महिलालाई बोक्सीभन्दै कुटपिट गरेको आरोपमा प्रहरीले संखुवासभाबाट एक जनालाई पक्राउ गरेको छ । संखुवासभाकी ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा प्रहरीले धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई आफूलाई धामी बताउने कार्कीले कुटपिट गरेका थिए । कार्कीको कुटाईबाट महिला घाइते भएको खबर आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
घाइते महिलाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।