प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिमण्डलले आगामी मङ्सिर २ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्मा छलफल गरी सो विषयमा छिट्टै निर्णय लिइने बताएको जनाइएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको सिफारिसमा निर्वाचनको मिति सरकारले तोक्ने व्यवस्था छ ।
विद्युतीय प्रणालीबाट मतदानको व्यवस्था गर्ने भएमा आवश्यक सामग्री आउँदो साउन मसान्तसम्म आयोगलाई उपलब्ध गराउन आयोगले आग्रह गरेको छ । उक्त भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र गृहमन्त्री बालकृष्ण खाँडसमेत सहभागी भएको राष्ट्रिय समाचार समितिले सार्वजनिक गरेको तस्विरमा देखिन्छ ।
विसं २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई आधार मानेर दुवै सभाका सदस्यको समयावधि आगामी मङ्सिर २२ गते सम्पन्न हुने आयोगले जनाएको छ । निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष, विश्वसनीयका साथै खर्च न्यूनीकरण गर्न दुवै निर्वाचन एकै दिन सम्पन्न गर्ने तयारी आयोगले गरेको छ ।
यसअघि सम्पन्न भएका प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा भएको थियो । २०७४ साल मंसिर १० गते पहिलो चरण र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको थियो ।
भर्खरै सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन एकै चरणमा गर्न सफल भएको आयोगले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन पनि एकैचरणमा गर्ने प्रस्ताव गरेको हो । प्रधानमन्त्रीसामू मिति प्रस्ताव गर्नुअगाडि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुरको बालकोटमा भेट गरेका थिए ।
र यो पनि