ललितपुरको ग्वार्कोमा आयोजना भएको टि १० लिग इन्डोर क्रिकेट टुर्नामेन्ट प्रतियोगिताको उपाधि मिक्स्माण्डुले हात पारेको छ। एस स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा भएको ४ दिने प्रतियोगितामा उपत्यकाका ११ टोलीको सहभागिता थियो ।
मंगलबार सम्पन्न अन्तिम खेलमा ब्रदर्श ११ लाई २६ रनले पराजित गर्दै मिक्स्माण्डुले उपाधी जितेको हो। टस जितेर पहिले ब्याटिंग गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ७६ रन जोडेको थियो। मिक्स्माण्डुका लागि प्रतिष जिसीले सर्वाधिक १६ रनको योगदान गरे। बलिङ्गतर्फ ब्रदर्श ११ का दुर्गेश थापाले २ विकेट लिए।
जवाफमा ७७ रनको लक्ष्य पछ्याएको ब्रदर्श ११ ९।१ ओभरमा ४९ रनमा समेटिन पुग्यो। उसका दुर्गेश थापाले २२ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन्। फाईनल खेलमा ब्रदर्श ११ लाई सस्तैमा समेट्न प्लेयर अफ दि म्याच घोषित भएका मिक्स्माण्डुका अविनाश बस्यालले २ ओभरमा मात्र ७ रन खर्चिएर १ विकेट हात पारे।
प्रतियोगिताको उत्कृस्ट ब्याट्सम्यान टिम सुबिसुका दिपेश दास घोषित भए । यस्तै ब्रदर्श ११ का लोकेन्द्र बिस्ट उत्कृस्ट बलर तथा मिक्स्माण्डुका प्रतिष जिसी प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भए। विजेता टोलि मिक्स्माण्डुले नगद रु ३० हजार सहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
यो प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत र बाहिरी क्रिकेट खेलाडीहरु सहभागी थिए। एस स्पोर्ट्स एण्ड इभेन्ट्स संस्थाले पहिलोपल्ट यस किसिमको उपत्यका व्यापी प्रतियोगिता गरेको संस्थाका प्रमुख एवं आयोजक टिमका क्याप्टेन सर्वोच्च बस्नेतले जनाए।