बिरामीको उपचारमा सहयोगको बहना गर्दै घर–घरमा चन्दा उठाउँदै हिँड्ने व्यक्तिलाई स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन् ।
विभिन्न बहाना बनाएर ठगी गर्ने गिरोह सक्रिय भइरहेका बेला झापाको अर्जुनधारा–६ पशुपति टोलका स्थानीयले उदयपुरको वेलाका नगरपालिका–४ खगेन्द्र बिक र वेलाका नगरपालिका–५ का विकाश बिकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीको जिम्मा लगाएका छन् ।
उनीहरूले जीवन उद्धार परोपकार फाउन्डेसनको नाममा रेनिशा थापा मगर बचाउ अभियान नामक रसिद काट्दै सहयोग माग्दै हिँड्ने गरेको पाइएको छ । बिरामीको नाम बेचेर दिनभरि रकम असुली गर्ने यस्ता गिरोह नै सक्रिय रहेको आशङ्कामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।
यसैबीच पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
कहिले बिरामीलाई सहयोगको बहाना त कहिले बाढी पीडितलाई राहत र उद्धारका लागि सहयोग भन्दै ठगी गर्ने समूह विभिन्न स्थानमा परिचालित हुने गरेको पाइएको छ ।