग्छ त्योभन्दा चार गुणा चुनावको दसैँ जनतालाई लाग्ने गर्छ । उम्मेदवार १०-१५ जना हुन्छन् तर नेता भने सबै हुने गर्छन् ।
सबै राजनीतिज्ञ भइदिन्छन् त्यो बेला । ठुला ठुला भाषण सहितको ठुलो ठुलो आमसभा गरिन्छ । जता जता भोट माग्न जाने हो त्यता जानका लागि कार्यकर्ता अनि जनताका लागी सवारी साधन र खाना खाजा सबैको व्यवस्था गरिन्छ । मोटरसाइकलमा तेल हाल्ने व्यवस्था पनि गरिन्छ ।
विद्यार्थीहरूको स्कुल र कलेज त चुनाव आउनु हप्ता दिन अघिबाटै बिदा हुन्छ । चुनावको प्रचार प्रसारमा जानका लागि जनताहरू हरेक दिन आफ्नो घरको, व्यवसायको काम अनि कार्यालयको काम समेत छोडेर घाम पानी नभनी चुनावी गीत बजाएर प्रचार प्रसारमा नाच्दै गाउँदै हिँड्ने गर्छन् ।
ठुला ठुला साउण्ड पारेर बजाइएको चुनावी गीतले कसैलाई डिस्टर्ब गर्दैन, बरु सबै नाच्न हतारिन्छन् यस्तो लाग्छ वर्षौँ देखि घरमा गुम्सिएर चुनाव लागेपछि नाच्न कै निम्ति हिँडेको जस्तो । हाम्रो लागि त चुनाव भनेको एउटा उत्सव नै हो । एउटा उम्मेदवार जिताउन गाउँसरहका सबै एक जुट भएर लागि पर्छौ ।
तर यहाँ त ती सब कुरा मैले कहिल्यै देखिन न त झण्डा घर घरमा वा चोक चोकमा लगाइयो न त कुनै दिन जुलुस लगाएर सडक सडकमा नाच्दै गाउँदै हिँडेको देखियो नत मतदातालाई चुनाव चिन्न अङ्कित टोपी टिसर्ट नै वितरण गरियो नत चुनावको दिन सार्वजनिक बिदा नै गरियो, नत चुनावका दिन मतदातालाई खाजा खाने कुपनको व्यवस्था नै गरियो, न त मतदातालाई घर घरबाट सवारीमा हालेर मतदान केन्द्र सम्म लाने व्यवस्था नै गरियो त्यति मात्र कहाँ हो र, यहाँ त सामाजिक सञ्जाल फेसबुक तथा टिकटकमा चुनाव नै लाग्दैन रै’छ ।
हाम्रोमा त सामाजिक सञ्जालबाटै आधा भन्दा बढी भोट मागिन्छ प्रचार प्रसार गरिन्छ र अन्य विपक्षीको विरोध पनि त्यही बाट गरिन्छ । अनि तिमिहरूको जस्तो लाटो सोझो तरिकाले पनि चुनाव हुन्छ त ? भनेर मैले नै उसलाई सोधे । उसले पनि छक्क पर्दै ओहो त्यस्तो रमाइलो हुन्छ है भन्दै प्रश्न गर्यो अनि ती सब कुराको खर्च चैँ कसले दिन्छ नि ? अनि म भन्छु नेपालमा त उम्मेदवार हुन प्रशस्त धन भएको मान्छे चाहिन्छ कुनै मान्छे राम्रो छ शिक्षित छ विकासका अवधारणा छ तर चुनावको लागि गर्न सक्ने खर्च छैन भने उ उम्मेदवार हुन सक्दैन किनकि चुनाव खर्च केही आफ्नो पार्टीबाट प्राप्त हुन्छ भने बाँकी सम्पूर्ण खर्च उम्मेदवार आफैले गर्नु पर्छ ।
यति खर्च हुन्छ कि हाम्रो देशको सम्पूर्ण उम्मेदवारको खर्च हिसाब गर्ने हो भने एक आर्थिक वर्षको बजेट भन्दा धेरै हुन्छ । अर्थात् एउटा उम्मेदवार चुनावी प्रचार प्रसारमा भएको खर्च जितेर ५ वर्ष कार्यकालमा रहेर तलब खादा पनि त्यो खर्च पुरताल गर्न सक्दैन ।
उ छक्क परेर मलाइ हेरेको हेरै हुन्छ अनि किन उठ्नु त उसो भए चुनावमा उम्मेदवार भनेर प्रश्न गर्छ त्यो प्रश्नको उत्तर दिन म आफै अकमकिन्छु र उसले आफै भन्छ तिमिहरूको देश विकास नहुनुको कारण यही हो जनताले नबुझेर । अब उसले आफ्नो खर्च उठाउनलाई भए पनि भ्रष्टाचार गर्छ अनि कसरी देश विकास हुन्छ त भन्दै म तिर हेर्छ म पनि सायद होला नि त भनेर टाउको मात्र हल्लाउँछु ।
उ भन्दै जान्छ चुनावमा हामी जनताले भोट हाल्ने अधिकार छ तर भोट हाल्नै पर्छ भन्ने बाध्यता छैन हामी काम गर्छौ नेताको पछि जुलुस र झण्डा बोकेर हिँड्दैनौ । चुनावमा जनता भेला पारेर भाषण गरेर खुवाएर उनीहरूको समेत समय बरबाद पार्नु भनेको नेताको खर्च मात्र भएको हैन उत्पादनशील जनतालाई चुनावको प्रचार प्रसारमा अलमलाएर देशलाइ अझ कमजोर बनाउनु मात्र हो ।
यहाँ चुनाव ताका नेताहरू मात्र गाडीमा बोल्दै हिड्छन कोही कोही ठाउँमा उम्मेदवारको बोर्ड लगाउँछन् अनि कुनै कुनै ठाउँमा सामान्य भाषण कार्यक्रम मात्र हुन्छ त्यसमा पनि जनताको खासै उपस्थिति रहँदैन र रहेका लाई पनि खाजा खाना खुवाइँदैन । चुनाव आउँछ भोट माग्छन् भोट दिनेले दिन्छन् नदिनेले दिँदैनन् तर जतिले भोट हाल्छन् राम्रै मान्छेलाई भोट हालेर जिताउँछन् सकियो त्यत्ति हो यहाँ त भनेर थप्छन् । अनि म भन्छु त्यही भएर त तिमिहरूको देशको नरमाइलो अनि हाम्रो देशको चुनाव रमाइलो किनकि तिमीहरू चुनावमा भोट हाल्न गएनौ किन भन्दा काम थियो हाम्रोमा सबै कार्यालय व्यवसाय यहाँ सम्म कि यातायात बिदा र बन्द हुन्छ त्यो दिन कोही बिरामी भयो भने उ मर्न पनि सक्छ अस्पतालमा डाक्टर हुँदैनन् सबै भोट हाल्न गएका हुन्छन् त्यति मात्र हैन हाम्रोमा भोट हाल्न नगएर घरै बसिएको छ वा हिँड्न नसक्ने अवस्था छ भने पार्टीका मान्छे घरमै गाडी लिएर आउँछन् र भोट हाल्न लैजान्छन् ।
चुनाव त रमाइलो रमाइलो मै सकिन्छ त्यस पछि आउँछ विजय जुलुस त्यो त झन् भव्य जुलुस, भाषण अनि खानपिनको दरो पार्टी सहित हुने गर्छ त्यो विजय जुलुस र शपथ ग्रहण गर्ने काम पनि झन्डै एक हप्ता जस्तो चल्छ । चार्ड पर्व आउँदा ३-४ दिन मै सकिन्छ र आफ्नो काममा फिर्ता जानु पर्छ तर चुनाव आउँदा एक महिना त महोत्सव नै हुन्छ । त्यसैले हाम्रो देशको चुनाव धेरै रमाइलो छ ।
धेरै बेर सम्म मेरो कुरा सुनिरहेको जापानी साथीले भन्छ तिमीहरू त्यही चुनावको रमाइलोमा ५ वर्ष अल्झेर बस्छौ । चुनावमा मासु भात खान्छौ, निःशुल्कमा घुम्छौ, झण्डा बोल्छौ जसको आर्थिक भार तिमीहरू नै बोकिरहन्छौ । चुनावमा नेतालाई जिताउन प्रचार प्रसारमा लाखौँ खर्च गर्नै पर्दैन । राम्रो मान्छेलाई चुनावका दिन आफै भोट दिन्छन् । तिमिहरूको त्यो रमाइलो भन्दा हाम्रो नरमाइलो मलाइ धेरै मन पर्यो । चुनाव जित्न लाखौँको पर्चा, लाखौँको खानपिन, लाखौँ खर्च गरेर सवारी साधनको व्यवस्था गर्नु आवश्यक पर्दैन । हेर त तिमिहरूको जस्तो रमाइलो नगरी पनि हाम्रो देशमा चुनाव भयो त ।
अब त आफै भन ‘ के ती सब आवश्यक रहेछ त’ ? त्यसैले त प्रत्येक वर्षको देश विकासको रफ्तार नेपालको तुलनामा धेरै अगाडि छ । यहाँ युवा देखि वृद्ध सम्मका लागि रोजगारीको अवसर प्रशस्त छ । घरमा पानी बत्ती र ग्यासको अभाव कहिल्यै भएको छैन स्वास्थ्य र शिक्षा क्षेत्रमा सरकारले जनतालाई न्याय गरेको छ बाटाहरू भत्केका तथा धुलो धुवा अनि फोहर कतै छैन । नेताले विकास गर्ने हो, खर्च धेरै गरेर भएको सम्पत्तिको विनाश गर्ने हैन । यति भनेर उ आफ्नो बाटो लाग्यो ।
बल्ल मेरा पनि आँखा खुले हो त रमाइलो चुनाव भन्दा त नरमाइलो चुनाव पो ठिक रहेछ त । हामीले अनावश्यक झण्डा, पर्चा, पेट्रोल, खानपिन, गरेर जुलुसमा हिँड्नुको साटो आफ्नो आफ्नो काममा लागेर चुनावको दिन एउटा सही मान्छेलाई जिताएर भ्रष्टाचार रहित विकास गर्ने वातावरण उम्मेद्वारलाइ बनाइदिनु पर्ने रहेछ भन्ने ज्ञान आयो । आखिर चुनावी प्रचारमा धेरै खर्च नगरेर, जनतालाई अघि पछि लिएर नहिडिकन पनि त चुनाव सम्पन्न हुने रहेछ त । त्यसैले चुनाव नाच्न गाउन वा रमाइलो गर्न हैन रहेछ सही मान्छेलाई जिताएर नगर र सहर विकास गर्न प्रोत्साहित गर्नु पर्ने रहेछ भन्ने कुराको राम्रो शिक्षा प्राप्त भएको छ ।
मैले त चुनावमा बेग्ला बेग्लै पार्टीलाई समर्थन गरेकोमा गाउँ समाजमा मिल्ने छर छिमेकीले दुस्मनको व्यवहार गरेको, साथी साथीमै तथा दाजुभाइ बिचमा मनमुटाब भएको, कार्यालयमा सँगै काम गर्नेहरू बिचमा बैमन्नस्यता देखेको थिएँ । त्यति मात्र कहाँ हो र हामीले छानेको नेता जिताउन झण्डा बोकेर जिन्दाबाद र मुर्दावाद भन्दै आफ्नै घर परिवारमा श्रीमान् श्रीमती बिचमा फरक राजनीतिक आस्थाकै कारण कलह समेत भएको तितो यथार्थ गाउँ समाजमा देखेको थिएँ । मन मनलाई जोड्ने भन्दा दूरी पैदा राजनीतिक विचारधाराकै कारण भएको देखेको थिएँ । मानिस राजनीतिक प्राणी भए पनि एक अर्काको सम्मान सजिलै पनि त गर्न सकिने रहेछ । साथै जितेर गएका जनप्रतिनिधिले आफ्नो व्यक्तिगत स्वार्थमा लाग्ने मात्र होइन आफ्नो क्षेत्र र देशको विकासको लागि पनि त चाहेको खण्डमा योगदान दिएर जनतालाई खुसी बनाउन सक्ने रहेछन् । चुनाव व्यक्तिगत स्वार्थको लागि मात्र होइन सामाजिक हितको लागि हो भनेर पनि त जनप्रतिनिधिहरूले सन्देश दिन सक्ने रहेछन् । चुनाव ताका र चुनाव अघिको फरक मात्र होइन चुनाव पछि गर्न सकिने कार्यहरूमा पनि धेरै फरक महसुस गरेँ ।
प्रहार ( टोक्यो शिन्जुकु )